Logo

स्वास्थ्य

अमेरिकाले आज १५ लाख डोज खोप पठाउँदै, चीनबाट ल्याइएको सिधैं प्रदेशमा



अमेरिकाले नेपालका लागि कोरोना भाइरसविरुद्धको खोप आज पठाउने भएको छ । कोभिड १९ विरुद्ध जोन्सन एन्ड जोन्सनको १५ लाख डोज खोप अमेरिकाले नेपाललाई पठाउने भएको हो ।  

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्तालाई उदृत गर्दै समाचार एजेन्सी रोयटर्सले उल्लेख गरे अनुसार उक्त परिमाणको खोप शनिबार नेपाल आइपुग्नेछ ।

यसअघि, अमेरिकी राष्ट्रपति जो बाइडेनले विपन्न र गरिब मुलुकलाई ८० मिलियन डोज खोप उपलब्ध गराउने घोषणा गरेका थिए । सोही अनुरुप आज अमेरिकाले नेपाललाई खोप पठाउन लागेको हो ।  

चीनबाट ल्याइएको खोप प्रदेशमा

सरकारले चीनबाट खरिद गरेर ल्याएको कोरोनाविरुद्धको खोप प्रदेशको चिस्यान केन्द्रमा पठाउन थालेको छ । चीनसँग खरिद गरिएको ४० लाख भेरोसेल खोपमध्ये शुक्रबार ८ लाख मात्रा ल्याइएको छ । बाँकी खोप साउन पहिलो सातासम्म ढुवानी गरिसक्ने सरकारको योजना छ ।

काठमाडौंको टेकुस्थित भण्डारणमा भेरोसेल खोप करिब ६ लाख मात्रा मात्रै अट्ने र अमेरिकी सरकारले दिने घोषणा गरेको १५ लाख मात्रा खोप पनि भण्डारण गर्नुपर्ने भएकाले स्वास्थ्य सेवा विभागले प्रदेशको भण्डारणमा ढुवानी थालेको हो । चीनबाट ल्याइएको खोपमध्ये २ लाख मात्रा हेटौंडा र पोखरामा पठाइएको विभागको खोप शाखा प्रमुख डा. झलक गौतमले बताए । लुम्बिनीको बुटवलमा पनि चाँडै पठाइने विभागले जनाएको छ ।

सरकारले चीनको बेइजिङस्थित सिनोफार्म कम्पनीसँग खरिद गरेको ८ लाख मात्रा खोप आपूर्ति भएको स्वास्थ्य सेवा विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चीनबाट ल्याएको खोप अब ५५ वर्षमाथि उमेर समूहका नागरिकलाई लगाउने तयारी छ तर यसको योजना सार्वजनिक भएको छैन । अब कुन समूहलाई खोप लगाउने भन्ने सोमबारसम्म निर्णय भइसक्ने मन्त्रालयले जनाएको छ  । 

वैदेशिक रोजगारीमा जानेलाई गन्तव्य मुलुकले खोप लगाउन अनिवार्य गरेपछि त्यस्ता व्यक्तिलाई पनि लगाउने योजना सरकारले बनाइरहेको छ ।

भारत सरकारले १० लाख कोभिसिल्ड खोप अनुदान दिएपछि सुरु भएको अभियानमा शुक्रबारसम्म ३५ लाख ७६ हजार ३ सय १५ जनाले खोप लगाइसकेका छन् । यसमध्ये ९ लाख ६४ हजार ५ सय ८ जनाले दोस्रो मात्रा लगाइसकेका छन् । प्रदेश १ मा ७५ हजार ८ सय ४०, प्रदेश २ मा ५५ हजार ८ सय ५६, वाग्मतीमा ५ लाख ६० हजार ७८, गण्डकीमा ५६ हजार ७ सय ५६, लुम्बिनीमा १ लाख २१ हजार ३ सय ९९, कर्णालीमा ३३ हजार १ सय २५ र सुदूरपश्चिममा ६१ हजार ४ सय ५४ जनाले दोस्रो मात्रा खोप लगाएका छन् ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार ०६:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।