सिन्धुपाल्चोकमा नेपाली कांग्रेसले एमालेसँग तालमेल गर्ने तयारी गरेको छ । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले १२ मध्ये ६ स्थानीय तह मागेपछि कांग्रेस एमालेतर्फ मोडिँदा गठबन्धन नै कमजोर बन्न पुगेको हो ।
कांग्रेसले चारभन्दा बढी सिट दिनै नसकिने अडान राखेपछि गठबन्धन बैठक बस्न सकिरहेको छैन । पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै आएको कांग्रेसले चरणबद्ध बैठकमा माओवादी केन्द्र र नेकपा एसलाई जिल्लाका १२ स्थानीय तहमध्ये चार मात्रै दिन सकिने अडान राखेको छ ।
कांग्रेसले आठ सिट राखेर एमालेलाई चार सिट दिनेगरी योजना बनाइरहेको स्रोत दाबी छ । एमालेका नेताहरूले पनि चार सिटमात्रै लिएर तालमेल गर्न नसकिने भन्दै असन्तुष्ट जनाएका छन् । सिन्धुपाल्चोकमा माओवादी केन्द्र र एमालेले उम्मेदवारको उम्मेदवार सूची माथिल्लो कमिटीमा सिफारिस गरेका छन् । तर, गठबन्धनको टुंगो नलाग्दा कुनै पनि दलले उम्मेदवारको अन्तिम छनोट गर्न सकेका छैनन् ।
सत्तारूढ गठबन्धनले देशव्यापीरूपमा चुनावी गठबन्धन गर्ने सहमति गरेर गठबन्धन भित्रका ५ दलबाहेक अन्य दलसँग स्थानीय तहमा चुनावी तालमेल नगर्न निर्देशन नै दिएको छ ।
अझ एमालेसँग त कही पनि चुनावी तालमेल नगर्न ५ दलीय गठबन्धनले आचारसंहिता नै बनाएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा एमालेलाई ‘पत्तासाफ’ गर्न भन्दै ५ दलीय गठबन्धनका शीर्ष नेताहरू मरिमेटेर लागेका छन् ।
















प्रतिक्रिया