काठमाडौं । नेकपा एमालेका नेता एवम् सांसद भीम रावलले देशको दीर्घकालिन अस्तित्व र हितसँग सम्बन्धित नागरिकताका विषयमा गठबन्धन सरकारको खेलबाड गरेको भन्दै आपत्ति जनाएका छन् । नागरिकताका विषयमा ४५ जना सांसदका ९४ संशोधन प्रस्ताव हुँदाहुँदै संसदीय समितिमा छलफल गर्न नदिएर गठबन्धन सरकारले हतार हतारमा विधेयक पारित गरेको रावलको टिप्पणी छ।
नेपालको संविधान बनाउने बेला प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले नेपाली नागरिकता लिनका लागि ५ देखि ७ वर्ष निरन्तर नेपालमा बसोवास गरेको हुनुपर्ने प्रावधान संघीय कानुनमा राख्ने भनेर सहमति गरेपनि अहिले उक्त सहमति लत्याइएको रावलको आरोप छ । ‘निहित सत्ता स्वार्थ पूर्ति गर्न वाह्य शक्तिप्रति भक्ति गर्दै नेपालको दीर्घकालीन अस्तित्वमाथि नै खतरा निम्त्याए । जनसंख्याको राजनीतिबाट नेपालको अस्तित्व र स्वाधीनतालाई क्रमशः सिध्याउने खेलका मतियार बने’, रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस्तो कार्य निन्दनीय छ।’
देशको हितका लागि गर्नुपर्ने काम गर्दै नगर्ने वा त्यसमा ढिलाई गर्ने, तर देश हितमा आँच पुर्याउने काम रातारात हतारमा गर्ने नेपालका शीर्ष भनिने नेताहरुको कारण नेपाल राज्य अत्यन्त कमजोर हुँदै गइरहेको रावलको भनाइ छ। उनले देशहित विपरीतका कामको सशक्त विरोध गर्न पनि आह्वान गरेका छन् ।
नेकपा एमाले, जनमोर्चा, नेमकिपा लगायका दलहरुका विरोधका बावजुद नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ शुक्रबार बहुमतले पारित भएको छ । प्रतिपक्षी दलले वैवाहिक अंगीकृत नागरिकतालाई ७ वर्ष समय राख्नुपर्ने भन्दै विधेयकको विपक्षमा मतदान गरेका थिए। सत्तापक्ष तथा प्रतिपक्षी दलका ४५ जना सांसदले ९४ वटा विषयमा संसोधन प्रस्ताव राखेका थिए ।
वैवाहिक अंगीकृत नागरिकता प्राप्तिमा समयसीमा राख्नुपर्ने विषयमा धेरै सांसदले संशोधन प्रस्ताव दर्ता गराएका थिए । विधेयकमाथिको दफावार छलफलपछि सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा सत्तापक्षका सांसदहरुले आफ्नो प्रस्ताव फिर्ता लिएका थिए । प्रतिनिधि सभाबाट पास भएको यो विधेयकले वैवाहिक अंगीकृत नागरिकता कसरी कुन विधिबाट दिने भन्ने व्यवस्था समेटेको छैन । यसबारेमा पछि राजनीतिक दलबीच छलफल गरेर टुङ्गोमा पुग्ने गृहमन्त्री बालकृष्ण खाणले बताएका छन् ।




















प्रतिक्रिया