काठमाडौं । बुधबारबाट औद्योगिक ग्राहकका लागि लोडसेडिङ घाेषणा हुने भएको छ । बिजुली माग पूर्ति गर्नका लागि आन्तरिक उत्पादनले नपुग्ने र भारतबाट समेत बिजुली किन्न नपाएपछि नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक गर्न लागेको हो । घरायसी र सामुदायिक ग्राहकका लागि भने बिजुली काटिने छैन ।
मागअनुसार बिजुली नभएसम्म हरेक दिन ठूला उद्योगहरुमा बिजुली कटौती गर्नेसम्बन्धी सूचना जारी गरिने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘अहिले भारतबाट बिजुली पाउन छाड्यो । करिब १०/१५ दिन हामीलाई औद्योगिक ग्राहकको बिजुली काट्नुपर्ने हुनसक्छ,’ घिसिङले भने, ‘दिउँसो त बिजुली काट्दैनौं । पिक समय र रातको समयमा कुन उद्योगमा कति बिजुली काटिन्छ भन्ने पूर्व जानकारी दिन्छौं ।’ अब उद्योगहरूले हरेक दिन भोलिपल्ट कति समय बिजुली काटिन्छ भन्ने पूर्व जानकारी पाउने छन् । हरेक दिन बेलुका ६ बजेसम्ममा त्यस्तो जानकारी उपलब्ध गराइसक्ने प्राधिकरणले जनाएको छ ।
यसै हप्ता टनकपुर–महेन्द्रनगर प्रसारणबाट थप ५० मेगावाट बिजुली आयातका लागि नेपालले स्वीकृति पाएको छ । यसरी आईईएक्स मार्केटबाट कुल ५ सय मेगावाट बराबर बिजुली नेपालले किन्न पाउने भएपनि भारतमै बिजुली अभावका कारण १ सय मेगावाट बराबर पनि पाउन सकेको छैन । ‘बिड गरेको सबै बिजुली आईईएक्सले दिन सकेको छैन । दामासाहीका हिसाबले दिइरहेको छ,’ घिसिङले भने, ‘हामीले करिब ५ सय मेगावाट बिजुली किन्नका लागि बिड गरेपनि मुस्किलले १ सय मेगावाट पाइरहेका छौं ।’




















प्रतिक्रिया