काठमाडौंबाट त्रिशूली चल्ने बसको सहचालक मनेले चालक बनेपछि गुरुजीले मन पराएको र कताकता आफूूलाई पनि असाध्यै मन परेकी जितपुर फेदीकी (पोलियो भएर घँुडाभन्दा तल नचल्ने) केटीसँग बिहे गरी बसेको कथा हो महेश पौड्यालको ‘अपरिचित अनुहार’ कथा सङ्ग्रहभित्रको पहिलो कथा ‘बार्दलीको एउटा अनुहार ।’
‘कपडामा नराम्रो फाइबर र मान्छेमा नराम्रो ड्राइभर’ भन्ने उखानलाई फनक्क उल्टो पारेर मनेलाई आदर्शवादी नायकको रूपमा स्थापित गर्न सफल भएका छन् यस कथामा कथाकार महेश पौड्याल ।
यस अर्थमा सामाजिक चेत परिवर्तनका लागि उनी धन्यवादका पात्र हुन् र भइरहने छन् सदा , एक कथाकारका रूपमा ।
तृतीय पुरुष शैलीमा लेखिएको कथाको पृष्ठ नं ४ को पाँचौँ अनुच्छेद र पृष्ठ नं ८ को तेस्रो अनुच्छेदमा पात्रको आन्द्राभँुडी केलाउने मस्तिष्कलाई फुक्काफाँक राख्दै क्रमशः उनी ‘नजिकका यात्रुले सुने हुन्’ र ‘उसको दिमागमा सस्तो होटल हुनुपर्छ त्यतिबेला’ जस्ता वाक्यहरू लेख्छन् ।
वाक्य लेखनको कुरा गर्दा कतिपय ठाउँमा काव्यचेत सहितका सुन्दर वाक्यहरू पनि लेखेका छन् ।
→ एउटा निर्दोषिता आफैँमा शृङ्गार बनेर पोतिएको थियो गालाभरि ( पृष्ठ ३ को दोस्रो अनुच्छेद )
→ लाग्थ्यो आकाशको घामको उज्यालो देख्न मनको घाम पनि झुल्कनुपर्छ , चम्कनुपर्छ (पृष्ठ ३ कै दोस्रो अनुच्छेद)
→ एकमुठ्ठी अँध्यारो घोप्टियो चालकको अनुहारमा (पृष्ठ ४ को पहिलो अनुच्छेद)
→ महिनौँसम्म बार्दलीका एक जोर निर्दोष आँखा र गाडीभित्रका दुई जोर जिज्ञासु आँखाको मौन संवाद चलि नै रह्यो (पृष्ठ ४ को चौँथो अनुच्छेद)
→ उनी दुई एउटा एउटा भोक थिए । एउटा एउटा तिर्खा थिए...... (पृष्ठ ५ को दोस्रो अनुच्छेद)
→ मनेको मनभरि तुषारो परेजस्तो भयो । आँखाबाट नानी झरेर सडकमा पोखिएजस्तो र, आफैँले गुडाएको गाडीका पाङ्ग्राले किचिपिचि पारिदिए जस्तो लाग्यो (पृष्ठ ९ को छैटौँ अनुच्छेद)
→ अप्सरा आमा हुँदैछे । उसका बा आमाका पाका अनुहारमा पुनः गुराँस फुलेको छ (पृष्ठ ११ कथाको अन्तिम अनुच्छेद)
त्यस्तै काव्यचेतको गतिलाई फिलिलि पार्ने क्रममा पृष्ठ नं.३ को सातौँ अनुच्छेदमा ‘विना शब्द पनि त्यहाँ संवाद भइरहेको थियो आँखाहरूको , विनिमय भइरहेको थियो मायाको’ भन्ने वाक्य लेखेका छन् ।
यस वाक्यमा मायाको विनिमय भन्ने पदावली कथाको मेसोमा कताकता विपरित धर्मी जस्तो लाग्छ । त्यस्तै यही परिच्छेदमा प्रयोग गरिएको अर्को वाक्यांशमा ‘एउटा असमञ्जसताले उसको मुटु अलिकति टोकेर गयो’ लेखेका छन् ।
असमञ्जसताले मुटु टोकेर जाने कुराको सन्दर्भमा कामशास्त्रमा वर्णन गरिएको एउटा प्रसङ्ग सम्झिएँ । जहाँ प्रियले प्रियाको भित्री पहिरनको साँधसीमाभन्दा थोरै बाहिर दाँतले टोकेर मायाको चिनो बनाउँछ । जसलाई हेरेर उनी उसैको यादमा डुब्छिन् ।
त्यस हिसाबले पात्र कतै राम्रोसँग कोपिला नबन्दै फक्रिएको हो कि जस्तो लाग्दा लाग्दै पनि ‘प्रेम र युध्दमा हरेक कुरा जायज हुन्छ’ भन्ने पश्चिमा उखानले यस प्रकारको विधर्मी काँचो प्रयोगलाई पनि राम्रै मान्छ ।
यहाँ प्रयोगको कुरा उठेकाले पाठकको कौतुहलता चुल्याउन वा अन्य कुनै कारणवश लेखकले दुई ठाउँमा रहस्य राखेका छन् ।
पहिलो रहस्य — पृष्ठ नं ४ को पाँचौँ र छैटौँ अनुच्छेद । त्यसको रहस्योद्घाटन पृष्ठ नं १० र ११ को मने र गुरुजीको फोन संवाद ।
