Logo

अनलाइनपाना खोज

स्वतन्त्र उम्मेदवारप्रति युवा किन आकर्षित छन् ?



देश चुनावी माहोलमा होमिएको छ । यो रिपोर्ट तयार पार्दासम्म मौनअवधिको सुरसार भइसकेको छ । स्थानीय तहको चुनावको लागि आफ्नो आफ्नो गाउँ वा मतदान केन्द्र जानेको लर्को पनि निकै नै बाक्लो रहेको छ ।

सधैँझैँ चुनावी मत परिणाम यो पटक अलिक भिन्न आउने विज्ञहरुको भनाइ छ । पछिल्लो स्थानीय चुनावमा एक करोड चालीस लाख बहत्तर हजार (१,४०,७२,०००) मतदाता रहेका थिए भने अहिले २० लाख मतदाता थपिएका छन् । ती प्राय सबै युवायुवतीको जमात रहेको छ ।

यस स्थानीय चुनावमा पहिलेकै उम्मेदवार दोहोरिएका छन् भने अरु नयाँ छन् । तर यस स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारको चर्चाजस्तो केही क्षेत्रमा बाहेक अन्यत्र भने न्यून छ ।

स्वतन्त्रप्रति युवाको आर्कषण सामाजिक सञ्जालमा अत्याधिक रहेको छ । चुनावप्रति युवाले देखाएको चासो उत्साहपूर्ण नै रहेको छ । काठमाडौँ, पोखरा, धनगडी, धरान, बनेपा, लम्कीचुवाका स्वतन्त्र उम्मेदवारहरुको चर्चा सामाजिक सञ्जालमा मात्र नभएर घरदैलो कार्यक्रममा पनि उत्तिकै समर्थन रहेको देख्न सकिन्छ ।

पार्टीगत रुपमा नै दिक्क भएका नेता वा नेतृत्वप्रति युवा जमात अहिलेका स्वतन्त्रप्रति यति धेरै आकर्षित भएका हुन भन्ने विज्ञहरुको विश्लेषण रहेको छ ।

यसै विषयमा “स्थानीय चुनावमा स्वतन्त्रप्रति युवा किन यति धेरै आकर्षित भए ? तपाईंको मत के छ ?” भन्ने विषयमा हामीले विभिन्न व्यक्तिहरूको राय लिएका छौँ । उहाँहरूको भनाइ जस्ताको त्यस्तै यसप्रकार रहेको छ ।

प्रतीक ढकाल (पूर्व सहसचिव)

युवा परिवर्तन चाहन्छन् । युवा देशदोहन गरेर परजीवी हुन चाहन्नन् । त्यसैले युवाप्रति युवा आकर्षित हुनु स्वाभाविक छ ।

राज सिटौला (विद्यार्थी)

हाम्रो हजुरबुवाको पालाबाट पटकपटक सत्तामा यिनै दलका नेता पुगिराखेका छन् । पटकपटक सत्तामा पुगे पनि आफू र आफ्ना परिवारको आर्थिक हैसियत बदल्ने बाहेक केही परिवर्तन देखिएन । सार्वजनिक शिक्षा र स्वास्थ्यको अवस्था भद्रगोल छ । निजिमा खर्च गर्ने आम नागरिकको हैसियतले थाम्दैन । गाँस, बास र कपासको आधारभूत आवश्यकता पुरा गर्न पनि विदेश जानुपर्ने बाध्यता छ । स्थानीय निकायबाट पाउनु पर्ने सामान्य सुविधाको लागि पनि घण्टौ अझ भनौ केही दिन लाग्ने अवस्था छ । राजनितीक दलकै युवा भनौँदा नेता पनि पद पाएपछि मुख फेरेको देख्दा आम युवा वाक्क भइसकेका छन् ।

