कोरोना भाइरसको कारण अहिले विश्व नै अस्तव्यस्त छ । यो विषम परीरिथतिको सामना गरिरहेका नेपालीहरु कालोबजारीको मारमासमेत परेका छन् । करिब डेढ महिनादेखि कोरोना नियन्त्रणका लागि लकडाउन जारी गरिएको छ । जसका कारण सीमित समयमा मात्रै खाद्य पसलहरु खुल्ने भएकोले व्यापारीहरुले भनेकै मूल्य तिर्न बाध्य हुनु परेको छ ।
सरकारले अत्यावश्यक वस्तुको सूची तयार गरि खाद्यजन्य वस्तु आपूर्ति गर्ने पसल निश्चित समयमा खुल्न दिने जनाएको छ । तर, सुलभ मूल्यमा सहज आपूर्तिका लागि सरकारले गरेको आग्रह विपरीत केही व्यवसायीले नाफाखोर प्रवृत्ति देखाएका छन् । यस्ता नाफा गर्ने व्यवसायीहरूबाट अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जरिवाना तिराउने गरेको छ । लकडाउन अवधिमा खाद्यान्न, माछा मासु, सर्जिकल सामग्री र ग्यासमा बढी मूल्य असुल्ने, गुणस्तरहीन सामग्री बिक्री गर्ने बढी देखिएको छ ।
उपभोक्तालाई सामान्य अवस्थामाभन्दा बढी मोल तिर्न बाध्य पार्ने कालो बजारी गर्नेहरुको बिगबिगी बढेको देखिन्छ । सामानको मूल्य मात्रै होइन, सेवा क्षेत्रमा समेत लकडाउन कारण देखाउँदै शुल्क बढाउने गरेको पाइएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीमा कालोबजारी हुन नदिन बजार अनुगमनमा कडाइ गरिएको बताउँछन्, धादिङका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्याय ।
दैनिक उपभोग्य वस्तु र स्वास्थ्य सामग्रीमा कालोबजारी भएको गुनासो आएपछि धादिङ संयुक्त बजार अनुगमन टोलीले बजार अनुगमनलाई कडाइ गरेको उनले बताए । उनका अनुसार घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य संघ, अन्य प्रतिनिधि, मिडियाकर्मी र उपभोक्ता संस्थाका प्रतिनिधिहरूसँगको समन्वयमा दैनिक रूपमा बजार अनुगमनलाई निरन्तरता दिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार लकडाउन भरी धादिङका स्थानीय तहमा अनुगमन गरेको पाइएको छ । उनले भने, “हामीले अहिलेसम्ममा मलेखू, गोलाभञ्ज्याङ, बढारकुँढार, थुम्की, हनुमानडाँडा, टारीबेशी, गल्छी, सिम्ले, वैरेनी, खानीखोला, जीवनपुर, खास्स्रेटार, ज्वालामुखीलगायतका ठाउँहरुमा अनुगमन गरिसकेका छौँ । अनुगमनका क्रममा करिब ८० प्रतिशत म्याद नाघेका पेय पदार्थ, बिस्कुट, पिठो, चकलेट, पोट्याटो क्रेकर, मसलाहरू, तेल, बियरसमेत म्याद गुज्रिएका सामानहरू भेटिएका छन् ।”
उनले करिब २० हजार बराबरको सामान त्यही नष्ट गरेका छन् भने करिब २० हजारजितको जफत गरि उपभोक्ता स्वास्थ्यसँग प्रत्यक्ष खेलबाड गरिएको पाइएकोले ५ हजार जरिवाना तिराएको उनले बताए । उनले भने, “बजार अनुगमनकै क्रममा मैले कहिल्यै देख्दै नदेखेको पेय पदार्थ भेटिए । बहुराष्ट्रिय कम्पनीका ब्रान्डसँग मिल्दोजुल्दो नाम मात्रै होइन । रंग, डिजाइन, लेबलसमेत झुक्किने गरि उत्पादन गरिएका जुम्ल्याहा सन्तानजस्ता लाग्ने पेय पदार्थहरू, त्यो पनि गाउँ-गाउँमा, देख्दा छक्कै परेँ । फेन्टा सानैदेखि मलाई मन पर्ने सफ्ट ड्रिंक्स पिउँदा पहिलो प्राथमिकता त्यही हुन्थ्यो । यहाँ फन्टु भेटियो । झट्ट हेर्दा न रङ, न बोतल, न डिजाइन, केही छुट्याउनै नसकिने । लेबल हेरेपछि झन् चकित भएँ । धनगढीको उत्पादन रहेछ ।”
कोकाकोला जस्तै कोल्ड-कोला, चिसो-कोला चट-कोला र माउन्टेन ड्युजस्तै मेन्टेन ड्यु, स्प्राइटजस्तै स्ट्राइकजस्ता पेय पदार्थ भेटिने गरेका छन् । उनले थपे, “अझ आगिन्चोकको त्रिपुरा बिजनेस हाउस हेर्दा अर्को आश्चर्य । एउटै पसलमा ३७ किसिमका म्याद गुज्रिएका सामग्री फेला परे । हामीले अनुगमन गरेका जतिपनि ठाँउ छ, त्यहाँ हामीले म्याद नाघेका, अत्यधिक मुल्य, बिल नराख्ने, मुल्यसूची नराख्नेजस्ता थुप्रै पसलहरु भेटे ।”
