‘कांग्रेसले देखाइ-देखाइ खान्छ, कम्युनिस्टले लुकाएर’, तेस्रो चरणको विकासे बजेट हात पारेपछि एकजना कांग्रेसको मुखबाट निस्केको बोली हो यो । कहिलेकाहीँ यिनले बीपीको नाम लिएर हिँडेको देख्छु । समाजवाद कुरा गरेको देख्छु । उनी प्रवृत्तिगत रूपमा आजको दिनको कांग्रेस हुन् । यो प्रवृत्तिको कांग्रेस समाजवादको कुरा गर्छ, कुहिएको उदारीकरणको व्यापार गर्छ ।
यो कांग्रेसी प्रवृत्ति जताततै जिवित भएकोले उनलाई मैले विसं २०२० को दशकको कांग्रेसको रूपमा नभइ ८० को दशक कांग्रेसको रूपमा हेरिरहेको छु । २० को दशकको कांग्रेससँग दरबारसँग सीधासीधा आँखा जुधाउने हिम्मत थियो । ८० को दशकको कांग्रेससँग सत्ताको निम्ति जे पनि गर्ने लाचार प्रवृत्ति छ । २० को दशकमा राजनीतिक आन्दोलनले खारिएका बीपी कोइराला नेतृत्वको कांग्रेस थियो । ८० को दशकमा सत्ता उन्माद, भ्रष्टाचार, राष्ट्रघातजस्ता जिनिसले सजिएको कांग्रेस छ । २० को दशकको कांग्रेसको क्रान्तिकारी भन्न लायकको राजनीतिक गतिविधि थियो । ८० को दशकको कांग्रेस घोर दक्षिणपन्थ भूमरीमा परेको छ ।
मेरो घर रहेको पालिकामा ८० को दशक कांग्रेसले एमालेले ल्याएको गाउँपालिकाको बजेटमा विरोध जनाउँछु भन्दै हिँडेको सुन्छु । खरी स्वाभावकी मेयर सीता अधिकारीसँग ८० को दशकको कांग्रेस उसै पनि डराउँछ । अलिकता खरो मान्छे भयो कि कांग्रेस डराइहाल्छ । माओवादीले आफ्नो माओवादीपन नछोड्दा कांग्रेसलाई धौ-धौ थियो , डर थियो , त्रास थियो । अहिले फ़ेरि कांग्रेस प्रवृत्ति ज्युँदो हुन थालको छ । कांग्रेस जाग्न थालेको छ । बिडम्वना इतिहासका दुई ध्रुव भएको कांग्रेस र माओवादीको कार्यगत एकता हाम्रै आँखा अगाडि देख्नु परेको छ, भोग्नु परेको छ ।
धुन्चेतिर जबजको गीत गाउने हाकिमको चर्चा सुनिन्छ । नाफाको निम्ति उनी ८० को दशकको कांग्रेसलाई लगानी गर्छन् । एमाले नेतालाई सलाम ठोकिरहेकै हुन्छन् । यस्ता अपवित्र गठबन्धन प्रत्येक सदरमुकामका अफिसहरुमा होलान् । खोज्नु मात्र पर्छ ।
कांग्रेसभित्र रगत पसिना बगाएको एउटा ठूलो पुस्ता छ । जो हरेक हिउँद, बर्खा र भेलबाढीलाई सहँदै आएको छ । रुख चिह्नमा कुकुर उठ्दा पनि भोट हाल्ने कांग्रेस तिनै थिए । ती नेविसंघका विद्यार्थी थिए । प्रजातान्त्रिक युवा संघका युवा थिए, तरुण दलका तरुण दस्ता थिए । ती कांग्रेसहरुले दोस्रो जन-आन्दोलनमा लोकतन्त्र जिन्दावादको नारा उरालेका थिए । ती कांग्रेसले ०४६ सालमा बहुदल ल्याउन सडकमा आहुती दिएका थिए, सहिद भएका थिए । मलाई ती कांग्रेससित श्रद्धा छ ।
८० को दशकमा कांग्रेसभित्र त्यो कांग्रेस विरलै भेटिन्छ, किनारातिर । मझधारमा त कुन दिन ओलीले छोड्लान् र सत्ता कब्जा गर्न पाइएला भनेर दाउ पर्खिरहेको कांग्रेसको बिगबिगी छ । इमानदार मानिसहरूको मूल्यांकन कस्ले गर्ने ? तिमीहरू इमानदार छौँ भनेर कसले भन्ने ? माथी उल्लेख गरेजस्तै देखाइ-देखाइ खाने कांग्रेस अहिलेको असली कांग्रेस हो ।
