निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयबाट प्रधानमन्त्रीको आधिकारिक ट्विटर अकाउन्ट (@PM_Nepal) ओली समूहले कब्जा गरेपछि देउवा प्रधानमन्त्री भएपछि नयाँ ट्विटर अकाउन्ट खोलिएको छ ।
प्रधानमन्त्री पदबाट बाहिरिएको तीन दिनपछि पनि पासवर्ड उपलब्ध नगराएपछि नयाँ अकाउन्ट खोलिएको हो । ओलीको सचिवालयलाई उक्त ट्विटर अकाउन्टको पासवर्ड माग गरिए पनि नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयलाई उपलब्ध गराइएन । पासर्वड हराएको भन्दै उपलब्ध नगराइएपछि सोही ह्यान्डल राखेर नयाँ अकाउन्ट खोलिएको छ । प्रयोगमा रहेको प्रधानमन्त्रीको आधिकारिक ट्वीटर अकाउण्टलाई अहिले @PM_nepal_KPoli नाममा कायम गरिएको छ ।
प्रधानमन्त्री फेरिएपछि स्वाभाविकरुपमा प्रधानमन्त्रीको आधिकारिक ट्विटरह्यान्डल हस्तान्तरण गरिनुपर्ने हुन्छ । तर, उपलब्ध नगराइएपछि @PM_Nepal नै राखेर नयाँ अकाउन्ट खोलिएको हो ।
नेपाली प्रधानमन्त्रीको नाममा ट्विटर अकाउन्ट (@PM_Nepal) सुशील कोइरालाको पालामा खोलिएको थियो । त्यसयता सोही अकाउन्ट पछिल्लो प्रधानमन्त्रीको सचिवालयलाई हस्तान्तरण हुँदै आएको थियो।
प्रधानमन्त्री फेरिएपछि अघिल्लो प्रधानमन्त्रीको पालामा गरिएका ट्विटलाई भने ‘डिलिट’ गर्ने गरिएको थियो । यो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक ट्वीटर ह्याण्डलका रुपमा प्रयोग हुँदै आएको थियो, जसलाई प्रधानमन्त्रीको निजी सचिवालयले चलाउने गरेको थियो ।
ह्यान्डल परिवर्तन गर्नुअघि भेरिफाइडसमेत भएको सो अकाउन्ट यसअघि देउवाको सचिवालयबाटै ओलीको सचिवालयलाई हस्तान्तरण भएको थियो । छ लाख ४७ हजार फलोअर्स रहेको ट्विटर अकाउन्टलाई ओलीको सचिवालयले ‘कब्जा’ गरेपछि नयाँ अकाउन्ट खोलिएको हो ।





















प्रतिक्रिया