उनले अहिलेको यो अवस्था हेर्दा लाग्छ क्रेता र बिक्रेता दुबैलाई सचेतनाको खाँचो रहेको बताए । “त्यसैले पनि हामीले अहिले कारबाही भन्दा पनि चेतना बाडेको छौँ, उनले भने, “तर जानी-जानी म्याद गुज्रिएका समान बच्नेलाई भने ५ देखी २० हजारसम्मका जरिवाना समेत तिराएका छौं भने कतिपय पसलहरु सित पनि गरेका छौँ, पसल गरेर बसेका व्यापारीहरू कोही बुढाबुढी हान्छन् । त, कसैलाई सामानको म्याद हेर्ने समेत पनि आउँदैन । यसैकारण पनि कालोबजारी भइरहेको छ । कसैले जानेर भने यस्तो गरेका छैनन् यद्यपि उनीहरूलाई हामीले सचेतना दिनु आवश्यक छ ।”
यसपछि पनि उक्त कालोबजारी निरन्तर भइरह्यो भनेचाहीँ कारबाही गर्नुपर्ने भन्दै उनले म्याद सकिएका सामानहरू नियन्त्रणमा लिएर समन्वय व्यवस्थापनलाई पत्र बझाएर सबै सामान एक ठाउँमा राखेर नष्ट गर्ने गरेको सहायक प्रमुख जिल्ला अघिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिएका छन् । उनले भने, “अहिले लकडाउनको समयमा कालोबजारी गर्नु पाप भएको र हामी सबै सचेत हुनुपर्छ । दैनिक न्यूनतम चारदेखि १३ घण्टासम्म अनुगमनमा खटिएका छौँ । जिल्लाका स्थानीय तहहरुमा २०० भन्दा बढी फर्म, पसलहरू अनुगमन गरिसकेका छौँ ।”
लकडाउनकै अवधिमा जिल्लाभर कारबाहीको क्रममा १७ वटा फर्म, पसलहरुलाई न्यूनतम रू पाँच हजारदेखि ५० हजारसम्म नगद जरिवाना र एउटा पसल १५ दिनको लागि सिल गरिएको छ । जरिवानाबाट दुई लाखभन्दा बढी रकम राज्यकोषमा गएको छ ।
अनुगमनका क्रममा १० प्रतिशतभन्दा कममा मात्र म्याद गुज्रिरहेका सामान नपाइएका हुन् । उनका अनुसार म्याद गुज्रिएका सामग्री भेटिएका ९० प्रतिशतभन्दा बढी पसलमा कारबाही गरिएका छन् । पसलले पालना गर्नुपर्ने न्यूनतम मापदण्ड पनि कतिपयले पूरा नगरेको उनले जानकारी दिए । टोली आएको शंका गरेर भाग्न खोज्ने, सटर बन्द गर्ने व्यवसायीलाई कुरेर, फकाएर, डर देखाएर, मोबाइल नम्बर मा आफैले फोन गरेर सम्झाई बुझाई गरेर, गल्ती भएको भए सोको महसुस गराएर पनि अनुगमन गरेका उनले बताए ।
अनुगमनको क्रममा चार लाखभन्दा बढी मूल्यका म्याद गुज्रिएका सामग्री जफत गरिएको छ । एउटै पसलमा २३ थरीका सामग्री जफत गरेको रेकर्ड कायम भएको छ । निषेधाज्ञामा बियर बिक्री गर्दै हिड्ने गाडीबाट कार्टुनका कार्टुन बियर जफत गरिएको उनको भनाइ छ । उनले भनेका छन्, “यो विषम परिस्थितिमा अनुगमनको क्रममा कारबाही हाम्रो प्राथमिकता होईन । पहिलो कुरा, आम उपभोक्ताको गुनासो सम्बोधन गर्दै तोकिएको मूल्यमा स्वस्थ्यकर र गुणस्तरीय वस्तु तथा सेवाको सुनिश्चितता हो । तर मौकाको फाईदा उठाउँदै अनुचित व्यवसायजन्य क्रियाकलाप गर्ने व्यवसायीलाई कानूनी दायरामा ल्याउनु पनि उत्तिकै जरूरी हो ।”
उनले थपे, “दोस्रो कुरा, नियमित अनुगमनले उपभोक्ता र व्यवसायीमा सचेतना आएको र नागरिक, उपभोक्तामा राज्य भएको अनुभूति दिलाउने हामीले सानो प्रयास गरेको छौं । यदि उपभोक्ता पनि सामान किन्दा म्याद नाघेको छ की छैन भन्ने कुराहरुका ध्यान दिन सकियो भने व्यापारीले पनि सचेत भइ कालोबजारी गर्नेबाट त्रसिन सक्छ ।” यसर्थ हामी सबै सचेत हुन् जरुरी रहेको र स्थानीय तह सम्बन्धित क्षेत्रहरुले यसलाई ध्यान दिनु अत्यावश्यक रहेको उनले जानकारी दिए ।





















प्रतिक्रिया