Logo

अमेरिकाले डब्लुएचओसँग भन्याे- काेराेनाकाे उत्पत्तिबारे पारदर्शी छानबिन गर्न अन्तर्राष्ट्रिय विज्ञलाई अनुमति दिनुपर्छ



अमेरिकाले काेराेना भाइरसकाे उत्पत्तिबारे पारदर्शी छानबिन गर्न विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँग आग्रह गरेकाे छ।

काेराेना महामारीकाे डेढ वर्षसम्म पनि यसकाे उत्पत्तिबारे यकीन हुन नसकेका बेला अमेरिकी स्वास्थ्यमन्त्री जेवियर बेसेराले कोभिड-१९ बारे अर्को चरणको छानबिन पारदर्शी भएको सुनिश्चित गर्न डब्ल्यूएचओलाई आग्रह गरेका हुन्।

डब्ल्यूएचओको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले कोरोनाभाइरसको स्रोत मूल्यांकन गर्न अन्तर्राष्ट्रिय विज्ञहरूलाई अनुमति दिइनुपर्ने बताए।

अमेरिकी सञ्चारमाध्यमहरूमा भाइरस चीनको वुहानस्थित प्रयोगशालाबाट निस्किएका सम्बन्धमा प्रमाणहरू बढ्दो देखिएका विवरणहरू आएका छन्। कोभिड-१९ सबैभन्दा पहिला सन् २०१९ मा चीनको केन्द्रीय हुबेई प्रान्तको वुहानमा देखा परेको थियो।

त्यसयता उक्त भाइरसबाट विश्वभरी १६ करोड ७० लाख मानिस प्रभावित भइसकेका छन् भने ३४ लाखको ज्यान गइसकेको छ।

अमेरिकी जासुसी सूत्रहरूको हवाला दिइएका विवरणहरूमा सन् २०१९ को नोभेम्बर महिनामा वुहान इन्स्टिच्युट अफ भाइरोलोजीका तीन सदस्यहरू बिरामी भएर अस्पताल भर्ना भएको उल्लेख छ। त्यो घटना चीनले नयाँ रोग समुदायमा देखा परेको स्वीकार्नुभन्दा कैयौँ साता पहिले भएको विवरणमा बताइएको छ।

चीनले भने भाइरस बरू अमेरिकी प्रयोगशालाबाट आएको हुनसक्ने बताएको छ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ९ : ३६ बजे