काठमाडौं । मन्त्रिपरिषद् बैठकले अमेरिकी सेनाकाे स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेकाे एक महिनाभन्दा बढी समय भइसकेकाे छ । तर एसपीपी अस्वीकार गरेकाे विषयमा अमेरिकालाई औपचारिक पत्र पठाउन भने सरकारले आनाकानी गरिरहेकाे छ । मन्त्रिपरिषद् निर्णय गरे पनि पत्र पठाउने विषयमा सत्तारुढ घटकभित्रै दुई धार देखिएका छन् ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पत्र पठाउन दबाब बढाए पनि सत्तारुढ दलका प्रमुख घटक कांग्रेसले यसमा तत्परता देखाएकाे देखिँदैन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पछिल्लो गठबन्धनको बैठकमा पनि सो बारे प्रश्न उठाउँदै तत्काल अस्वीकार गर्ने पत्र पठाउन अनुरोध गरे पनि कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले वेवास्ता गर्ने गरेका छन् ।
‘केही दिन अघि पनि प्रचण्डजी र मैले प्रधानमन्त्रीलाई भेटेर एसपीपी अस्वीकार गर्ने पत्र अमेरिकालाई पठाउन पुन: अनुरोध गरेका थियौं तर उहाँले अझै पत्र पठाउनु भएको छैन’, अध्यक्ष नेपालले भने, ‘यो पत्र तत्काल पठाएर नेपाल असंल्गन परराष्ट्र नीतिको अडानमा रहनुपर्छ, कुनै सैन्य गठबन्धनमा रहनु हुन्न ।’ ‘विश्वको भु–राजनीतिक तनाव र नेपालको परिस्थिति’ विषयक विचार गोष्ठीमा आफ्नो अनुरोध प्रधानमन्त्री देउवाले अझै कार्यान्वय नगरेको गुनासो पोखेका नेपालले मन्त्रीपरिषद्को निर्णय कार्यान्वयन गर्दै अमेरिकालाई तत्काल पत्र पठाउन पुन: माग गरे ।
गत ६ असारमा बसेको मन्त्रीपरिषद् बैठकले एसपीपीलाई अस्विकार गर्ने निर्णय गरेको थियो । अमेरिकी सैन्य गठबन्धनको एक अंग भएको भन्दै तीव्र आलोचना भएपछि सरकारले मन्त्रिपरिषद् बैठकमार्फत सो सहमति नगर्ने निर्णय लिएको थियो । तर, सो निर्णय भएको एक महिना बितिसक्दा पनि देउवा सरकारले अमेरिकालाई सो सम्बन्धी पत्राचार नगरेपछि प्रचण्ड–नेपालले गठबन्धनको बैठकमा पनि सो प्रश्न उठाएका थिए ।
उता, एसपीपी अस्वीकार गर्ने मन्त्रिपरिषद्काे सो निर्णय कार्यान्वयन नभएपछि माओवादी केन्द्रले ५ साउनको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले रुलिङ नै गर्नुपर्ने मागसमेत गरेको थियो । आफूहरुकाे कुरा देउवाले नसुनिरहेकाे अवस्थामा प्रचण्ड र नेपाल समाजवादी केन्द्र निर्माणका लागि सक्रिय समेत बनेका छन् । यसलाई विश्लेषाकहरु अहिलेकाे सत्ता गठबन्धन लामाे समय टिक्दैन भन्ने संकेतका रुपमा लिन्छन् ।




















प्रतिक्रिया