पठनमा एउटा विसङ्गत प्रवृत्ति के छ भने अफवाहको पछि दगुर्ने पाठकप्रवृत्तिले बिक्री परिमाण र हल्लाको भरमा कृतिको सफलताको अनुमान गर्छ । कतिले गम्भीर भएर पढे, र कतिलाई त्यसले जीवनको गम्भीर मूल्यबोध गराएर गयो भन्ने कुरालाई बेवास्ता गर्छन् । अँ, अपवादबाहेक ।
कुनै पनि कृतिको सफलता भनेको त्यसको पठनपछि पाठकमा त्यसले कुन हदसम्म प्रभाव जमाउँछ भन्ने कुराबाट मापन हुने विषय हो । अर्थात् पाठकले एकपटक पढिसकेपछि त्यसले पाठकको मनमा स्थायी रूपमा ठाउँ ग्रहण गर्न सक्यो भने त्यो नै उक्त कृतिको सफलता हो । ’अपरिचित अनुहार’ त्यसैको उदाहरण हो ।
२०७८ को भाद्र महिनामा ’अपरिचित अनुहार’को पहिलो संस्करण बजारमा आएको थियो । बजारमा आउनेबित्तिकै यसले अपार चर्चा र लोकप्रियता कमायो । महेश पौड्यालद्वारा लिखित यस कथासंग्रहमा १८ वटा कथाहरू संग्रहित छन् । प्रत्येक कथाका पात्रहरू अत्यन्तै सामान्य पृष्ठभूमिबाट आएका छन् । समाजले देख्न नभ्याएका अथवा देखेर पनि बेवास्ता गरेका पात्रहरूले भरिएका यी कथाले सम्प्रेषण गर्ने कथाचेत भने अत्यन्तै विशिष्ट छ ।
आखिर लेख्नुको अर्थ बुझेको लेखकले लेख्ने भनेकै ओझेलको कुरा न हो । त्यैसले त यस संग्रहका सबैजसो कथाहरूमा ओझेलका पात्रहरूकै नायकत्व छ । ती पात्रहरू जो न कुनै अखबारमा आउँछन्, न कसैले उनीहरूभित्रको संवेदनाको हेक्का राख्छ । बगर कथाको अग्ले होस् वा ’आवाजहरू’मा त्यो जोगी होस् अथवा ’त्यसपछि निदाइन् बहिनी’का दाजुबहिनी होऊन् । आखिर उनीहरू ओझेलकै पात्र हुन् ।
संग्रहको पहिलो कथा ’बार्दलीको एउटा अनुहार’मा बसको सहचालक मुख्य पात्र छन् । शारीरिक रूपले अशक्त व्यक्तिप्रति दया देखाउने मान्छेको कमी हुँदैन तर उसको जीवनका समस्याहरू बाँड्न प्रत्यक्ष रूपमा उपस्थित हुने आँट गर्नेहरू दुर्लभ अपवाद हुन् । ’बार्दलीको एउटा अनुहार’का पात्रले त्यो आँट देखाउँछन् ।
एउटा सचेत लेखकको मुख्य दायित्व भनेको जुनसुकै हालतमा ऊ मानवताको पक्षमा उभिनुपर्छ भन्ने बुझेका पौड्यालले ’बार्दलीको एउटा अनुहार’को अन्त्यतिर त्यही धर्म निभाउँदै भन्छन्–
’मनेले घर, बा, आमा, समाज सबै सम्झियो । तर अन्त्यमा ईश्वर सम्झियो र आफैँलाई धाप दियो ।’ (पृष्ठ ११)
कति सुन्दर उद्गार ! कथाकार अझैँ बोल्छन्–
….केही केही कुरो काट्नेहरू उसलाई ’घरज्वाइँ’ पनि भन्छन्, तर ऊ सुन्दैन । आफैँलाई भन्छ, ’मैले सुन्नुपर्ने अरू कुरा छन् । माथिल्ला कुरा छन् ।’(पृष्ठ ११)
अर्को कथा मृगनयनीले आम मान्छेहरूले दृष्टिविहिनहरूप्रति बनाएको दृष्टिकोण अथवा उनीहरूले बारम्बार देखाइरहने दया (कठै भन्ने प्रवृत्ति) ले दृष्टिविहिनहरूलाई कमजोर बनाउन भूमिका खेलेको छ भन्ने कुरालाई अत्यन्तै स्वाभाविक ढङ्गले देखाएको छ ।
त्यस्तै अर्को कथा ’उपहार’ले मानिसहरूलाई भावनामा जोड्न बालबालिकाको भूमिका कति सार्थक हुन्छ भन्ने कुरा देखाएको छ । कथाको बालक पात्र आफ्ना बा आमासँगै टाढा गए पनि उसले समाजका मानिसहरूलाई एक आपसमा जोडेर गएको छ । त्यही नै त्यस बालकले दिएको उपहार हो ।
आवाजलाई दबाउन खोज्नु झनै चर्को आवाजको विस्फोट गराउनु हो । तर आवाज नाजायज होइन, आवाज जीवनको प्रतीक हो । आवाजबाट भागेर मान्छे जति पर जान्छ ऊ जीवनसँग त्यति नै बिमूख हुन पुग्छ । पाठकलाई यही निष्कर्षमा पु¥याएर टुङ्गिन्छ अर्को कथा ’आवाजहरू’ ।
मान्छेलाई उसको प्राकृतिक स्वाभावसँग बाँच्न दिनुपर्छ । अन्यथा उभित्रका दमित ईच्छाहरूले उसलाई मनोरोगी बनाउन सक्ने खतरा हुन्छ । ’अभिमन्यु’ कथा यही विषयको सेरोफेरोमा उभिएको छ ।