विश्वको घटना आफ्नो हत्केलामा रहेको मोबाइलबाट थाहा हुने यस जमानामा नेताको झुटा आश्वासन र प्रतिबद्धता पत्याउने अवस्था छैन (केही झन्डा बोक्ने अपवाद बाहेक) । पार्टीबाट निर्वाचित प्रतिनिधि जनता भन्दा आफ्नै पार्टीप्रति वफादार भए, स्वतन्त्र उठेका उम्मेदवारले खासै ठूलो सपना बाँढेका छैनन् । सामान्य लाग्ने कुराहरुलाई व्यवस्थित बनाउँछु भनेको ले नै होला युवा स्वतन्त्रप्रति आकर्षक भएका हुन् ।

रामनाथ कुँवर (पत्रकार)

स्वतन्त्र उम्मेदवारी बढ्नु भनेको राजनीतिक दलहरुप्रति जनताको विश्वास घट्नु हो । अहिले दलहरुले बुझ्नै पर्ने कुरा यो हो कि, जनता मौन छन् तर भ्रममा छैनन् । यसरी जनताको तर्फबाट स्वतन्त्र उम्मेदावरीको अभियान सकृय हुँदै गयो भने । बहुदलीय व्यवस्था इतिहास बन्ने छ । यो निर्वाचनको स्वतन्त्र उम्मेदवारी देशलाई कमजोर बनाउने र राजनीतिक दललाई बलियो बनाउने प्रणालीको विरुद्धमा हो । जनता सचेत भएको संकेत हो । नेतालाई गाली गरेर मात्र हुँदैन, आफैँ नीति निर्माण गर्न तयार हुनु पर्छ भन्ने सन्देश हो ।

रामजी तिमल्सिना (प्राध्यापक)

१. दलहरुको अकर्मण्यता
२. स्वतन्त्र उम्मेद्वार प्रायः युवाभएकाले युवाप्रति युवाको विश्वास हुनु स्वाभाविक
३. बालेन लगायत युवा उम्मेद्वारका तथ्यगत सपना गज्जब भएकाले र अब युवालाई गफभन्दा काम चाहिने भएकाले

महेश पौड्याल (प्राध्यापक, त्रिभुवन विश्वविद्यालय)

१ पार्टीहरू सिद्धान्त बोक्छन् । सिद्धान्तले देश नबन्ने रहेछ भन्ने प्रमाणित भइसक्यो ।
२. एक एक सिद्धान्त बोकेका पार्टीहरू जता पनि, र जोसँग पनि मिल्छन् । त्यसैले तिनका सिद्धान्त पनि अवसारवादका मुखौटा हुन् भन्ने बुझियो ।
३. पार्टीको नेतृत्व सबै पुराना मान्छेको हातमा छ । तिनले युवाको मर्म बुझ्दैनन् ।
४. युवाले नै युवाको मर्म बुझ्छ । आजको युवा विश्व परिवेश, विज्ञान र प्रविधिको पनि जानकारी राख्दछ ।

डा.अशोक थापा (प्राध्यापक, त्रिभुवन विश्वविद्यालय)

जनउत्तरदायी प्रतिनिधिको खडेरी, लोककल्याण भन्दा कार्यकर्ता कल्याणमा ध्यानदिने दलका नेतादेखि वाक्क–दिक्क भएकाले, उक्त वितृष्णा र त्यो चरम निराशाको क्षतिपूर्ती स्वरूपमा स्वतन्त्र युवा उम्मेदवार प्रति आकर्षण बढेको हो जस्तो लाग्छ ।

नवराज पराजुली (कवि)

किनकि स्वतन्त्रता युवा हुनुको स्वभाव हो ।

कृष्ण अविरल (लेखक)

दलहरूको कार्यशैली प्रतिको वितृष्णाको प्रतिविम्ब हो ।

मोहन संग्राम (विद्यार्थी नेता)

यसलाई स्वतन्त्र प्रतिको आकर्षण भन्दा पनि राजनीतिक दलहरू प्रतिको वितृष्णा भन्दा अझ अर्थपूर्ण होला । राजनितिक दलका नेतृत्वको व्यवहारले गर्दा आज उनीहरूको विकल्प जे आएपनि आँखा चिम्लेर समर्थन गर्ने अवस्था सृजना भएको छ, यतिसम्म कि अस्ति मात्र गलहत्याएर फालेको राजालाई सम्म विकल्पको रूपमा मान्छेहरूले हेर्न थालेका छन् ।