दोस्रो रहस्य — ‘बार्दलीमा कोही थिएन । मने गाडीबाट ओर्लियो र ड्याम्मै ढोका लगायो । ड्राइभरपट्टिको झ्याल पनि बन्द ग¥यो । सहचालकलाई इशारा ग¥यो । र , उनीहरू दुवै त्यसै नीलो चुना लगाएको घरतिर लागे’ (पृष्ठ १० को नवौँ अनुच्छेद)
‘त्यहाँ के भयो , उनीहरूलाई मात्र थाहा भयो । दुई दिनपछि मनेले आफ्नो पुरानो ड्राइभरलाई फोन गरेर भन्यो ‘गुरु मैले जितपुर फेदीकी बहिनीसँग बिहे गरेँ । अव हामी यसै घरमा बस्छौँ’ (पृष्ठ १० को दसौँ अनुच्छेद)
यहाँ दसौँ पृष्ठको नवौँ अनुच्छेदमा रहस्य राखेपछि दसौँ अनुच्छेदको पहिलो वाक्यमै लेखक ‘ त्यहाँ के भयो , उनीहरूलाई मात्र थाहा भयो’ भन्ने वाक्य लेख्छन् । जसले तृतीय पुरुष शैलीको लेखनमा प्रथम पुरुष शैलीको अनावश्यक झल्को दिन्छ । र, रहस्यलाई रहस्य जस्तो पनि राख्दैन ।
लेखनको ऐजेरुझैँ लाग्ने यो वाक्यलाई पुनर्लेखन वा सम्पादनका क्रममा
हटाएको भए पाठकलाई रहस्यको ठाउँमा रहस्य मिल्थ्यो । र, लेखकको प्रयोग धर्मीताको
भैपरी आउने त्रुटी पनि हट्थ्यो ।
भैपरी आउने त्रुटीका अलावा पृष्ठ नं ७ को तेस्रो अनुच्छेदमा ‘ ऊ धादिङको केटो । घरमा बाबुलाई फोन ग¥यो । बाबुले नीलकण्ठ नगरपालिकाका मेयरसँग अनुनय गरे । मेयरले आफूूले स्थापना गरेको एउटा गैरसरकारी संस्थाको गाडी कुदाउने काममा लगाइ दिए’ भन्ने लेखेका छन् ।
मेयरलाई नगरपालिकाभित्र बस्ने जो कोहीले अनुनय गर्दैमा फ्याट्टै काम लगाइदिइहाल्छन् त ? भन्ने प्रश्न यहाँ उब्जिन सक्छ ।
लेखकले मनेका बुबाले मेयरलाई पहिल्यैदेखि चिन्थे वा उनकै अफिसमा काम गर्थे जस्तो कुनै एउटा थप सजिलो वाक्य राखिदिएको भए अथवा अनुनयको साटो भनसुन शब्द राखिदिएको भए पनि पाठकलाई पढ्दा पढ्दै ए ! भन्ने अवसर प्राप्त हुन्थ्यो ।
यहाँ ए ! भन्ने अवसर नपाए पनि कथाको गतिसँगै पृष्ठ नं ११ को दोस्रो अनुच्छेदमा पुगेर पाठकले वा ! भन्न पाउँछन् । अनि मनेको मानवताले छोएमा संवेदनशील बन्दै आँखा भिजाउन पनि पाउँछन् ।
त्यसपछि मनेका स्वसमीक्षाका दुई हरफसँगै बिट माराइका थप दुई अनुच्छेद लेखी लेखक आफ्नो ११ पृष्ठ लामो पुरुषको कथामा आधारित कथा ‘बार्दलीको एउटा अनुहार’ लाई विश्राम दिन्छन् ।
उनले कथालाई विश्राम दिएपनि
→ चालकको पारिवारिक पृष्ठभूमि देखाइ उसलाई मुख्यपात्रको भूमिकाबाट पलायन गराउने लेखकले मुख्यपात्र बन्दै गरेको मनेको शारीरिक लक्षण , सामाजिक स्थिति र मानसिक अवस्थाको बारेमा अलिकति खुलाएपछि मात्र उसलाई आदर्शवादी नायक बनाइदिएको भए हुन्थ्यो कि ?
→ तृतीय पुरुष शैलीमा लेखे पनि पात्र उठानका हिसाबले गाम्भीर्य , अपलक , असमञ्जसता , कृतसङ्कल्पित जस्ता गह्रौँ शब्दका ठाउँमा गम्भीरता , आँखै नझिम्क्याइ , अप्ठ्यारो , अठोट गरिसकेको जस्ता हल्का शब्दहरू राखिदिएको भए हुन्थ्यो कि ?
→ बाबु र बा पर्यायवाची शब्द भए पनि एउटै पात्रका लागि यी दुबैको प्रयोग नगरिदिएको भए हुन्थ्यो कि ?
→ त्यस्तै संस्कृत शब्द चालक लेखिसकेपछि फेरि अङ्गेजी शब्द ड्राइभर नलेखिदिएको भए हुन्थ्यो कि ?
भन्ने जस्ता कुराहरू म पाठकको मनभरि दौडिन्छन् । र, ती कुराहरूसँग दौडिदा दौडिदै अचानक एउटा गन्तव्य भेटे भँैm लाग्छ । अनि नेपालीहरूको जिनमा लुकेर बसेको त्यो शुध्दबुध्द स्वरूपलाई मने मार्फत फ्याट्ट बाहिर ल्याइदिने कथाकारप्रति कोटी कोटी नमस्कार पनि भन्न मन लाग्छ ।
















प्रतिक्रिया