Logo

राजनीति

अन्तरदेशीय प्रसारण लाइनका लागि बजेट, अब के हुन्छ एमसीसी ? 



चालु आर्थिक वर्षमा झापाको अनारमनीदेखि कञ्‍चनपुरको महेन्द्रनगरसम्म, लप्सीफेदी रातामाटे हेटौँडा र लप्सीफेदी रातामाटे दमौली बुटवल तथा ढल्केवर मुज्फ्फरपूर ४०० केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन निर्माण अघि बढाइने बताइएको छ । बजेटमा भनिएको छ, “बुटवल गोरखपुर, लम्की-बरेली र गल्छी-केरुङ खण्डको निर्माण आरम्भ गरिने, नदी वेसिनमा आधारित उत्तर दक्षिण प्रसारणलाइनको निर्माण सम्पन्‍न गरिनेछ ।”

विद्युत प्रसारणलाइन तथा सबस्टेशन निर्माणको लागि ३६ अर्ब २ करोड रुपैयाँ विनियोजन भएको थियो । आगामी दुई वर्षभित्र भित्र सबै परिवारमा नवीकरणीय उर्जाको पहुँच पुर्‍याय ‘उज्यालो नेपाल’को अभियान सम्पन्‍न गरिने उल्लेख गरिएको थियो । प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का सबै घरमा आगामी वर्ष तथा प्रदेश १, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशमा आगामी दुई वर्षभित्र आधुनिक ऊर्जाको पहुँच पुर्‍याइने साथै गरिब र विपन्‍न परिवारलाई विद्युत जडान गर्दा नि:शुल्क केनेक्सन सुविधा दिने व्यवस्था मिलाउन चार अर्ब विनियोजन गरिएको थियो । 

राष्ट्रिय ग्रिड प्रणाली नपुगेको हिमाली तथा उच्च पहाडी क्षेत्रका ९७ स्थानीय तहमा २०० वटा सौर्य मिनी ग्रिड सञ्चालन गरी विद्युतीकरण गरिने र नेपाल विद्युत प्राधिकरणको संस्थागत पुनर्संरचना गरी उत्पादन, प्रसारण र वितरणको कार्य छुट्टाछुट्टै संयन्त्रबाट गर्ने व्यवस्था मिलाइने बताइएको थियो । काठमाडौंमा सुरु गरिएको बिजुलीको तार भूमिगत गर्ने कामलाई निरन्तरता दिइनेजस्ता कुराहरु बजेटमा समावेश भएका थिए ।  

आगामी आर्थिक वर्षको बजेटले अन्तरदेशिय प्रसारण सम्बन्धी के-कस्ता कुराहरु सम्बोधन गरेको छ ? 

बुटवल गोरखपुर अन्तरदेशीय प्रशारण लाइनको निर्माण कार्य सुरु गर्न र कोहलपुर-लखनउ, लम्की-बरेली अन्तरदेशीय प्रशारण लाइन निर्माणको तयारी अन्तरदेशीय प्रशारण लाइन निमार्णको तयारी कार्य सम्पन्न गर्न चार अर्ब ७ करोड विनियोजन गरिएको छ । 

खिम्ती-बाह्विसे-काठमाडौं र हेटौंडा-ढल्केवर इनरुवा प्रशारण लाइनको निर्माण सम्पन्‍न गर्ने, बुटवल लमही कोहलपुर अत्तरिया खण्डको निर्माणको पूर्व तयारी गर्न रसुवागढी चिलिमे रातोमाटे खण्डको विस्तृत सम्भाव्यता अध्ययन गर्न आवश्यक रकम छुट्याइएको अर्थमन्त्री विष्णु पौडेलले बताए ।
 
प्रशारण लाइन तथा सबस्टेशन निर्माणका लागि ३७ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरिएको छ । प्राधिकरणका ट्रान्समिसन प्रमुखका अनुसार लप्सीफेदी रातामाटे हेटौँडा र लप्सीफेदी रातामाटे दमौली बुटवल अन्तर्गतको प्रसारण लाइन एसियाली विकास बैंकको सहयोगमा निर्माण भइरहेको छ । 

