Logo

स्वास्थ्य

एमनेस्टीले भन्‍यो – कोरोना विरुद्धको दोस्रो डोज खोप नपाउँदा १४ लाख नेपाली जोखिममा 



कोरोना भाइरसविरुद्ध पहिलो डोज खोप लगाएका तर दोस्रो डोज नपाएका नेपालका १४ लाख नागरिक जोखिममा परेको एम्नेस्टी इन्टरनेसनले जनाएको छ । एम्‍नेस्टीले शुक्रबार सार्वजनिक अपिल जारी गर्दै कोरोनाविरुद्धको दोस्रो डोजको कोरोना खोप नपाएकाले १४ लाख नागरिकको जीवन जोखिममा परेको र कोरोना भाइरस नियन्त्रणमा चुनौती हुने भन्दै चिन्ता व्यक्त गरेको हो । 

नेपाललाई तत्काल खोप उपलब्ध गराएर खतरामा परेका नेपाली नागरिकको जीवन बचाउनका लागि भूमिका खेल्न पनि एम्‍नेस्टीले धनी र खोप भण्डार गरी राखेका देशहरूसँग आग्रह गरेको छ । एम्‍नेस्टीले भनेको छ, “विशेषगरी बेलायत जस्ता ठूलो मात्रामा खोप भण्डारण गरेका धनी देशसहित अन्तर्राष्ट्रिय समुदायले तत्काल नेपाललाई पर्याप्त खोप दिए १४ लाख नागरिकलाई खतरामुक्त गर्न सकिन्छ ।”

सरकारले ६५ वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकलाई गत वर्ष फागुन अन्तिम र चैत पहिलो साता भारतीय कम्पनी सेरमले उपलब्ध गराएको कोभिशिल्ड खोप लगाइदिएको थियो । नियमानुसार उनीहरूले दोस्रो डोज १२ हप्ताभित्रमा लगाइसक्नुपर्ने थियो । 

तर, तत्काल खोप ल्याउन नसकिएको उल्लेख गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ अन्तमा पहिलो डोज लगाएको १६ साताभित्र दोस्रो डोज लगाउन सकिने सूचना जारी गरेको थियो । पहिलो डोज लगाइएको १६ साता बित्न अब बढीमा १० दिन मात्र बाँकी भएको तर खोप ल्याउने र ज्येष्ठ नागरिकहरूलाई लगाइदिन विषयमा सरकारले चासो नदेखाएपछि एम्नेस्टीले १४ लाख मानिसमा जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरेको हो । 

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार १५:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।