राजनीतिक दलको नेतृत्वमा सुधार आउनुपर्छ, सुधार चाहनेहरू नेतृत्वमा आउनुपर्छ । कलाकारलाई कलाकारिता क्षेत्रमै गर्व गर्न सक्ने वातावरण बनाउन सके कोही कलाकारलाई कलाकारिता छोडेर नेता हुने रहर लाग्ने थिएन होला, अरु अरु पेसामा लागेका मान्छेहरूलाई पनि त्यहाँ उपयुक्त वातावरण बनाउन सकेको भए आज कसैलाई पनि परिवर्तनका लागि म नै मेयर हुनुपर्छ भन्ने लाग्दैनथ्यो होला । यसको जिम्मेवारी हाम्रा नेताहरूले लिनुपर्छ ।

नेतृत्व भन्ने छुट्टै क्षमता हो, भिजन छ भन्दैमा नेतृत्व गर्न सकिन्न, डाँडा देख्ने बित्तिकै केवलकारको कल्पना जसले पनि गर्छ, फोहोर छ भने सफा गर्न आवश्यक जसले पनि देख्छ, सुखै सुख बनाउने-रामराज्य बनाउने कल्पना जसले पनि गर्न सक्छ तर नेतृत्व क्षमता र अभ्यासले मात्र हुने कुरा हो । स्वतन्त्र उम्मेदवारको नेतृत्व क्षमता कस्तो छ भन्ने विचार गरेर मात्र स्वतन्त्र उम्मेदवारलाई साथ दिऔँ, राजनीतिक दल र नेताहरूको रिसले÷वितृष्णाले स्वतन्त्र उम्मेदवार लाई साथ दिन थाल्दा झनै दुर्घटना हुन सक्छ । आफ्नो हातमा स्वस्तिक हुँदा यो ख्याल राखौं कि यतिबेला आफ्नो हातमा आफ्नो ठाउँको भविष्य छ, सोचेर निर्णय गरौं ।

अमिता आख्यान (विद्यार्थी नेता)

पार्टीहरूले अपेक्षा गरेअनुसार काम गरेनन् । आफ्नो स्वार्थको लागि जो जससँग नि मिलेको छन् । जसले गर्दा एउटा र अर्को पार्टीमा जनताले फरक देख्न छोडे । यस्तो अवस्थामा केही गर्छु भनेर उठेका स्वतन्त्र उम्मेद्वारलाई मत दिने चाहेका छन् जनताले ।

सृजना वाग्ले (सामाजिक अभियान्ता)

दलगत स्वार्थ, अनावश्यक दबाब र प्रभावले गर्दा आजका युवा स्वतन्त्रप्रति आकर्षित भएका हुन् र सँगै दिनानुदिन युवाको बढ्दो चेतनाले परिर्वतन खोज्नु नै स्वतन्त्र विकल्प रहन गएको छ । नेपाल र स्वतन्त्रता पर्यावाची हुन । कसैको अधिनमा नरहनु नै स्वाधीन नेपाल र स्वाभिमानी नेपालीको परिचय हो । दलगत स्वार्थ र यसबाट उत्पन्न दवाव र प्रभावले धरापपमा परेको देशका प्रमुख अङ्गहरु , देशको स्वतन्त्रता र राष्ट्रिय एकता सामाजिक न्यायप्रति सचेत नेपाली युवाहरु जानकार छन र उतिकै चिन्तित पनि । यसैको विकल्प हो स्वतन्त्र उम्मेदवारी र उम्मेद्वार ।

सुर्दशन पौडेल (विद्यार्थी)

