Logo

टिप्पणी

विगत सम्झँदा भोट दिन मन लाग्दैन

'लिपुलेक ज्युँदै छ, तर हामीमा हाम्रो भुभाग फिर्ता गर्ने आँट भने मरेर गएको छ ।'



विगत सम्झने हो भने स्थानीय होस् या अन्य निर्वाचन भोट दिन पटक्कै मन लाग्दैन । कारणहरुको पहिरो नै आउँछ किन भोट दिन मन लाग्दैन भन्ने कुरामा । हुनत: आफ्नो मत आफ्नो अधिकार पनि त हो । उक्त अधिकारको प्रयोग गर्न पाउनुपर्छ भनेर हामीले नै संविधान लेख्न दबाब दिएका थियौँ । तर दबाब संविधानसम्म मात्र रह्यो त्यसपछि त शीर्ष नेताहरु आफ्नै मोहीको ठेकी भर्नलाई व्यस्त रहे जहाँ जनताको भाँडो चुहिएको उनीहरुलाई कहिल्यै पत्तो भएन ।

चुनाव ताका आफ्ना सम्झने नेताले चुनावपछि न जनता चिन्छन् न गाउँ नै । दशैँमा छोराछोरी घर फर्केजस्तो चुनावमा नेता गाउँ आउँछन् । दशैँ सकिएर छोराछोर सहर फर्केजस्तो नेता पनि चुनावपछि सहर फर्कन्छन् र एउटा कथा यसरी सकिन्छ ।जुन कथाको अन्त्य कहिल्यै हुँदैन यदि हाम्रा संस्कारी छोराछोरी भएनन् भने वा हाम्रा नेता संस्कारी भएनन् भने । इन्द्रकुमार राइको पुस्तकजस्तै अबिरल बग्दछ इन्द्रावती ।

चुनावले मुख बाएर बसेको छ । मतदान गर्नेहरु गाउँ पुगेका छन् । कतिलाई नेताजीले गाडी रिर्जभ गरेर लगेका छन् । तर तिनै जनता हुन्, जो पहिलो लकडाउनमा हिँड्दै घरसम्म पुगेका थिए । उनीहरुले हिँडाइको दुःख बिर्सिए । योबेला आफ्नो खेमा आफ्नो पार्टी भन्दै दौडिएर हिँडेँ , फेरि बाढी आउँछ, फेरि पहिरो जान्छ अनि दुःख सुरु हुन्छ त्योबेला पार्टी हेरेर दिएको भोट पहिरोसँगै पुरिन्छ वा बाढीसँगै बगेर जान्छ, कताकता । त्योबेला साथ दिने आँखाको आँसु मात्र न हो ।

द्धन्द्धकालमा आफन्त बिते, नेताहरुलाई जुठो लागेन । त्यसपछि चुनाव नेताले नुन छोडौलाझैँ गरेर फकाए हामीले भोट दियौँ । उनीहरुले जिते र उनीहरु गए । हामी खेतमा व्यस्त भयौँ, उनीहरु खेलमा व्यस्त भए ।

लिपुलेक ज्युँदै छ, तर हामीमा हाम्रो भुभाग फिर्ता गर्ने आँट भने मरेर गएको छ । यसको हिसाब यो चुनावमा हुन्छ । अस्ति मात्र हामी सडकमा आयौँ र भन्यौँ ।

एमसीसी पास नगर यो हामी स्वतन्त्र देशका स्वाभिमानी नेपालीलाई पराधीन बनाउछ ,अन्तत : फेरी उहि साम्राज्यबाद दोहोरिन्छ।’ तर उनीहरुले हामी जनतालाई गणेशमानको भेडा समझेर फकिन्छन् भने र जबरजस्ती पास गरे । हामी सडकबाट फेरी घर गयौँ । त्योबेलाको आक्रोश केहि केहि हदसम्म स्खलित भएको छ आजकाल, अहिले केही प्याक रक्सी र मासुमा हामी बिकेका छौँ । गणेशमानले त्यसै भनेका होइनन् कि तिमीहरु भेडा हौ ।

उनीहरुले शक्ति रास्ट्रको निर्देशनमा रचिएको त्यो कहालीलाग्दो दश बर्षे जनयुद्दका नाममा झुक्याए । हामीलाई गुठी विधेयकमा पनि झुक्याए, देशप्रति गद्धारी गरे, देशको स्वाभिमान बन्धक नै राखे, पूरा नहुने दिवा सपना घोषणापत्रमा राखे । सबै कुरा थाहा भएका हामी फेरी चुपचाप बिना कुनै गुनासो भोट हाल्न आइपुगेका छौँ ।

अब भन्नुस, पटक पटक राष्ट्रघात गर्ने जनविरोधी तत्वलाई म कसरी मत दिउ ?

एकपटक मनलाई सोधौँ त के हाम्रो भोट को सदुपयोग होला त ! के हामी भोट बैंक मात्र हो त ! अनि फेरि यिनीहरुलाई नै भोट किन दिने ? विकल्प छैन हामीसँग ? अब त सोचौ !

प्रकाशित मिति : बैशाख २९, २०७९ बिहीबार  ९ : ०१ बजे