Logo

स्वास्थ्य

अमेरिकाले पाकिस्तान, अफगानिस्तान र भारतलाई सोझै खोप दिने, कसरी पाउँछ नेपाल ? 



संयुक्त राज्य अमेरिका राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कलम ह्यारिसको प्रशासनले थप साढे पाँच करोड डोज खोप विश्‍वभर वितरण गर्ने योजनाको विस्तृत विवरण सार्वजनिक गरिएको छ । अमेरिकाले साढे पाँच करोड डोज खोपमध्ये चार करोड १० लाख डोज खोप कोभ्याक्स अन्तर्गत वितरण गर्ने जनाइएको छ । 

ह्वाइट हाउसले जारी गरेको विवरण अनुसार एक करोड ४० लाख डोज खोप ल्याटिन अमेरिका र क्यारेबियन मुलुकहरु जस्तै ब्राजिल, अर्जेन्टिना, कोलम्बिया, पेरु, इक्‍वेडर, पाराग्वे, बोलिभिया, उरुग्वे, ग्वाटेमाला, एल साल्भाडोर, होन्डुरस, हाइटी र अन्य क्यारेबियन समुदाय भएका मुलुकहरु, डोमिनिकन रिपब्लिक, पानामा र कोस्टारिकालाई वितरण गरिने भएको छ । 

त्यसैगरि करिक एक करोड ६० लाख डोज खोप एसियाली मुलुकहरु भारत, नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, भुटान, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्याण्ड, मलेसिया, लाओस, पपुआ न्यु गिनी, ताइवान, कम्बोडिया र प्यासिफिक आइल्यान्डमा वितरण गरिने छ । अफ्रिकामा १० लाख डोज खोप वितरण गरिनेछ ।   

अमेरिकाले वितरण गर्ने साढे पाँच करोड खोपको २५ प्रतिशत अर्थात एक करोड लाख डोज खोप क्षेत्रीय प्राथमिकताका आधारमा कोलम्बिया, अर्जेन्टिना, हाइटी, डोमेनिकन रिपब्लिक, कोस्टारिका, पानामा, अफगानिस्तान, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, दक्षिण अफ्रिका, नाइजेरिया, केन्या, घाना, काबो, भेर्दे, इजिप्ट, जोर्डन, इराक, यमन, ट्युनिसिया, ओमान, वेस्ट बैंक र गाजा, युक्रेन, कोसोभो, जर्जिया, मोल्डोभा र बोस्‍नियालाई वितरण गरिने छ । 

ताइवान, अफगानिस्तान, केन्याजस्ता मुलुकहरु अमेरिकाले सिधैं खोप उपलब्ध गराउने सूचीमा समावेश हुँदा नेपाल उक्त सूचीमा परेको छैन । दक्षिण एसियाका अफगानिस्तान, बंगलादेश र पाकिस्तानलाई पनि अमेरिकाले सोझै खोप दिने भएको छ । तर, नेपाललाई भने कोभ्याक्स अन्तर्गतको योजनामार्फत खोप उपलब्ध गराइने भएको हो । 

कोभ्याक्स अन्तर्गत अमेरिकाले करिब १ करोड ६० लाख डोज खोप बाँडनु पर्नेछ । कोभ्याक्सअन्तर्गत उक्त खोप एसियाका भारत, नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, भुटान, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, मलेसिया, लाओस, पपुवा न्यू गिनी, ताइवान, कम्बोडिया र अरू प्यासेफिक आइल्यान्डहरूमा वितरण गरिने छ । 

अमेरिकाले अहिले फाइजर, मोडेर्ना, जोन्सन एन्ड जोन्सन कम्पनीले बनाएका खोप अरू मुलुकलाई बाँड्न लागेको हो । अमेरिकासँग अक्सफोर्ड/एष्ट्राजेनेकाले बनाएको खोप पनि सञ्चित छ। तर अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) ले उक्त खोपलाई अहिलेसम्म प्रयोग अनुमति दिएको छैन । एफडीएले प्रयोग अनुमति दिए अष्ट्राजेनेकाको खोप पनि अमेरिकाले अरू मुलुकलाई दिनेछ ।

नेपालले सुरूमा भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको अक्सफोर्ड/एष्ट्राजेनेकाको खोप लगाउन थालेको थियो । अहिले पनि उक्त खोप लगाएका झन्डै १४ लाख मानिसहरू दोस्रो डोजको पर्खाइमा छन् ।  

अमेरिकाले यसअघि जुन महिनाभरिमा कोभिडविरुद्धको आठ करोड मात्रा खोप विश्वलाई बाँड्ने योजनाबमोजिम पहिलो चरणमा २ करोड ५० लाख मात्रा खोप वितरण गर्ने घोषणा गरेको थियो ।  संसारभरि उचित तरिकाले अनि उच्च जोखिममा परेका देशहरूलाई ती खोप बाँडिने बताइएको थियो । जसअन्तर्गत एक करोड ९० लाख मात्रा खोप विश्वभरि खोप बाँड्ने कोभ्याक्स कार्यक्रमलाई दिने घोषणा गरेका थिए । खोप बाँडिने देशहरूको सूचीमा नेपाल पनि समावेश थियो । जसमा एसियाली देशहरुलाई बाँड्ने ७० लाख डोज खोपमा नेपाल पनि समावेश भएको हो । 

प्रकाशित मिति : ८ असार २०७८, मंगलवार १४:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।