हरेकपटक यस्तै हुने गरेको छ । अघिल्लोपटक वैकल्पिक पार्टीहरूले अहिले स्वतन्त्र उम्मेदवारले जस्तै फरक धारको राजनीतिको सम्भावना देखाएका थिए । युवा मत त्यता लागेको थिया े। यसपटक आशालाग्दा वैकल्पिक पार्टीहरू छैनन् । बरु स्वतन्त्र रुपले चुनावमा उठेका उम्मेद्वारले युवाको ध्यान तानेका छन् । समाजिक सञ्जालमा देखिएको युवा उत्साह र आशा चुनावमा कसरी आउनेछ त भन्न सकिँदैन । तर पार्टीगत राजनीतिले आजित देशमा स्वतन्त्र उम्मेद्वारले पाएको चर्चा र चासोले आगामी चुनावमा पनि स्वतन्त्र उम्मेद्धार उठ्ने संकेत गरेको छ । साथै, भविष्यको स्थानिय चुनावमा राजनैतिक उपस्थिति कम हुने आश जगाएको छ ।

प्रेकश सिन्धुलीय (रङ्गकर्मी)

पार्टीको पारादेखि वाक्क, दिक्क, थुक्क भएर नै युवा स्वतन्त्रप्रति आकर्षित भएका हुन् ।

गणेश कार्की (लेखक)

पुराना दलहरुप्रतिको वितृष्णा मुख्य हो । अनि नयाँहरुले उडन्ते कुरा नगरी धरातल टेकेर योजना ल्याएकाले पनि थप तानेको छ ।

अच्युत कोइराला (पत्रकार)

यसको मुख्य कारण भनेको विगत ३० वा ४० वर्षदेखि एउटै मानिसको अनुहार, एकै किसिमका वाचा, तिनको भ्रष्ट आचरणबाट नयाँ पुस्ता वाक्कदिक्क हुनु हो । अर्को कुरा चाहिँ, युवाले हरेक कुरामा परिवर्तन खोज्छ । कुनै नेताले राम्रै काम गरिरहेको भए पनि उसलाइ फ्याँकेर नयाँ ल्याउने मनोविज्ञान युवाहरूमा हुन्छ ।

त्यसबाहेक नेताहरू कुनै पनि कुरामा फोकस्ड देखिएनन् । खाली हावादारी कुरा गर्ने, गालीगलौज गर्ने, संवेदनशीलता निकै कम भयो । अहिलेको युवा टु दि प्वाइन्ट कुरा चाहन्छ । उसले संसारका कुरा एउटा क्लिकमा हेरिसकेको हुन्छ, र उसले दाँजेर हेर्दा रत्तिभर पनि छेउ पाउँदैन । त्यसैले उनीहरू निराश छन् । चाँडोभन्दा चाँडो उनीहरू बूढाखाडालाई पाखा लगाउन चाहन्छन् । समस्या कहाँनेर छ भने अहिलेका युवा पनि इन्स्टान्ट नेता चाहन्छन् । एउटा युवा नेता बन्न एउटा गहिरो प्रक्रियाबाट गुज्रनु पर्छ । अनुभव, ज्ञान र दाउपेचजस्ता कुरामा खारिनुपर्छ । यसको अर्थ, उनीहरूले पनि दाउपेच जान्नुपर्छ भनेको होइन । चुनावमा दाउपेच हुन्छ भन्ने कुरालाइ हृदयंगम गर्दै त्यसलाइ कसरी चेकमेट गर्ने भन्ने कुरालाइ बुझ्नुपर्छ ।

अहिले बालेनप्रति केही स्वतन्त्र युवा र केही पार्टीका मानिसहरूमा सकारात्मक झुकाव देखिन्छ । त्यसलाइ क्यास गर्न उनी अझै विश्वासिला पात्र होइनन्, छैनन् । उनका कुरा जायज देखिन्छन् तर कार्यान्वयनका पक्षमा ठूलो प्रश्न चिह्न छ ।

बरू जतिसुकै बदनाम भए पनि केशव स्थापिततर्फ मत ओइरिने सम्भावना म देख्छु किनभने जसले नेवारी समुदायको भारी मत प्राप्त गर्छ, ऊ नै यहाँ चुनिन्छ । सिर्जना सिंहको सम्भावना राम्रो छ, लिगेसी पनि छ तर उनको समस्या चाहिँ समस्याको चाङमा उभिएकी उनले कसरी ती फोहोर र समस्याको चाङलाइ सफा गर्न सक्छिन् भन्ने हो ।

