काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय विशेष समितिले तोकिएको समयमा काम नसकिने भएपछि थप समय माग्ने भएको छ । समितिको आज बसेको बैठकले समय नपुगेको भन्दै ७ दिन म्याद थप गर्न सभामुखलाई आग्रह गर्ने निर्णय गरेको बताइएको छ ।
सभामुख अग्नि सापकोटाले संसदीय समितिलाई छानबिनका लागि १० दिनको समय दिएका थिए । त्यसमा आज आठौं दिन गुज्रिसकेको भए पनि छानबिनमा ठोस प्रगति भएको छैन । सीसीटिभीको हार्ड डिक्स परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाइएको र अझै केही व्यक्तिहरुको बयान लिन बाँकी नै रहेकोले समय अपुग भएको समितिका एक सदस्यले बताए ।
बयान सकेर फरेन्सिक ल्याबबाट सीसीटिभी रिकभर भएपश्चात मात्रै समिति निस्कर्षमा पुग्न सम्भव हुन्छ । त्यसका लागि थप केही दिन लाग्ने भएपछि समितिले सभामुखसमक्ष आग्रह गर्ने निर्णय गरेको हो । समितिले आजै अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत दुई पत्रकारसँग सोधपुछ पनि गरेका छ ।
समितिका सदस्यहरुले पत्रकारद्वय सुरेन्द्र काफ्ले र ममता थापासँग करिब साढे दुई घन्टा कुराकानी गरेका थिए । समिति सदस्यहरुको प्रश्नमा दुवै पत्रकारले आफूहरु समाचारको विश्वसनीयतामा निर्धक्क रहेको तर समाचारको स्रोत सार्वजनिक गर्न नमिल्ने बताएका छन् ।





















प्रतिक्रिया