सोलुखुम्बु । सोलुखम्बुको थुलुङ दुधकोसी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष असिम राईले आफूले सरकारबाट पाउने सेवा–सुविधाबाट पालिकाभित्रको एक जना जेहेनदार विद्यार्थीलाई एमबीबीएस पढाउने घोषणा गरेका छन् ।
गाउँपालिकाको अध्यक्षका रूपमा आज शुक्रवार दोस्रो कार्यकालको पदभार ग्रहण गर्दै अध्यक्ष राईले आफूलाई प्राप्त हुने सबै सेवा–सुविधा पालिकाभित्रका गरिब तथा जेहेनदार एक जना विद्यार्थीलाई एमबीबीएस पढाउन खर्च गर्ने घोषणा गरेका हुन् ।
यस्तै उनले कार्यभार सम्हालेपछि गाउँपालिकामा वातावरणमैत्री विद्युतीय बस सञ्चालन गर्ने र त्यसका लागि चार्जिङ स्टेशन बनाउने निर्णय पनि गरेका छन् ।
पेट्रोलियम पदार्थको मूल्य बढिरहेको र वातावरणलाई समेत प्र’दूषित बनाएको भन्दै अध्यक्ष राईले अबको कार्यकालको पहिलो काम नै विद्युतीय गाडी सञ्चालनलाई जोड दिइने बताए ।
गाउँपालिकको सबै वडा तथा टोलमा सडक विस्तार भइसकेकाले विद्युतीय बस सञ्चालनका लागि आफूहरू तयार रहेको उनले बताए ।
अध्यक्ष राई २०७४ सालको पहिलो पालिका चुनावमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट उम्मेदवार बनेर गाउँपालिका अध्यक्षको रूपमा निर्वाचित भएका थिए ।
यो पटक पनि उनी माओवादीबाटै निर्वाचित भए ।




















प्रतिक्रिया