शुरूमा जो मेयर भएर चुनिए पनि पहिलो समस्या फोहोर उठाउनेले सिर्जना गरिदिन्छन् । पहिलो गाँसमा नै झिँगो भन्कने म देख्दैछु ।

भेषराज बूढाथोकी (विद्यार्थी)

जति चुनावहरू आउँदै र जाँदै गरे , उती नै झन् झन् जनतामा निराशा छाउँदै गयो । दलहरू भ्रष्ट हुन , दलका प्रतिनिधि जो चुनाव जितेर जनप्रतिनिधि बन्ने लाइनमा छन् , उनीहरू भ्रष्ट दलका भ्रष्टचारी हुन भन्ने आम जनमानसमा यस्तो किसिमको चिसो पस्यो । यो कुरालाई थप प्रमाणित गर्ने अरू आधार पनि छन् । जस्तो , कुनै अमुक पार्टीको नेतालाई जनता , अदालत, मिडिया , मतदाता , प्रशासन सबैले भ्रष्टचारी केलाउँदा पनि , उक्त राजनीतिक दल या पार्टीले , उपर्युक्त व्यक्ति निर्दोष भएको जिकिर गरिरहन्छ । यसरी सहर या गाउँ, बस्ति या टोल , तराई पहाड या हिमाल जताततै दल र ती दलका नेता प्रति जनताको सकरात्मक भन्दा नकरात्मक दृष्टिकोण बढी हाबी भइरह्यो । जसका कारण दलबिहिन , बिना दलका वा दल बाहिरका स्वतन्त्र व्यक्ति प्रति चुनावी मोह ह्वात्तै बढ्यो ।

कुनै दलबाट भन्दा दल बाहिरको नेताले वा उम्मेदवारले जितेछ भने , दलको नेताको भन्दा केही काम बढी त गर्ला , केही सकरात्मक ऊर्जा , विकासका अनेकौँ मोडेल त प्रतिपादन गर्ला भन्ने एक किसिमको आश जनतामा उम्रिरह्यो । फलस्वरुप, युवाहरूको आकर्षण दलका नेता भन्दा स्वतन्त्र नेता प्रति बढी देखिन्छ ।

शम्भु सुस्केरा (पूर्वप्रहरी)

राजनीतिक दलप्रतिको वितृष्णा नै हो । र दलमा आबद्ध भएर वा स्वतन्त्ररुमा आफू हस्तक्षेपकारी राजनीतिक भूमिकामा पनि आउन नसक्ने, विदेश भासिने, देशका लागि म पनि हुँ भन्ने नठान्ने, अरुकै उपस्थितिलाई सधैँ भर गर्नेहरु बढी निराश भएर यस्तो भएको होला । कतिपय दल र नेताले आफ्नो भर आफैँलाई नगरेर राजा चाहिन्छ भनेजस्तै आजको फोहोरी राजनीति सुधार्न म चाहिन्छ भन्ने, सोच, क्षमता, आँट र त्याग नभएर आफू र देशको भविष्य अरुकै ठेक्का ठानिदिँदा यस्तो भएको होकी भन्ने लाग्छ । नत्र टिममा काम गर्नुपर्ने परिपाटीमा एक्लो वा केही स्वतन्त्र आउँदा किन यति भर गर्नु एक्लै तजति भिजन भइ पनि केही काम नै हुँदैन । अनेक कानुनी बखेडा झिकेर काम गर्नै दिँदैनन् ।

मिलन बस्नेत (विद्यार्थी नेता)

निराशा हो युवाहरुको, राजनितिक पार्टीहरुले अरुभन्दा बलियो भएर सत्तामा जान र त्यही अडिरहनको लागि जस्तोसुकै कदम चाल्न पनि पछि नहटेको देखेका युवाहरुको । स्थापित दलका नेताहरुको घोटाला, प्रणाली भित्रको भ्रष्टाचारबाट वाक्क भएर हो स्वतन्त्रप्रति आकर्षित भएका हुन् ।

