Logo

स्वास्थ्य

स्विट्जरल्यान्डबाट शनिबार स्वास्थ्य सामग्री आइपुग्‍ने



काठमाडौं । स्विट्जरल्यान्ड सरकारले कोरोना भाइरसविरुद्वको लडाईंमा साथ दिँदै नेपाललाई यसैसाता विभिन्‍न स्वास्थ्य सामाग्री पठाउने भएको छ । 

उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग भएको टेलिफोन संवादमा नेपालका लागि स्वीजरल्याण्डकी राजदूत एलिजावेथ भन क्यापिलरले नेपाल सरकारलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गर्न लागेको जानकारी दिए । राजदूत क्यापिलरका अनुसार स्विट्जरल्यान्ड सरकारले अक्सिजन कन्सेन्ट्रेटर, पीपीई, मास्क र एन्टिजेन टेस्टिङ किट सहयोग गर्न लागेको हो । 

स्वास्थ्य सामाग्री बोकेको गुल्लिभ एयरको कार्गो चार्टर्ड जहाज शनिबार काठमाडौं आइपुग्ने स्वीस राजदूत क्यापिलरले जानकारी दिए । चार्टर्ड फ्लाइटको खर्च पनि स्वीस सरकारले नै व्यहोर्ने भएको छ । 

उपप्रधानमन्त्री पोखरेलले नेपाल र नेपालीप्रति सद्भा‌व देखाएकोमा स्विट्जरल्यान्ड सरकारलाई धन्यवाद दिएका छन् ।

कोभिड– १९ संकट व्यवस्थापन केन्द्रका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले यसअघि नेपालस्थित अमेरिकी राजदूत र संयुक्त राष्ट्रसंघीय आवासीय संयोजकसँग सहयोगका लागि अपिल गरेका थिए । नेपालमा कोरोना भाइरस संक्रमण बढिरहेका बेला नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत सहयोगका लागि कूटनीतिक पहल गरिरहेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार १३:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।