अमेरिकी सरकारले कोभ्याक्स परियोजनामार्फत उपलब्ध गराएको १५ लाख ३४ हजार ८ सय ५० डोज खोप काठमाडौं आइपुगेको छ । जोन्सन एन्ड जोन्सन कम्पनीले उत्पादन गरेको खोप कतार एयरवेजको विमानमार्फत सोमबार बिहान काठमाडौं ल्याइएको हो ।
दोहाबाट नियमित उडानका रुपमा आएको उक्त विमान ९:४७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जनाकारी दिएका छन् ।
विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राजदूत र्यान्डी बेरीले उक्त खोप अमेरिकी नागरिकका तर्फबाट नेपाललाई उपहार दिइएको बताएका छन् । राजदूत बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई उक्त खोप हस्तान्तरण गरेका हुन् ।
खोप हस्तान्तरण गर्दै राजदूत बेरीले भने, “यो अमेरिकी जनताका तर्फबाट उपहार हो । आज आइपुगेको एक मात्रा मात्र लगाए पुग्ने यो खोप नेपालका १५ लाखभन्दा बढी मानिसहरूलाई कोभिड १९ को घातक प्रभावबाट जोगाउनका निम्ति पर्याप्त हुनेछ ।”
पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री श्रेष्ठले उक्त खोप ५०-५४ उमेर समूहका नागरिकलाई लगाइने बताएका छन् । जोन्सनको ‘जेन्सेन एडी२६.सिओभी.२’ एक मात्रा लगाए पुग्ने खोप हो । यो खोपलाई पहिलो पटक गत फेब्रुअरीमा अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले आपत्कालीन उपयोगका लागि अनुमति प्रदान गरेको थियो । यो खोप १८ वर्षभन्दा माथि सबै उमेरका व्यक्तिलाई लगाउन सकिन्छ । विश्व स्वास्थ्य संगठनले यो खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।
यो खोप २ देखि ८ डिग्री सेल्सियस तापक्रममा वितरण गरिएपछि पुनः निम्न तापक्रममा राख्न मिल्दैन । गम्भीर एलर्जीको समस्या भएका व्यक्तिले यो खोप लगाउनु हुँदैन ।




















प्रतिक्रिया