बिराट अनुपम (पत्रकार)

दलहरुको २०१५ को चुनाव देखिको डेलिभरी र योग्यता को अभावले नै आजका युवा स्वतन्त्रप्रति आकर्षित भएका हुन् ।

लेख कार्की (गजलकार)

प्रथमतः स्वतन्त्र उम्मेदवारले आफ्ना योजनाहरु जो देखाएका छन् ती आम मान्छेले महसुस गरिरहेको आवश्यकता र अमुक पार्टीहरुको योजना भन्दा केही भिन्न अनि चाखलाग्दा हुनु । दलका नेताहरुले जितेपछि भनेजस्तो विकास नगर्नु , जनतासँग नजिक नरहनु र आफ्ना मान्छेहरुलाई बढी प्राथमिकता दिनु । दलका नेताले जित्दा आफ्नो पार्टी र आफ्ना कार्यकर्ताहरुलाई चित्त बुझाउनकै लागि पनि भ्रष्टाचार गर्छन् र अरुले गरेको भ्रष्टाचारलाई पनि नजरअन्दाज गर्छन् तर स्वतन्त्र उम्मेदवार भयो भने उसले कुनै कार्यकर्ताको चित्त बुझाउनु पर्दैन कुनै दलको स्वार्थ पूरा गरिदिनु पर्दैन र कुनै सिनियर नेताको दवाब सहिरहनु पर्दैन त्यसैले उसले स्वतन्त्ररुपमा काम गर्नसक्छ भन्ने विश्वास राख्नु जस्ता कुराहरुले स्थानीय चुनावमा स्वतन्त्रप्रति युवा आकर्षित भएका हुन् भन्ने मेरो धारणा छ ।

कृष्णप्रसाद अर्याल (गजलकार)

पुराना अनुहारप्रतिको अविश्वास र वितृष्णा नै स्थानीय चुनावमा स्वतन्त्रप्रति युवा आकर्षित भएका हुन् ।

राजुझल्लुप्रसाद (पत्रकार)

वर्षौँबाट एक छापमा भोट हालेर बसे पनि परिवर्तन नदेखिएपछि मानिसहरु निराश भएका छन् । यही निराशाको विकल्प नै स्वतन्त्र रोजेका हुन् ।

सुरज पराजुली (कवि)

अहिले सम्म बुढाहरुले आश्वासन मात्र दिने काम नगर्ने भएकाले नै हो । फ्रस्टेड छन् सबै । म आफ्नै ठाउँमा मतदान गर्न जान्न किनभने मलाई थाह छ उनीहरु कमाउन आएका हुन् ।

जीबी गजल (गजलकार)

दलहरूको व्यवहार नै मुख्य कुरा हो ! दलहरू सुध्रिनुपर्छ भन्ने मत पनि हो ।

विक्रमपवन परियार (कवि)

यो देश न आजभन्दा पहिला कुनै नेताले बनाएका थिए न कुनै सस्ताधारीले बनाएका थिए । यो देश परा– पूर्वकाकालदेखि नै आम जनताले नै बनाउँदै आएका छन् । नेताहरूले हामी जनतालाई बढी मात्रैमा प्रयोग गर्दै आएका छन् । पटकपटक जनताले भोट दिएर जिताएर सत्तामा पठाए पनि नेताहरूले देश बनाएको रेकर्ड कहिल्यै बनेन । जनताले रोजेर छानेर पठाएका नेताले नै देशलाई झनझन जीर्ण बनाउँदै गएका कारण जनताहरू अझ युवाहरू स्वतन्त्र उम्मेदवार प्रति आकार्षित भएका हुन् ।

कृष्ण ढुङ्गेल (पत्रकार)

