Logo

विचार / ब्लग

समाजले फैलाएको डिम्बको भ्रम



लकडाउनताका रुपन्देहीमा रहँदा, औँलामा लगभग आधा तोलाको आँैठी लगाएका एक जना नजिकका भलाद्मीले आफ्नो २६ वर्षीय छोराको विहे गरेको र घरमा १७ वर्षकी कक्षा ११ पढ्दै गरेकी बुहारी हिजो मात्र बिहे गरेर ल्याएको बताए ।

उनको कुराले म झस्किएँ । मनमनै सोचेँ, ‘जम्मा १७ ?’ मन थाम्न सकिनँ । त्यसपछि मैले उनलाई सोधेँ “विवाहको लागि कानुनी उमेर २० वर्ष पूरा गरेपछि भनेर तोएिको छ । यो त बालबिवाह भएन ?”

हाम्रो कानुनले बालविवाहलाई अपराधको रुपमा स्वीकार गरेको छ । कानुन र त्यसबाट हुने सजायका समेत जानकार उनले व्याङग्यात्मक शैलीमा जवाफ दिए । उनले भने “छोरी मान्छेले विवाह, सन्तानोत्पादन छिटै गर्नुपर्छ नि ! ढिलो गर्दा डिम्ब पातलो हुन्छ ।” यो डिम्ब पातलो शब्दले मेरो निन्द्रा गायब गर्यो ।

सामान्य भाषामा डिम्ब भनेको रजस्वलाको दोश्रो चरणमा डिम्वासयले निष्कासन गर्ने अण्डा हो । पाठेघरसँगै जोडिएर रहेका दुई अण्डासयले हरेक महिनामा पालो पालो अण्डा उत्पादन गर्छन् । अण्ड उत्पादन पछि पाठेघरमा बच्चालाई चाहिने वातावरण बन्न थाल्छ । कमसल झिल्ली र रगत मिलेर तह बन्न थाल्छ । सही समयमा यो डिम्ब पुरुषको सुक्रकिटसँग मेल हुन नपाएपछि उत्पादन भएको डिम्ब मरेर जान्छ अर्कोतर्फ पाठेघरको रगत रजस्वलाको रुपमा बाहिर निस्किन्छ मतलव डिम्ब खेर जान्छ । उनी यही डिम्ब पातलोको जिकिर गर्दै थिए ।

हुनत यो डिम्ब निष्काषन प्रकृया महिलाको नितान्त व्यक्तिगत शारीरिक प्रकृया हो तर यो व्यक्तिगत हुन पाउँदैन किनकि डिम्बसँग परिवार जोडिएको छ । परिवारसँग समाज र समाजसँग अनेकौ परम्परा, विचार, पितृसत्ता आदि इत्यादि । यो महिलाको डिम्ब र समाज आज जोडिएको हैन सताब्दियौँ वर्ष देखिको अभ्यास हो ।

मेरो खलबलिएको दिमागले कानुनको स्नातकको पढाइमा प्रथम वर्षमा हातमा परेको ६४३ वर्ष अघिको जयस्थिती मल्लले बनाएको कानुन जसलाई मानवन्याय शास्त्र भनिन्छ । त्यसका केही प्रावधान स्मरण गर्न पुग्यो । सोही कानुनको पृष्ठ १५८ को प्रावधान जहाँ भनिएको छ सन्तानका निमित्त स्त्रीहरुको सृष्टि भएको हो त्यस कारण स्त्रीहरु क्षेत्र हुन । कतिपय प्रावधान बालविवाह समर्थित छन् । जस्तै पृष्ठ १६१ मा भनिएको छ पिताले छोरी रजोवती हुनुभन्दा पहिल्यै छोरीको विवाह संस्कार गरिदिनु नत्र उनलाई ठूलो पापले छुन्छ । पिता नभए कन्याले आफ्ना बन्धुहरुलाई रजस्वलाबारे बताउनु यति भन्दा पनि कुनै बन्धु तातेनन् भने ती सबै कन्याका ऋतुकालवरावरका गर्भधाती हुन्छन् । यहाँ रजस्वलासँग पाप र धर्म पनि जोडिएको छ । यदि छोरीको रजस्वला भयो अर्थात् डिम्ब खेर गयो भने पिता भ्रूण हत्यारा सरह हुन्छन् । त्यति बेलाको समाजमा स्त्रीको डिम्ब खेर जानै दिनुहुन्न भन्ने विश्वास गरिँदो रहेछ ।

जब म सानै थिएँ । तब बूढापाकाहरुले भन्ने गरेको सुन्थे छोरी मान्छेको बिहे रजस्वला हुनुभन्दा अगाडि गरेमा पुण्य कमाइन्छ । ठूलो हँुदै जाँदा अनौठो लाग्थ्यो रजस्वला शारीरिक प्रकृया हो यसमा धर्म कसरी जोडियो ? समाजका अनेकौ व्यवस्था सम्बन्धी वर्षौ देखिका मेरा सवालका जवाफ मैले यो कानुनी दस्तावेजमा फेला पारेँ ।

यहाँ ६४३ वर्ष अघिको कानुनलाई प्रस्तुत गर्नुको आसय त्यो समाज र कानुनलाई आलोचना गर्नु पक्कै हैन त्यति बेलाको समाज चलाउनको निमित्त ल्याएको कानुसँग के को गुनासो ?

