Logo

स्वास्थ्य

खोप अभावका कारण कोरोनाको डेल्टा भेरियन्टले भयावह रुप लिने विज्ञहरुको चेतावनी 



मुलुकभर फैलिएको कोरोना संक्रमणको दोस्रो लहर फैलाएको डेल्टा भेरियन्टको नियन्त्रणका लागि खोपको अभाव भएमा भयावह रुप लिने विज्ञहरुको चेतावनी छ । सरकारले निषेधाज्ञा खुकुलो बनाएसँगै स्वास्थ्य मापदण्डको पालनामा लापरबाही भएको र खोप पनि नभएको अवस्थामा निकै भयावह स्थिति निम्तिनसक्ने विज्ञहरुको चेतावनी छ । 

डेल्टा भेरियन्टको विकसित रूप ‘एवाई१’ वा डेल्टा प्लस भेरियन्ट यसै साता नेपालमा समेत पुष्टि भएको छ । यो म्युटेसनको नाम ‘के४१७ एन’ हो । छिमेकी भारतलगायत ११ मुलुकमा डेल्टा प्लस भेरिएन्ट देखिएको छ । “हालसम्म ९ वटा नमुनामा देखिएको डेल्टा प्लस भेरिएन्ट उच्च संक्रामक छ,” स्वास्थ्य मन्त्रालयका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने, “हामी जिम्मेवार भएनौं भने डेल्टा प्लसद्वारा उत्पन्न संक्रमण बढ्न सक्छ ।”

डेल्टा प्लस भेरियन्ट कोभिडको तेस्रो लहरको ट्रिगर हुने उच्च सम्भावना रहेको भाइरोलोजिस्ट डा वासुदेव पाण्डेले बताएका छन् । डेल्टा प्लस भेरियन्ट तेस्रो लहर ल्याउनमा जिम्मेवार हुन सक्ने उच्च सम्भावनापछि यसको उच्च संक्रामकतासँगै कोषमा भाइरस टाँसिन सक्ने क्षमतासमेत प्रमुख छ ।

खोप लगाएर वा प्राकृतिक रूपमा संक्रमण भएर शरीरमा उत्पन्न एन्टिबडीको प्रभावकारिता डेल्टा प्लस भाइरसले कम गराउन सक्छ तर मुलुकमा खोपको अभाव जारी रहेका कारण यसले झनै भयावह अवस्था निम्त्याउन सक्ने औंल्याउँदै डा. पाण्डेले भने, “डेल्टा प्लसले बालबालिकादेखि बूढापाकासम्म सबै उमेर समूहलाई संक्रमण गर्न र फोक्सोमा बढी असर पार्न सक्ने क्षमता देखिएकाले समयमै सचेतता आवश्यक छ ।”

विज्ञहरूका अनुसार धेरै संक्रामक रहेको डेल्टा प्लस फोक्सोको कोषिकाको रिसेप्टरमा बलियोसँग टाँसिन सक्छ । यही कारणले फोक्सोलाई छिटो नोक्सान पुर्‍याउँछ । यो मोनोक्लोनल एन्टिबडी ककटेललाई समेत माथ दिन सक्षम देखिएको छ । भारतको इन्डियन सार्स कोभ–२ कन्सोर्टियम अन जिनोमिक्स ९आईएनएसएसीओजी० का अनुसार डेल्टा प्लस भेरिएन्टको ट्रान्समिसन क्षमता र फोक्सोको कोषिकाको रिसेप्टर्ससँग टाँसिने क्षमता बढी छ ।

 

प्रकाशित मिति : १२ असार २०७८, शनिबार ०८:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।