Logo

अर्थ

नवौं राष्ट्रिय खेलकुदका लागि ६० करोड बजेट पारित



काठमाडौं । नवौं राष्ट्रिय खेलकुदका लागि सरकारले विनियोजन गरेको ६० करोड बजेट पारित भएको छ । आगामी असोज २८ देखि मंसिर ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुने तय भएको खेलकुदका लागि शुक्रबार काठमाडौंमा बसेको नवौं राष्ट्रिय खेलकुद मूल आयोजक समितिको पहिलो बैठकले बजेट पारित गरेको हो ।

नवौं खेलकुदका लागि ९६ करोड बजेट आवश्यक गर्ने प्रस्ताव गरे पनि सरकारले ६० करोडमात्र विनियोजन गरेको थियो । समितिको बैठकले पहिलोपल्ट टिम च्याम्पियन ट्रफी प्रदान गर्ने निर्णय गरेको छ । १० लाख मूल्य लागतमा निर्माण हुने ‘रनिङ शिल्ड’ लगातार तीनपल्ट जित्ने टिमले आफूसँगै राख्न पाउनेछ ।

ट्रफीलाई ओलम्पिक टर्चसँगै सात प्रदेश र चार विभागमा भ्रमण गराउने पनि निर्णय भएको छ । आठौं राष्ट्रिय खेलकुदमा त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन भएको थियो ।

वैठकले मन्त्रिपरिषदबाट पारित भएको नवौं खेलकुद कार्यसन्चालन निर्देशिका अनुमोदन पनि गरेको छ । निर्देशिकाले राष्ट्रिय खेलकुद परिषदका अध्यक्षसमेत रहने युवा तथा खेलकुदमन्त्रीलाई मूल आयोजक समितिको संयोजक तोकेको छ । मन्त्री महेश्वरजंग गहतराजकै नेतृत्वमा शुक्रबार पहिलो वैठक बसेको थियो ।

बैठकले निर्देशिकाले परिकल्पना गरेका १४ वटा विषयगत उपसमिति निर्माण गर्ने जिम्मेवारी कार्यकारी समितिलाई दिने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार १८:३८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।