Logo

प्रमुख समाचार

एउटा ढुङ्गाले भविष्यमा विश्वमा युद्ध गराउन सक्छ



रुस–युक्रेन युद्ध सुरु भएपछि विश्वभरि खनिज तेल र ग्यास विवादको विषय बनेका छन् । तर भविष्यमा शक्तिराष्ट्रहरूको प्रतिस्पर्धा अर्को एउटा खनिजका लागि हुन सक्ने विज्ञहरूको दाबी छ । कुरा मार्च ८ को हो । बिहान ५ः४२ मा निकल धातुको मूल्य यसरी अकासियो कि लण्डन मेटल एक्सचेन्जमा त्रास उत्पन्न भयो । अठार मिनेटभित्र उक्त धातुको मूल्य अभूतपूर्व रूपमा बढेर प्रतिटन १,००,००० अमेरिकी डलर पुगेपछि कारोबार रोकिन पुग्यो । यो नयाँ कीर्तिमान बनाउनुअघि नै यसको मूल्य २४ घण्टामा २५० प्रतिशतले बढिसकेको थियो । रुसले युक्रेनमा आक्रमण गरेपछि विश्वबजारमा धातुको ठूलो सङ्कट उत्पन्न भएको यो पहिलो घटना भयो ।

किन चुलियो मूल्य

अचानक मूल्य चुलिनुको कारण पश्चिमा देशहरूले रुसमाथि लगाएका प्रतिबन्धलाई ठानिएको छ। त्यसले विश्वमा निकलजस्तो धातुको महत्त्व थप बढाएको छ । रुस तेल र ग्यासको प्रमुख निर्यातकर्ता देश हो । युरोपेली देशहरू रुस–युक्रेन युद्धपछि रुसमाथि लगाइएका प्रतिबन्धहरूका बाबजुद पनि इन्धनका लागि रुसमाथि निर्भर छन् । त्यसलाई रुसले हतियारको रूपमा प्रयोग गर्न सक्ने देखाएको छ । युक्रेनमाथिको आक्रमण रोक्न अमेरिका र उसका सहयोगी देशहरूले क्रेम्लिनमाथि कडा प्रतिबन्ध लगाए पनि युरोप रुससँग तेल र ग्यास किन्न बाध्य छ । अमेरिकी राष्ट्रपति जो बाइडनले मार्च ३१ मा अमेरिकामा उत्पादित स्वच्छ ऊर्जाले राष्ट्रिय सुरक्षालाई सबल बनाउने बताएका थिए । “हामीले भविष्य निर्धारण गर्ने वस्तुहरूका लागि चीन र अन्य देशहरूमा हाम्रो लामो समयदेखिको परनिर्भरता अन्त्य गर्नु जरुरी छ,“ उनले भने ।

बाइडनले विद्युतीय ब्याटरी निर्माण र नवीकरणीय ऊर्जा भण्डारणका लागि प्रयोग हुने खनिजहरूको स्थानीय उत्पादन र प्रशोधनमा सहयोग पु¥याउने एउटा कानुन लागु गर्ने घोषणा गर्दै यसो भनेका थिए । ह्वाइटहाउसका अनुसार ती खनिजहरूमा लिथीअम, निकल, ग्र्याफाइट, कोबाल्ट आदि छन् ।

रुसको ’ऊर्जा हतियार’

यसबाहेक पनि धेरै खनिजहरू भविष्यका लागि महत्त्वपूर्ण छन् । विद्युतीय ऊर्जातर्फ अघि बढिरहेको अर्थतन्त्रमा प्रतिस्पर्धाका लागि प्रत्येक देशको दृष्टि भिन्नाभिन्नै खनिजमा छ । तेल, ग्यास र कोइलाको निर्यातमा मात्रै निर्भर देशहरू भविष्यको ऊर्जा प्रतिस्पर्धामा पछाडि पर्ने खतरा विज्ञहरूले औँल्याएका छन् । उदाहरणका लागि, रुसको अर्थतन्त्र मुख्यतया जीवाश्म इन्धनको निर्यातमा निर्भर छ। यो देश विश्वको दोस्रो ठूलो ग्यास उत्पादक र तेस्रो ठूलो तेल उत्पादक हो । तर रुसले भविष्यमा अन्य खनिजहरूको प्रतिस्पर्धामा समेत फाइदा लिन सक्छ । किनभने रुस विश्वमा कोबाल्ट र प्ल्याटिनमको दोस्रो ठूलो निर्यातकर्ता र निकलको तेस्रो ठूलो निर्यातकर्ता देश हो ।