गुनासो र आक्रोश आजको शिक्षित समाजसँग हो जो आजका दिनमा आइपुग्दा पनि पुरानै विचारधारा लतार्दै हिँडेको छ । महिलालाई डिम्बको नजर भन्दा माथि उठेर हेर्न अझै पनि रुचाउदैन हाम्रो समाज । फरक यति मात्र हो ६४३ वर्ष अघिको समाज ले डिम्ब खेर जानै दिनु हुन्न भन्ने विचार राख्थो आजको समाजले डिम्ब पातलो हुन्छ भन्ने विचार राख्छ । छोरीको शिक्षा, आत्मनिर्भरता, उसको आत्मनिर्णयको अधिकारलाई पछि सार्दै छिटो विवाह, छिटो सन्तान उत्पादन आदिलाई पहिलो प्राथमिकतामा राख्छ किनकि आज पनि समाजमा महिलालाई हेर्ने दृष्टिकोण मा उल्लेखनिय परिवर्तन आउन सकेको छैन । महिलाको जीवनको उद्देश्य नै केवल प्रजनन् भूमिका हो भन्ने विचार अझै पनि राख्छ हाम्रो समाज । यदि कसैले समाजले चाहे अनुसारको उमेरमा विवाह गरेन भने बिना कुनै ज्ञान सजिलै महिलाको प्रजनन् क्षमतामा प्रश्न गर्छन् । अगाडि बढ्न चाहाने छोरी मान्छेहरुले उसको व्यक्तिगत जीवनमा यस्ता कयौँ सस्ता विज्ञहरुको सामना गर्नु पर्छ ।

विवाह नामको संथाप्रति अनौठो बुझाई छ हाम्रो समाजको । कोही अभिभावक विवाह २० वर्ष वारि विवाह दर्ता पो २० वर्ष पारी भन्छन् कानुनलाई छल्न सकेकोमा छाती फुलाउँछन्, कोही यसरी छोरीको विवाहमा लाग्छन् मानौ छोरीको विवाह २० वर्ष पुग्ने बित्तिकै नगरेमा कानुनले कारबाही गर्छ । तोकिएको उमेर पुग्नासाथ विवाह गर्न बाध्य हुनै पर्ने स्थिति समेत छ । सायद उनीहरु छोरी टाउकोको भारी सम्झिन्छन् जुन भारी एक दिन बिसाउनै पर्छ त्यसैले सकेसम्म छिटो बिसाइदिऊ । कारण यही हो छिटो विवाह, छिटो सन्तानोत्पादन त्यसमा पनि छोराको जन्म, स्त्रीको जीवन सफल भयो समाजले देखेको महिलाको सफलता यति हो ।

विवाह २० वर्ष पुगेर गर्नु पर्ने कानुन, राज्यमा त्यसै आएको ल्याइएको होइन । आधुनिक चिकित्सा विज्ञानले २० वर्ष नपुगी यौन अंग पूर्ण विकसित भएको मान्दैन । छिटो विवाह र सन्तानोत्पादन महिला स्वास्थको लाव िप्रतिकुल हुन्छ । नेपालको संविधान, २०७२ को धारा १८ ले समानताको अधिकारको सुनिश्चितता गरेको छ , धारा १७ ले स्बतन्त्रताको हकको सुनिश्चितता गरेको छ , महिलाको हक सम्बधी धारा ३८ को उपधारा (२) ले प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य सम्बन्धी हक हुने व्यवस्था गरेको छ । बालबालिका सम्बधी हक धारा ३९ को उपधारा (५) मा कुनै पनि बालबालिकालाई बाल विवाह, गैरकानुनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न पाइने छैन भनि व्यवस्था गरेको छ । त्यस्तै मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय दस्तावेज हरुमा विवाहको ईच्छा राख्ने स्त्री पुरुषको पूर्ण र स्वतनत्र सहमतिबाट मात्र विवाह हुने व्यवस्था गरेको छ यी कानुनको पालना गर्नु नागरिकको पनि कर्तव्य हो । तर अनेकन असंवैधानिक मानसिकताहरु यी कानुन मान्न तयार छैनन् ।
आजका दिन सम्म आइपुग्दा कानुनले फड्को त मारेको छ तर भलाद्मीहरुको मानसिकता घिसारिन पनि कञ्जुस गर्छ । फलस्वरुप त्यसको भरपाई महिलाले जीवनभर गर्नु पर्छ ।

प्रकाशित मिति : असार १, २०७९ बुधबार  ११ : ५१ बजे