कांग्रेसभित्र रगत पसिना बगाएको एउटा ठूलो पुस्ता छ । जो हिजो नेविसंघका विद्यार्थी थिए । प्रजातान्त्रिक युवा संघका युवा, तरुण दलका तरुण दस्ता अनि २०४६ मा बहुदल ल्याउन सडकमा आहुती दिए, कयौं सहिद भने अनि बाँचेकाहरुले दोस्रो जन-आन्दोलनमा लोकतन्त्र जिन्दावादको नारा उराले । ८० को दशकमा त्यो कांग्रेस विरलै भेटिन्छ, किनारातिर । मझधारमा त कुन दिन ओलीले छोड्लान् र सत्ता कब्जा गर्न पाइएला भनेर दाउ पर्खिरहेको कांग्रेसीको बिगबिगी छ ।
गृहजिल्लाकै कुरा गरौं । माननीयज्यु कांग्रेस हुनुहुन्छ । उहाँले गर्नुभएको काम राहत वितरणदेखि आफ्नै स्काभेटर बाटो खनेकोसम्म छन् । उनले गरेको भनिएका प्रायः काम आफ्नो निजी लगानीमा छ । तर ती काम राजनीतिक महत्त्वभन्दा नि उहाँ व्यक्तिगत उदारमनका हुनुहुन्छ भन्ने खालका छन् । व्यक्तिग रूपमा कसैले गर्छ भने धन्यवाद नै छ । व्यक्तिगत रूपमा उहाँलाई व्यक्तिगत धन्यवाद । गोसाइँकुण्डको पानी कालिकास्थान खसाल्ने, समृद्ध रसुवा निर्माण गर्ने, जल, जमिन, जडिबुटी आदीको प्रयोग गरेर यो हिमाली जिल्लाको काया फर्ने उहाँका बाचा चुनावी सभामै छुटेको छ । ठूला योजना बाटोमै छुटे, व्यक्तिगत कामले चर्चा पायो । उनीहरूले लगाएको नारा आज पनि मानिसहरू सम्झलान् । पछुतो मान्लान् ।
८० को दशकको कांग्रेसले निजीकरण र आर्थिक असमानतालाई आफ्नो प्रमुख योजना बनाउने नै छ । यसमा ढुक्क हुनुस् । मनमोहन अधिकारीको नेतृत्वमा बनेको सरकारले वृद्धभत्ता दिने लोकप्रिय कार्यक्रम ल्यायो । जनताको तल्लो तहमा जानुभयो भने वृद्धभत्ताले वृद्धहरुको जीवनमा ल्याएको खुसी र उमंगलाई महसुस गर्न सक्नुहुन्छ । कम्युनिस्टहरुले बुढाबुढीलाइ गोली ठोक्छन् भन्ने भाष्य निर्माण भइरहेको त्यो समय एउटा सानो कार्यक्रम नै आज एमालेको उर्जा भएको छ । एमाले स्वयं दलाल पूँजीवादतिर ढल्किरहँदा मनमोहनको यो कार्यक्रम निकै प्रभावकारी बन्यो ।
राजनीतिमा भावुकताको मात्र काम हुँदैन । यसैले तपाईं हामी कांग्रेस प्रवृत्तिविरुद्ध बोल्नुपर्छ । नेपालमा दलाल पूँजीवादको असली ठेकदार भनेकै कांग्रेस हो । कतिपयले भावुक हुँदै भन्लान्- कांग्रेसले आफ्नो जात अनुसारको काम गर्छ । काङ्ग्रेस हुँदैमा भ्रष्टाचारको आहालमा डुबुल्की मार्न पाउने छुट दिनुहुन्न । कांग्रेस हुँदैमा दलाल हुने छुट हुनुहुन्न ।कांग्रेस हुँदैमा जनविरोधी हुनुपर्छ भन्ने छुट कहाँ छ र ?
कांग्रेसको पाठशाला हुँदै अघि बढेका कम्युनिस्टहरुले पनि जनविरोधी हुन कांग्रेसबाटै सिके होलान्, जाने होलान् । यसैले यो जनविरोधी पाठशाला सधैं लागि बन्द हुनुपर्छ । अझ कम्युनिस्टहरुतिर फैलिएको भाइ कांग्रेस प्रवृत्ति निर्मुल गर्न जनवादी सुइ लगाउने कार्यक्रम चलाउनु पर्छ । यस्तो कार्यक्रम तीन महिने संगिनी सुइ जस्तो नभइ दीर्घकालीन रूपमा काम लाग्ने हुनुपर्छ ।
कांग्रेसले आफूलाई प्रजातान्त्रिक समाजवादको अभियानमा होमोस् । बिपीले जनताको प्रत्येक छाप्रोमा दुध र भात खुवाउने सपना देख्नु भएको थियो, कांग्रेसको नाममा तल्लो तहको जनताको अधिकार नखोसियोस् । जनतालाई समृद्ध बनाउने अभियानमा कांग्रेसले भाँजो नहालोस् । कम्युनिस्टहरुलाई दिव्य सुझाव छ – वैचारिक रूपमा भाइ कांग्रेसमा रुपान्तरण हुनु नै दक्षिणपन्थ हो ।
प्रतिक्रिया