त्यस्तै अर्को कथा छ ’बगर’ । मान्छे भौतिक रूपमा कुरूप हुनुमा उसको गल्ती छैन । उभित्रको अदृश्य संवेदनामा ऊ सुन्दर हुनुपर्छ । त्यो दिव्य सुन्दरता सबैले नदेख्लान्, केहीले अवश्यै देख्छन् । यही त हो ’बगर’ कथाले गरेको उद्गार ।
आस्तित्विक संकटमा अझ भनौँ जीवनकै अन्तिम घडीमा पनि मान्छे सांसारिक कुराहरूको लालच त्याग्न सक्दैन । ’दुई मृत्यु’ पढ्दैगर्दा लाग्छ– कति जीर्ण जीवनतन्तुमा पनि कति कठोर लालच बोक्छ मान्छे ! यस कथाले नियतिको भंगालोले मान्छेलाई धनी गरिब भन्दैन भन्ने सन्देश दिएको मात्र छैन । बरु मर्दैगर्दा बाँचेकाहरूको लागि केही सार्थक काम गरेर मर्नुमा जीवनको सबैभन्दा सुन्दर अर्थ छ भन्ने कुरा यस कथाको आह्वान हो ।
जीवनको एउटा निर्मम सत्य के हो भने मान्छे हरेक क्षण दुइटा टेन्सनको बिचमा बाँच्छ । भावना र जिम्मेवारी । कुनै चिज अत्यन्तै मनपर्छ भने त्यो भावना हो । तर त्यसलाई छुने अधिकार छैन भने छुनु हुँदैन । भलै जति नै प्रिय किन नलागोस् । त्यो जिम्मेवारी हो । कथा ’चौकीभित्र–चौकीबाहिर’ त्यही भावना र जिम्मेवारीबिचमा बाँचेका पात्रको कथा हो । भावना जति नै जायज भए पनि त्यसलाई जिम्मेवारीले दमन गरेकै हुन्छ । यस कथामा कथाकारले प्रहरी कर्मचारीलाई नै पात्रको रूपमा छाने । कारण, जिम्मेवारी पालना गर्ने मामिलामा प्रहरीजत्ति कठोर अरू हुँदैनन् ।
संग्रहकै अर्को कथा ’उपलब्धि’ले भौतिक सम्पन्नता मात्र जीवनको सम्पूर्णता होइन भन्ने तर्क गरेको छ भने ’त्यसपछि निदाइन् बहिनी’मा बालबालिकाको संसारबाट युद्धलाई हेर्न खोजिएको छ ।
संग्रहमा यदाकदा कथाकारको दार्शनिक प्रवृत्ति पनि झुलुक्क देखिन्छ । जस्तै ‘दुर्ग’ मा कथाकार बोल्छन्– ’लेखिनु र मेटिनु नियति हो । मेटिए पनि फेरि लेख्नु जीवन हो ।’(पृष्ठ–७७)
अत्यन्तै सामान्य पृष्ठभूमिबाट पात्रहरू टिप्नु र त्यसमा विशिष्ट जीवनदृष्टि भर्न सक्नु कथाकारको सबैभन्दा लोभलाग्दो पक्ष हो । कथाकार आफैँ एक समालोचक पनि भएकोले होला कथामा कमजोरीहरू अत्यन्तै कम छन् । यद्यपि खोट लाउनलाई कमै पनि पर्याप्त हुन्छ ।
जस्तै ’बार्दलीको एउटा अनुहार’की पात्रमा हिँडाइसम्बन्धी अपाङ्गता छ भने अर्को कथा ’मृगनयनी’की पात्र दृष्टिसम्बन्धी अपाङ्गताबाट ग्रस्त छिन् । जे भए पनि उनीहरू दुवैमा शारीरिक अपाङ्गता छ । यसरी दुई फरक कथाहरूमा एउटै विषयको पुनरावृत्ति हुन खोजेको जस्तो देखिन्छ ।
त्यस्तै अर्को कथा ’त्यसपछि निदाइन् बहिनी’मा ती दाजुबहिनीको त्यति लामो संवाद होउन्जेल आमाचाहिँ कसरी शान्त निद्रामा निदाउन सकिन्? बहिनीको त्यति ख्याल राख्ने दाइले कथा भन्दाभन्दै बहिनीको प्राण गइसकेको कुरासमेत थाहा पाउन किन सकेनन्? त्यति शान्त मुद्रामा मृत्यु हुन सक्ला र ?
त्यस्तै गरी संग्रहको अर्कै कथा ’अपरिचित अनुहार’मा त्यो अँध्यारोमा ती अस्वाभाविक घटनाहरू? ती दिव्य पुरुष? बालकहरूको बर्षा ? यस कथामा कथाकार बढी उदास भएजस्तो लाग्छ ।
जे भए पनि यस संग्रहभित्रका सबै कथाहरूले कथाका आधारभूत पक्षहरूलाई पर्याप्त रूपमा समेटेका छन् । कथामा प्रयुक्त शब्दहरू कोमल र सरल छन् । पुनश्चः अत्यन्तै सामान्य पृष्ठभूमिबाट पात्रहरू टिपेर जीवनको विशिष्ट अर्थ खोतल्नु ’अपरिचित अनुहार’को सबैभन्दा लोभलाग्दो पक्ष हो । कृति जुगजुग बाँचिरहने विश्वास मैले लिएको छु । स्रष्टालाई शुभकामना !
















प्रतिक्रिया