Logo

प्रमुख समाचार

सम्पादकीय: आफ्नो बाटोमा नहिँडेको गणतन्त्र



नेपालमा गणतन्त्रको शुरुवात भएको एक दशक मात्र पुगेको छ । त्यसभन्दा अगाडि देशमा राजतन्त्र थियो र राजा नै राष्ट्र प्रमुख हुन्थे । वि. सं. २०६२–६३ मा भएको शान्तिपूर्ण जनआन्दोलनपछि जारी गरिएको अन्तरिम संविधान अनुरुप सम्पन्न संविधान सभाको निर्वाचन पश्चात् गठन भएको संविधान सभाको पहिलो बैठकले २०६५ साल ज्येष्ठ १५ गते राजतन्त्र उन्मूलन गरी नेपालमा गणतन्त्र स्थापना गर्यो ।

त्यसपछिको संविधान सभाले डा. रामवरण यादवलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति घोषणा ग¥यो । वर्तमान राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति एवं देशमा नयां संविधान जारी भएपछिको पहिलो राष्ट्राध्यक्ष रहेकी छिन् । नेपालको संविधान २०७२ ले राष्ट्रपतिलाई राष्ट्राध्यक्ष र संविधानको संरक्षक एवं अभिभावकको रुपमा स्थापित गरेको छ । राष्ट्रिय एकताको प्रवर्धन, संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको कर्तव्य हुनेछ भन्ने कुरा संविधानले निर्दिष्ट गरेको छ ।

राजनीतिक परिवर्तन शासनशैलीमा देखिनु पर्छ । आमजनजीवनमा देखिनु पर्छ । तुलनात्मकरूपमा सकारात्मक परिणामहरू देखिनु पर्छ । निर्दलीय पञ्चायती शासनको तीस वर्षसहित आजसम्मका करिब ६२ वर्षमा विकास र जनजीवनमा राजनीतिक व्यवस्था परिवर्तनको भूमिका र समयले विकास गरेको प्रविधिको भूमिका कुन बलियो छ भन्ने समाजशास्त्रीय अध्ययन भएको छैन ।

आमजनसाधारणमा भने राजनीतिक परिवर्तनका कारणले मात्र जनजीवनमा परिवर्तन आएको नभई विश्वस्तरमा विकसित प्रविधिको परिणाम हो भन्ने धारणा पाइन्छ । हुन पनि गणतन्त्रकै कारण आमजनजीवनमा परिवर्तन वा सुधार भएको देखाउने सर्वसम्मत र ठोस परिणाम देखिँदैन ।

राजनीतिको उच्च तहसम्म पहुँच भएका सीमित व्यक्तिहरूको जीवनशैलीमा द्रुत गतिमा परिर्वतन भएको छ । तर दैनिक गरीखाने वर्गको जीवन जहाँको त्यही रह्यो । देशमा रोजगारीको अवसर सिर्जना भएन । वार्षिक पाँच लाखको हाराहारीमा युवाहरू सस्तैमा श्रम बेच्न खाडी मुलुक गए । सरकारले स्वरोजगारी प्रवर्द्धनको साटो युवाहरूको विदेश निर्यात बढायो । हुँदा हुँदा कोरोना भाइरस संक्रमणका कारणले संकटमा परेर स्वदेश फर्किन चाहनेहरूलाई हाम्रा जहाजले ल्याउन कति समय लाग्छ भनेर प्रधानमन्त्रीले प्रश्न गर्नुपर्ने अवस्था सिर्जना भयो ।

शासनमा सुधार भएको कुरा तथ्य–तथ्यांक र अनुभूति दुवैतिर देखिनु पर्छ । सरकारसँग सफलता देखाउने तथ्यांकहरू धेरै होलान् तर आमअनुभूतिमा देखिएको छैन । सुशासन व्यवहारमा देखिनुपर्छ, प्रत्येक व्यक्तिले अनुभूत गर्नुपर्छ । तथ्यांक बुझेर पर्गेल्ने क्षमता प्रत्येक व्यक्तिमा हुँदैन तर अनुभूति प्रत्येकले गर्न सक्छ ।

सुशासन बढ्यो, रोजगारी बढ्यो, भ्रष्टाचार नियन्त्रण हुँदैछ भनेर सन्तोष गर्ने ठाउँ छैन । कानुनमा शासन प्रणाली र पद्धति बदलियो, आमूल परिवर्तन भयो तर आमजनजीवनमा अनुभूति भएन ।

प्रकाशित मिति : जेष्ठ १५, २०७९ आईतबार  १ : ३५ बजे