काठमाडौं । फरवार्ड निर्मला विकको दुई गोलप्रेरित नेपाल पुलिस क्लबले आइतबार राष्ट्रिय महिला लिगमा वालिङ नगरपालिकालाई ३–१ अन्तरले पराजित गरेको छ ।
चितवनको सारदानगरमा भएको खेलमा पुलिसलाई तेस्रो जित दिलाउन निर्मलाले दुई गोल गर्दा अमृता जैसीले एक गोल गरिन् ।
खेल सुरु भएको दोस्रो मिनेटमा नै गोल गर्दै निर्मलाले अग्रता दिलाएकी थिइन् । ३३औं मिनेटमा निर्मलाले नै पुलिसको अग्रता दोब्बर पारिन् । ८३औं मिनेटमा अमृताले तेस्रो गोल गर्दै पुलिसको सहज जित पक्का गरिन् ।
वालिङकी सुस्मा जिटीले ६७औं मिनेटमा सान्त्वना गोल फर्काएकी थिइन् ।
लिगको चौथो चरणका खेलहरू चलिरहँदा चार खेल खेलमध्ये तीनमा जित र एक खेलमा हारसहित नौ अंक जोडेको पुलिस तालिकाको तेस्रो स्थानमा यथावत् छ ।
समान खेलमा तीन जित र एक हार बेहोरेको धनगढी उपमहानगरपालिका समान ९ अंकसहित दोस्रो स्थानमा छ । समान खेल खेलेको वालिङ अंकविहीन छ ।
लिगमा शतप्रतिशत नतिजा निकालेको सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लब १२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।




















प्रतिक्रिया