सरकार र थारुहट/थारुवान संयुक्त संघर्ष समितिबीच मंगलबार ५ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भयो । उक्त सम्झौतापत्रको पहिलो बुँदामा ‘टीकापुरमा भएको दु:खद घटनाका आरोपित रेशमलाल चौधरी’ को मुद्दा फिर्ता गर्ने सहमति भएको छ । अदालतले नै दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएका रेशम चौधरीलाई सरकारले ‘आरोपित’ को संज्ञा दिएको छ ।
सत्तामा टाँसिरहनका लागि असंवैधानिक र गैरकानुनी गतिविधिहरुलाई निरन्तरता दिइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको यो पछिल्लो गैरकानुनी निर्णय हो । अदालतले नै दोषी ठहर गरि जन्मकैदको सजाय भुक्तान गरिरहेका रेशमको मुद्दा फिर्ता गर्ने सहमति गर्नु आफैंमा अदालतको आदेशको अवज्ञा हो । सत्ता जोगाउनकै लागि पार्टीको आन्तरिक द्वन्द्व व्यवस्थापन गर्न नसकेपछि पुस ५ मा पहिलो पटक संसद् विघटन गरेका ओलीले त्यसयता पटक-पटक अवैधानिक निर्णयहरु गरिरहेका छन् ।
भारतपरस्त मानिने महन्थ ठाकुरको चित्त बुझाउन प्रधानमन्त्री ओलीले विवादित बनेको संसद्मा विचाराधिन नागरिकता विधेयकलाई बेवास्ता गर्दै अध्यादेश जारी गरे । सत्ताबाहिर रहँदा नागरिकसम्बन्धी कानुनको चर्को आलोचना गर्ने ओलीले आफ्नै सत्ता जोगाउनकै लागि नागरिकतासम्बन्धी अध्यादेश जारी गरेका थिए । उनले नागरिकतासम्बन्धी विधेयकको आलोचना गर्दै भनेका थिए, “नागरिकता कुनै रानीको जन्मोत्सवमा बाँडिने चकलेट होइन ।” तर, आफैंले नागरिकतालाई ‘जन्मोत्सवमा बाँडिने चकलेट’ बनाए ।
यसैगरि मंगलबार पनि प्रधानमन्त्री ओलीले गठन गरेको वार्ता समितिले रेशम रिहाइका लागि पहल गर्ने र मुद्दा फिर्ता गर्ने सहमति गर्यो । तर, यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री रहेको समयमा रेशमको मुद्दा फिर्ताका विषयमा निर्णय गर्न लाग्दा पनि सरकारको चर्को आलोचना गरेका थिए ।
अहिलेका परराष्ट्रमन्त्री तथा नेकपा एमालेका प्रवक्ता रहेका प्रदीप ज्ञवालीले एक विज्ञप्ति जारी गर्नै रेशमको मुद्दा फिर्ता निर्णयको विषयमा भनेका थिए, “सरकारले यस्तो निर्णय गरेर न्याय पर्खिरहेका पीडितको घाउमा नुनचुक दल्ने काम गरेको छ ।”
तर, आफ्नो सत्तामा जाँदा पनि सरकारले पीडित देखेन । त्यस समय पीडक देखेका रेशमलाई अहिले सरकारले ‘आरोपित’ भनेको छ । २०७५ जेठ ५ गते नेकपा एमालेले जारी गरेको विज्ञप्तिमा थप भनिएको थियो, “२०७७ साल भदौ ७ गते कैलालीको टीकापुरमा भएको ८ जना सुरक्षाकर्मी र एक जना शिशुको विभत्सा हत्या एवं त्यसपछिका विभिन्न आपराधिक घटनाहरुलाई राजनीतिक आवरण दिइ तिनमा संलग्नहरुलाई उन्मुक्ति दिने सरकारको हिजोको निर्णयप्रति नेकपा एमाले गम्भीर आपत्ति प्रकट गर्दछ । विधिको शासन, सर्वोच्च अदालत र राष्ट्रिय मानवअधिकार आयोगका पटक-पटकका फैसला तथा निर्देशनहरु एवं मानवअधिकारका विश्वव्यापी मूल्य मान्यता विपरीतको सरकारको यस्तो निर्णयले इमान्दारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्ने सुरक्षाकर्मीहरुको मनोबल गिर्ने तथा हिंसाका पक्षधरहरु उत्साहित हुने गम्भीर स्थिति सिर्जना भएको छ ।”
तर, अहिले भने रेशमलाई एमालेकै अध्यक्ष ओली नेतृत्वको सरकारले निर्दोष देखिरहेको छ । सरकारले गरेको सहमतिको पहिलो बुँदामा भनेको छ, “टीकापुरमा भएको दु:खद घटनाका आरोपित धनिराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरिलगायतमाथि लगाइएका सम्पूर्ण मुद्दा फिर्ता र रिहाइको लागि संविधान र कानुनसम्मत पहल गर्ने ।”
सहमतिको बुदा नम्बर ६ मा लेखिएको छ, “संविधान गतिशील दस्तावेज हो । यसको संशोधन आवश्यकता र ओचित्का आधारमा राजनीतिक दलहरुबीच सहमति कायम गरि विभिन्न समयमा विभिन्न राजनीतिक दल र समुदायका तर्फबाट उठाइएका विषयलाई सम्बोधन गरिने छ ।”
सरकारले अपराधको संरक्षण गरेका पात्र रेशम चौधरी मात्र होइनन् । अर्का पात्र दीपक मनाङेलाई गण्डकी प्रदेशको मन्त्रीसमेत बनाइएको छ । सरकारले कुनै समय वान्टेडको सूचीमा राखेका मनाङेलाई गण्डकीमा सत्ता जोगाउनकै लागि दोस्रो पटक मन्त्री बनाएको छ ।
संविधान संशोधन कुनै पनि हालतमा गर्नु हुँदैन भने पटक-पटक संसद् अवरोध गरेका ओलीले अहिले आफ्नो कुर्सी जोगाउनकै लागि संविधान संशोधन गर्नसमेत तयार भएका छन् । उनले संविधान संशोधनका लागि महन्थ ठाकुर समूहसँग मिलेर कार्यदलसमेत गठन गरेका छन् ।
रेशमको मुद्दा फिर्ता गर्न नहुने भन्दै एमालेले जारी गरेको विज्ञप्ति :

रेशमको मुद्दा फिर्ता गर्न ओली सरकारले गरेको सम्झौता:























प्रतिक्रिया