Logo

अर्थ

मासिक २० युटिसम्म खपत गर्ने २६ लाख ग्राहकले निःशुल्क विद्युत्‌ सेवा पाए : ऊर्जामन्त्री भुसाल



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले आगामी २ वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत्‌ सेवा पुग्ने दाबी गरेका छन् । राष्ट्रियसभामा आज मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरुको जवाफ दिदैँ उनले आफूले मन्त्रालय सम्हालेपछि मासिक २० युटिसम्म विद्युत्‌ खपत गर्ने २६ लाख ग्राहकले निःशुल्क विद्युत्‌ सेवा पाएको दाबी गरिन् ।

सिँचाइमा प्रयोग हुने विद्युत्‌मा ७५ प्रतिशतसम्म सहुलियत दिनेगरी प्रतियुनिट २ रुपैयाँसम्म महशुल कायम गरिएको तथा खानेपानीतर्फ इनर्जी शुल्क करिब ५० प्रतिशतले घटाइएको भुसालले जानकारी दिइन् ।

‘आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत्‌ सेवा पुग्नेगरी योजना बनाई कार्यान्वयन गरिनेछ। मैले मन्त्रालय सम्हालेपछि मासिक २० युटिसम्म विद्युत्‌ खपत गर्ने विपन्न नागरिकलाई निःशुल्क विद्युत्‌ सेवा दिने र मिटर जडान गर्ने व्यवस्था मिलाएको छु। देशभरका झन्डै ५२ लाख ग्राहक मध्ये करिव २६ लाख ग्राहकले यो सुविधा पाएका छन्’ भुसालले भनिन् ।

अधिकांश वस्तु तथा सेवाको मूल्यवृद्धि विद्युत्‌को भने दुईपटक गरी २० प्रतिशत मूल्य घटेको मन्त्री भुसालले उल्लेख गरिन् । उनले आगामी आर्थिक वर्षदेखि हरेक वर्ष करिव ७०० देखि १००० मेघावाट विद्युत्‌ नेपालको विद्युत्‌ प्रणालीमा थपिँदै जाने बताइन्। यसरी विद्युत्‌ थपिँदा आगामी २ वर्षका सुख्खा याममा समेत नेपालको विद्युत्‌ले नै आन्तरिक माग धान्ने उनले बताइन्।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार १५:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।