मलाई लाग्छ, स्वतन्त्र उमेद्वारप्रति युवाहरुको आकर्षित हुनुको मुख्य जिम्मेवार भनेका सिण्डिकेट चलाएर बसेका दलहरु नै हुन् । संविधान बनिसकेपछि आमयुवालाई लागेको थियो, अब विकासले गति लिन्छ । व्यवसाय गर्ने वातावरण निर्माण हुन्छ । रोजगारीका लागि खाडीको ४५ डिग्रीमा काम गर्नुपर्ने बाध्यता हट्छ । तर बितेको पाँच वर्षमा त्यो केही पनि भएन ।

नेताहरु कुर्सीका लागि एकआपसमा लड्नमै व्यस्त भए । त्यसमा पनि बिचमा कोभिड आइदियो । दलहरुले जनताका लागि भनेर गरेको राजनीतिको धरातल कोभिडले छर्लंग पारिदियो । पछिल्लो समय प्रतिगमका विरुद्धमा भनेर बनेको मोर्चाबन्दीको सरकारबाट पनि आमयुवाले निराशाबाहेक केही पाउन सकेनन् । यस्तो अवस्थामा सम्भावना बोकेको, अध्ययनशील, जुझारु र भिजन भएको स्वतन्त्र उमेद्वारप्रति युवा जमात ढल्कनु स्वाभाविक हो । युवाहरुले स्वतन्त्र उमेद्वारहरुले पार्टी प्रतिनिधिका बिकल्पका रुपमा पाए, जुन आवश्यक पनि थियो ।

व्यवस्थाको कुरा गर्ने हो भने, हामी संसदीय दलीय व्यवस्था अभ्यास गरिरहेका छौँ । हुन त, स्थानीय तहलाई गैरदलीय बनाउन पर्छ भन्ने आवाजहरु पनि सुनिन थालेका छन् । भोलि प्रदेश र संघको चुनाव पनि हुन्छन् । प्रदेश र संघमा भने एक व्यक्तिले स्वतन्त्र जितेर हुँदैन । मैले भन्न खोजेको के हो भने, दलीय व्यवस्थामा स्वतन्त्र उमेद्वारको आकर्षण बढ्न सुखद् पक्ष होइन ।

स्थानीय तहमा एकल प्रयास धेरै सकरात्मक कुराहरु हुनसक्ने सम्भावनालाई नकार्न सकिन्न । तर प्रदेश र केन्द्रमा भने एक स्वतन्त्र उमेद्वारको भूमिका विशेष रहँदैन । पार्टी नै सर्वेसर्वा हुन्छ । तर पार्टी प्रतिनिधिहरुको साटो केही मुख्य ठाउँबाट स्वतन्त्र उमेद्वारहरुलाई जिताउन सके त्यसको प्रभाव सकरात्मकै रहला । कमसे कम नेताहरुलाई बुझाउन जरुरी छ, हामी जनता हौँ उनीहरुका दास होइनौँ ।

डिजी शर्मा (कवि)

मतदाता वाक्क दिक्क भए पार्टीसँग, जहिल्यै पनि जनतालाई झुक्याए उनीहरुले र यो स्थानीय चुनावमा आम मान्छेले स्वतन्त्र रोजेका हुन् तर मलाई स्वतन्त्रले पनि गर्छ जस्तोचाहिँ लाग्दैन किनकि राजनीति बुझेर बुझिनसक्नु छ ।

शेखर विकल्प (कवि)

दलीय व्यवस्थामा दलभित्र राम्रा भन्दा हाम्रा अर्थात् चाकडी र चाप्लुसी गर्नेलाई अघि लाइनु र कार्यमूल्यांकन नहुनु, दलमा हामीले जे चाह्यो त्यही हुन्छ भन्ने धङ्धङीले जनतामा उत्तरदायी नहुनु जस्ता कुराले पछिल्लो समय युवा मात्रै हैन आम सर्वसाधारण पनि विकल्प चाहेका छन् त्यसैले स्वतन्त्र युवामा आकर्षण बढेको छ ।

प्रकाशित मिति : बैशाख २७, २०७९ मंगलबार  १ : ४२ बजे