रुस केही महत्त्वपूर्ण खनिजमा धनी देखिए पनि विज्ञहरूका अनुसार ती खनिज रुसमा अन्य देशमा भन्दा धेरै पाइन्छ । कोबाल्टको सबैभन्दा धेरै हिस्सा रिपब्लिक अफ कङ्गोमा पाइन्छ भने निकल इन्डोनेशया, लिथीअम अस्ट्रेलिया, तामा चिले र ’रेअर अर्थ’ वर्गमा पर्ने खनिजहरू चीनमा सबैभन्दा धेरै छन् । विशेषज्ञहरूले कम्तीमा १७ प्रकारका खनिजलाई विश्वमा ऊर्जा उत्पादनको परिवर्तनका लागि महत्त्वपूर्ण भनेका छन् । त्यसैले यस्ता खनिज उत्खनन र प्रशोधन गर्ने क्षमता भएका देशहरूले भविष्यमा धेरै फाइदा लिन सक्ने ठानिएको छ । इन्टरन्याशनल एनर्जी एजन्सीले यी १७ खनिजमध्ये पनि लिथीअम, निकल, कोबाल्ट, तामा, ग्र्याफाइट र रेअर अर्थ थप महत्त्वपूर्ण हुन् ।

उत्पादनमा कुन देश अघि

इन्टरन्याश्नलएइनर्जी एजेन्सीका विज्ञ ते युन–किम सन् २०४० सम्ममा यी खनिजहरूको माग तीव्र रूपमा बढ्ने बताउँछन् । ऊर्जा सङ्क्रमणबाट बढी फाइदा लिनेमा सबैभन्दा धेरै यस्ता खनिज पाइने र यसको प्रशोधनमा अग्रपङ्क्तिमा रहेका देशहरू रहने उनको दाबी छ । “ऊर्जा रूपान्तरणबाट सबैभन्दा धेरै कुन देशले फाइदा लिन्छन् थाहा पाउन कठिन छ किनभने त्यो उत्पादन शृङ्खलामा ऊनीहरू कुन स्थानमा रहन्छन् भन्ने कुरामा यो निर्भर रहन्छ,“ उनले भने ।

उनका अनुसार विश्व अहिले एक महत्त्वपूर्ण चरणमा पुगिसकेको छ । बीसौँ शताब्दीमा तेलले महत्त्वपूर्ण भूमिका खेले पनि २१औँ शताब्दीको इतिहासमा ऊर्जा रूपान्तरणका खनिजहरूको भूमिका महत्त्वपूर्ण हुनेछ । उनकै भनाइमा यी भविष्यका खनिजहरू हुन् ।

सबैभन्दा महत्त्वपूर्ण चार धातु

विद्युतीय ब्याटरीमा धातु नभई हुँदैन । धेरै प्रकारका ऊर्जा भण्डारणका लागि औद्योगिक गतिविधिमा पनि धातुहरू अत्यावश्यक छन् । जर्मन इन्स्टिट्यूट फर इकोनमी रिसर्चका अन्वेषक लुकास बोएर भन्छन्, “यी धातुहरूको बढ्दो माग अनुसार आपूर्ति भएन भने यिनीहरूको मूल्य अकासिनेछ ।“

उनी समेत सहभागी भएको अनुसन्धान ’द मेटल अफ द एनर्जी ट्रान्जिशन’ गत वर्षको अन्त्यमा प्रकाशित भएको थियो । बोएरका अनुसार यसको आपूर्तिको एउटा चुनौती यसको उत्खनन प्रक्रिया हो ।

