Logo

प्रमुख समाचार

सम्पादकीय: हामी र हाम्रो अबको यात्रा



हामी पाठकसँग आइपुग्दा नेपाली राजनीतिमा अस्थिरता नै थियो । पाठकले आज परिवर्तन होला वा भोलि हुने आशमा हामी सँगसँगै ६ वर्ष बिताउनु भएको छ ।

तपाईँहरुले पनि हामीले नै जस्तो विद्धुतीय सञ्चारमा भएका गल्ती र त्रुटी देख्नुभएको छ । यहाँ सबै गलत छैनन् । केही सञ्चार माध्ययमले भ्रमित समाचार सम्प्रेषण गर्दा धेरैलाई अफ्ठयारो परेको छ । समस्या कहाँ छ र यसको उपचार के हो ? निश्चय पनि, भुइँमान्छेहरूलाई समेत आवाज दिन सफल विद्युतीय सामाजिक सञ्जालहरूको दुरुपयोग पनि त्यत्तिकै भइरहेको छ ।

‘सत्यले जुत्ता लगाउँदै गर्दा’ यिनै सञ्जालको प्रयोगमार्फत ‘झूटले आधा संसार घुमिसकेको हुन्छ ।’ खासगरी दृश्यमाध्यमको सामर्थ्यको आडमा कतिपयले युट्युबको चरम दुरुपयोग गरिरहेका छन्, पछिल्लो समय अमेरिकी सहायतासम्बन्धी सम्झौता एमसीसी र बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका कलाकार पल शाह प्रकरणमाथिका युट्युब सामग्रीहरू यसका प्रतिनिधि उदाहरणहरू हुन् ।

यस अवस्थामा सामाजिक सञ्जालमा भएका घातक सामग्रीहरूमा सरकारले नजर राख्न अवश्य सक्छ, यद्यपि प्रस्तुत विधिबाट भने समस्याको उपचार हुन सक्दैन । यसो गर्दा उल्टो संवैधानिक हक कुण्ठित हुने खतरा हुन्छ ।

अबका दिनमा नेपालमा विदेशी चासो र चलखेल बढ्नु, छिमेकीले आफ्नो एजेण्डासहित वर्चश्व कायम गर्न खोज्नु अनि मुलुक कहिले राइट त, कहिले लेफ्टको कृतिम बहसमा छँदा हामी सबै पक्षका व्यथा र अभिव्यक्ति फिजाउन लागिरह्यौँ। सञ्चारले मेलमिलापसँगै द्वन्द्व व्यवस्थापन र शान्तिमा योगदान पु¥याउन सक्छ, विविध पक्षको अडानलाई एक अर्कासँग परिचय गराएर अगाडि बढ्नेछौँ ।

युवाहरुको बाहुल्य रहेको मुलुकमा नयाँ विचारले पर्याप्त ठाउँ पाएका छैनन् । मुलुकको भविष्य हाँक्ने उनीहरु हुन्। त्यसैले ‘प्रश्न’ गर्ने र समस्या समाधानको उपाय सुझाउने दायित्वबाट उनीहरु पछि हट्न मिल्दैन। अन्य छुटेका थुप्रै पक्षलाई हामी समेट्दै जाने कोशिश गर्नेछौँ ।

सोसल मिडिया अहिले शसक्त छ। सोसल मिडियाको प्रभाव पनि दरिलो छ । यस्तो अवस्थामा पाठकको चाहनाअनुसारका विषय पस्कन सहज छैन । तर सही अवसरमा सही सन्दर्भ र सही ‘इश्यु’ उठाउँदै उदार व्यवसायिक समाचारगृहका रुपमा आफूलाई उभ्याउने हाम्रो प्रयास सधैँ जारी रहनेछ । निषेधको पत्रकारिताप्रति हाम्रो अनुमोदन कहिल्यै हुने छैन ।

प्रकाशित मिति : चैत्र ७, २०७८ सोमबार  ५ : ०४ बजे