Logo

अर्थ

आर्थिक अभावमा स्वास्थ्य बीमाबाट बञ्चित किसान समुदाय



स्वास्थ्य बीमालाई हरेक नेपालीको घरघर पुर्‍याउने उद्देश्यले सरकारले सुरु गरे तापनि लोपोन्मुख किसान समुदाय भने अझै आवद्ध हुनसकेको छैन ।

अर्थाभावका कारण किसान समुदायले स्वास्थ्य बीमामा आफूहरु आवद्ध हुन नसकेको जनाएका छन् । ज्याला, मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका उनीहरु एकमुष्ट रकम तिर्न नसक्दा स्वाथ्य बीमामा जोडिन नसकेका हुन् ।

मेचीनगरका विभिन्न स्थानमा करिब एक हजार ९०० किसानको बसोबास रहेको छ तर अझैसम्म पनि स्वास्थ्य बीमा गर्न नसकेको जनाएका छन् । “एकैपटक त्यति धेरै पैसा कहाँबाट ल्याउनु”, मेचीनगर–९ की ५५ वर्षीया कुमारी किसानले भने, “मजदुरी गरेर ल्याएको पैसा खानै ठिक्क हुन्छ, अनि कसरी गर्नु र बीमा ।”

सरकारले पाँच जनाको परिवार बराबर रु तीन हजार ५०० र त्यो भन्दा बढी भएमा प्रतिव्यक्ति रु ५०० का दरले थप्नुपर्ने बिमाको नियम बनाएको छ । जसबाट परिवारका सदस्य बिरामी परेमा तोकिएको अस्पतालबाट रु एक लाख बराबरको औषधोपचार गर्न पाइनेछ । यी सबै विषयमा जानकारी लिएका किसान समुदाय भने अर्थाभावले बीमा गर्न नसकेको बताउँछन् ।

समुदायले राजा भनेर मानेका सुन्दरलाल किसान, अगुवा मानिएका जोगी किसानले समेत स्वास्थ्य बीमा अझै गरेका छैनन् । उनीहरुले बीमा गराउन भनेर केही वर्षअघि बस्तीमा अभिकर्ता आए पनि फेरि फर्किएर नआएको कारण पनि गर्न नसकेको बताए।

“कहाँ गएर कसरी गर्ने भन्ने पनि थाहा छैन, बीमा गराउन कोही गाउँमा आउँदैन”, अगुवा जोगी किसान भन्नुहुन्छ । चन्द्रगढीमा रहेको बीमा बोर्डको कार्यालयले पालिकाका प्रत्येक वडामा बीमा अभिकर्ता खटाएर नै हरेक नागरिकको स्वास्थ्य बीमा गरिरहेको छ । तर मेचीनगरमा मात्र बसोबास गर्दै आएका नेपालकै लोपोन्मुख जातिका रूपमा रहेको किसान समुदायको स्वास्थ्य बीमाप्रति स्थानीय सरकारलेसमेत बेवास्ता गरेको उनको आरोप छ । स्वास्थ्य बीमा बोर्ड झापाका फोकल पर्सन बद्री बरालका अनुसार जिल्लामा करिब छ लाख बढी परिवार अर्थात् कूल जनसङ्ख्याको ६० प्रतिशतले स्वास्थ्य बीमा गरिसकेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार १९:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।