यस्ता धातुहरूको उत्खनन सुरु गरेका खानी परियोजनाहरू पूर्ण रूपमा सञ्चालनमा आउन एक दशकभन्दा बढी (औसतमा १६ वर्ष) लाग्छ । यस कारण पनि निकट भविष्यमा यस्ता धातुहरूको थप अभाव हुने आकलन गरिएको छ । विभिन्न अध्ययनहरूका अनुसार निकल, कोबाल्ट, लिथीअम र तामा सबैभन्दा बढी माग हुनसक्ने चार महत्त्वपूर्ण धातु हुन् । त्यससँगै रेअर अर्थ्स भनिने दुर्लभ धातु पनि भविष्यका लागि महत्त्वपूर्ण छन् । यी धातुको मूल्य लामो समयको अवधिमा ऐतिहासिक रूपमा सबैभन्दा धेरै बढ्न सक्ने आकलन गरिएको छ ।

सन् २०२१ देखि २०४० को बीचमा यी धातुको उत्पादन मूल्य चार गुणाले बढ्ने प्रक्षेपण छ । बोएर सबैभन्दा महत्त्वपूर्ण चार धातु उत्पादन गर्ने देशहरूले आगामी २० वर्षसम्म तेल उत्पादन गर्ने देशहरूको जति नै आम्दानी गर्न सक्ने बताउँछन् । तर अहिले अनिश्चयमा रहेको अन्तर्राष्ट्रिय परिस्थितिमा त्यो निर्भर रहने उनी बताउँछन् ।

“यी धातुहरू नयाँ तेल बन्न सक्छन्,“ बोएर भन्छन् । “कङ्गोमा कोबाल्ट उत्पादन र अरू देशहरूमा समेत लगानी गरिरहेको चीन यसमा सबैभन्दा ठूलो खेलाडी बन्न सक्छ ।”

सबैभन्दा अघि चीन

नयाँ युद्धको परिप्रेक्ष्यमा पश्चिमा देशहरूका लागि ऊर्जामा परनिर्भरता कम गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि मागको केही अंश निर्यात गर्न सक्ने क्षमता भएका केही देशहरू छन् र उनीहरूले ऊर्जा रूपान्तरणलाई तीव्रता दिन जरुरी छ । ब्लूम्बर्ग एनईएफ अनुसन्धान केन्द्रका प्रमुख क्वासी एम्पोफो यो परिवर्तनबाट सबैभन्दा बढी लाभ लिने विषयमा चीन अघि रहेको बताउँछन् । “आफ्ना प्रशोधन केन्द्रहरूबाट रुसको धातु उत्पादन गरेर अन्य देशहरूमा बेच्ने निर्णय लियो भने यो दौडमा चीन सबैभन्दा ठूलो विजेता बन्न सक्छ,“ उनले भने । तर यो प्रतिस्पर्धामा अन्य देशहरू पनि सहभागी छन् ।

इन्डोनेशियाले विगत दुई वर्षदेखि आफ्नो देशमा निकलको उत्पादन क्षमता निरन्तर बढाउँदै लगेको छ । रुसबाट निर्यातमा आउने कमीका कारण बजारमा बढ्ने माग धान्न उसले अझै उत्पादन बढाउन सक्छ । रुस एक्लैले विश्वव्यापी निकल उत्पादनको नौ प्रतिशत हिस्सा ओगटेको छ। तर रुस युक्रेन युद्धपछि निकलको बजार नराम्ररी प्रभावित भएको छ ।

“प्रतिबन्ध वा उत्पादनकै कमीका कारण यसको आपूर्ति प्रभावित हुँदा सबैभन्दा प्रमुख असर मूल्यमा पर्छ,“ एम्पोफो भन्छन् । अर्कोतर्फ प्ल्याटिनम समूहका धातुहरूको उत्पादन समेत युद्धका कारण प्रभावित भएको छ। तर दक्षिण अफ्रिकी उत्पादकहरूले तत्कालका लागि यसको आपूर्ति बढाउन सक्छन् ।

भविष्यका लागि महत्त्वपूर्ण मानिएका धातुहरूको उत्पादनमा विश्वको दुईतिहाइ हिस्सा ओगटेको कङ्गोका बहुसङ्ख्यक कम्पनीहरू चिनियाँ स्वामित्व वा लगानीमा सञ्चालित छन् । यो परिस्थितिमा पश्चिमा देशहरू अघि नबढे उनीहरूले प्रतिस्पर्धा गुमाउने जोखिम छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार १७:५१   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।