ढल्केवर मुज्फ्फरपुर अन्तरदेशीय प्रसारण लाइन सम्पन्‍न भई अपर्रेशनमा आइसकेको छ । बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको भने कुनै मोडालिटि तय नभएको उनले बताए । जबकि यो चालु आर्थिक वर्षको बजेटको प्राथमिकतामा परेको थियो । 

लम्की-बरेली प्रसारण लाइनको पनि कुनै ट्ङ्गो नभएको उनले बताए । चाइना करिडोर अन्तर्गत गल्छी केरुङ ४०० केभिको अन्तरदेशीय प्रसारण लाइनको भने अध्ययनको चरणमा रहेको नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीले जानकारी दिए । 

यस वर्ष बजेटको प्राथमिकतामा परेको हेटौंडा ढल्केबर इनरुवा बर्दघाट प्रशारण लाइन वर्ल्ड बैंकले निर्माण गर्ने भने पनि विभिन्न मुद्दा मामिलाका कारण यो आयोजना अगाडि बढ्न सकेको छैन ।  बुटवल लमहि कोहल्पुरको प्रशारण लाइन भने एशियाली विकास बैंकको सहयोगमा नेपाल विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय मातहातमा अध्ययनको चरणमा रहेको प्राधिकरणका कर्मचारीले जानकारी दिए । 

रसुवागढी चिलिमे रातामाटे प्रशारण लाइनको भने कुनै मोडालिटि नै छलफल नभएको ती कर्मचारीले बताए । कोहलपुर लम्की प्रशारण लाइनमा पनि अझै अन्यौलता रहेको छ । 

“प्रशारण लाइन बनाउन बजेट छुट्याउनुको अर्थ अब काम गर्न सुरु गर भन्‍ने हो,” एमसीसी नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले भने, “पूर्ण काम, पूर्ण अनुमति नआएसम्म गर्न सकिँदैन । तर, पूर्व तयारी गर्ने बाटो भने खुला भएको उनी बताउँछन ।”

एमसीसीको लागि कार्यकारी निर्देशक विष्ट थप्छन्, “जग्गा अधिग्रहणको काम अझै धेरै बाँकी छ । नेपाल सरकारबाट कटान गर्नुपर्ने रुख गणना गर्ने अनुमति एमसीसीले यसअघि नै पाइसकेको छ ।” रुख गणना गरेर नेपाल सरकारको नियमावली अनुसार रुख काट्न मन्त्रिपरिषद्को स्वीकृतीको लागि पठाइने उनले बताए । 

आगामी वर्षबाट वर्खामा विद्युत बढि हुँदै जाने भएकोले अन्तरदेशीय प्रशारण लाइन अहिलेको अपरिहार्यता रहेको उनको जिकिर छ । साथै समयसँगै एमसीसीसँग फैलाइएको भ्रमको पनि अन्त्य हुँदै गइरहेको उनको भनाइ थियो । एमसीसीको म्याद थपको विषयमा नयाँ सरकार गठन भएपछि नयाँ सरकारको पहलमा मात्र अघि बढ्न सक्ने बताए ।  

सुरुवातदेखि एमसीसीको विरोध गर्दै आएमा नेकपा एमालेका नेता भिम रावलले भने अनुमोदन नै नएभो एमसीसी कार्यान्वयनका लागि बजेट छुट्याउनु राष्ट्रघाती चिन्तन भएको बताएका छन् । उनले भनेका छन्, “नेपालको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितमा आघात पार्ने र संसदबाट अनुमोदन नै नभएको एमसीसीसँगको सम्झौता कार्यान्वयनका लागि प्रधानमन्त्री के शर्मा ओली नेतृत्वको सरकारले बजेट छुट्याउनु राष्ट्रघाती चिन्तन र व्यवहारकै परिणाम हो ।”

 

 

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहीबार १९:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।