Logo

प्रमुख समाचार

साना–साना काम गर्न हामीलाई किन अल्छी लाग्छ ?



साना–साना कामलाई पछिको लागि भनेर साँचेर राख्दा, पछि त्यही काम सबैभन्दा ठूलो तगारो बन्छ । थाहा हुँदाहुँदै पनि हामीले किन त्यस्तो गरिरहेका हुन्छौँ ?

आफूलाई मन नपर्ने सहकर्मीलाई मेल पठाउनुपर्ने काम होस् या कुनै साधारण पेपरवर्क अथवा कुनै फारम भर्नुपर्ने, सरसफाइ गर्नुपर्ने, आफु नजिककासँग छोटो कुरा गर्नुपर्ने लगायतका काम हामी केही कारणवश् पछिका लागि भनेर छोड्ने गर्छौँ ।

यस्ता काम थोरै समयमा सकिने भए पनि साँचेर राख्दा पछि झन्झट उत्पन्न हुन्छ । र, पछि हामी आफैँलाई प्रश्न गरिरहेका हुन्छौँ–मैले त्यो बेला किन गरिनँ ? भनेर । पछि त्यसैमा पछुतो मानेर हामी समयको थप बर्बादी गरिरहेका हुन्छौँ । काम समेत जहाँको त्यहीँ परिरहेको हुन्छ । यसरी लापर्वाहीपूर्वक छोडेको सानो काम पनि पछि गएर ठूलो तगारो बन्न पुग्छ ।

यसरी सानो काम भनेर छोड्दै जाने हो भने ति कामले हाम्रो मस्तिष्कमा धेरै ठाउँ ओगट्छ । तत्कालै गर्ने बानी गरे हामीले त्यस्ता काम सजिलै घटाउन सक्छौँ । अब यसका लागि पहिले हामी आफैँले कारण खोज्नु पर्दछ–कसरी त्यसलाई यति ठूलो हुन दियौँ ? यसरी हामीले कामलाई कुन रुपमा अपनाउछौँ भन्ने कुरामा ध्यान दियौँ भने मात्रै पनि समस्या समाधान हुन्छ, र दिमाग हलुका हुन्छ ।

इंग्ल्यान्डस्थित ‘युनिभर्सिटी अफ सेफिल्ड’की साइकोलोजी प्रोफेसर फुसिया साइरोइसका अनुसार गर्नु हुँदैन, गलत हो भन्ने थाहा हुँदाहुँदै पनि मानिसले तत्काल गर्नुपर्ने काममा ढिलाई र अल्छि गर्ने गरिरहेका हुन्छन् । उनी भन्छन्, “यहाँ विभिन्न थरीका मान्छे हुन्छन् जसमा कसैले त्यसरी पछिका लागि काम राख्नु यो कामका लागि राम्रो हुन्छ वा त्यो फाइदा गराउँछ भन्ने मानसिकता राख्छन् । तर, यसको परिभाषा अनुसार काम साँच्नु र अल्छि गर्नु कुनै पनि हिसाबले राम्रो होइन ।”

वास्तवमा पछिका लागि काम साँच्ने बानी परेका मानिसमा स्ट्रेसको स्तर उच्च हुने गर्दछ भने अपर्याप्त निद्रा लगायतले जागिरमा समेत प्रस्तुती खराब बन्न पुग्छ । मानसिक स्वास्थ्यका हिसाबले अल्छिपना र काम साँच्ने बानीलाई डिप्रेसन र एन्जाइटीसँग समेत जोडेर हेर्ने गरिन्छ । त्यसैका कारणले सम्बन्धहरु बिग्रने खतरा समेत उत्तिकै प्रबल हुन्छ । किन भने समयमा काम नसिध्याउँदा हामीले आफ्नो प्रतिबद्धता पूरा गर्न सक्दैनौँ ।

ठूल्ठूलो काममा केहीबेर ढिलाई हुनु स्वभाविक मानिन्छ । तर, साना तथा केही मिनेटमै सकिने कामलाई हामीले किन साँचेर राख्छौँ ? साइरोइसका अनुसार त्यस्ता काम हामीले बिर्सिएर होइन, थाहा पाएर पनि पेलिरहेका हुन्छौँ । जसले हामीमा लगातार डर, चिन्ता, असुरक्षा, शंका, क्षमताहीन भावना सिर्जना गरिरहेको हुन्छ । र, पनि हामी जानी–जानी त्यस्तो गरिरहन्छौँ ।

साइरोइसका अनुसार मानिसले स–साना काम पछिलाई साँच्नु पछाडि कमजोर समय व्यवस्थापनलाई कारण मान्दछन् । तर, वास्तवमा यो हाम्रो मुडका कारण हुने उनको भनाई छ ।

उनी भन्छन्, “त्यसरी साना काम बाँकी राख्नेहरु आफ्नो सबैभन्दा ठूला आलोचक हुन्छन् र आफ्नो त्यही बानीबारे अधिक चिन्ता गर्दागर्दै ढिला गर्न छोड्दैनन् ।” त्यस प्रकारको चिन्ता तिनीहरुको दिमागमा बसिरहने हुँदा यसबाट मस्तिष्क नराम्ररी प्रभावित हुने गर्दछ र समस्या समाधान गर्ने हाम्रो क्षमतामा ह्रास ल्याउँछ ।

यसपछि उनीहरु सोच्न थाल्छन् ः मलाई के भइरहेको छ ? मैले किन यति सानो काम पनि गर्न सकिरहेको छैन ? यसरी काम बिग्रिदै जाँदा उनीहरुमा नकारात्मक भाव बढ्दै जान्छ र समस्यालाई तार्किक रुपमा हेर्ने क्षमतामा लगातार बाधा पुग्दछ ।

साइरोइस भन्छिन्, “एक समय यो सानो कुरा थियो जसबारे हामी केही अनिश्चित मात्र थियौँ तर, अब यो एकदम ठूलो मुद्दामा परिणत भई हामीमा डर, त्रास अनि चिन्ता फैलाउँदैछ । एउटा सानो ढुंगा अचानक पहाड बन्न पुग्छ र हामीलाई नराम्ररी सताउँछ ।”

त्यस्तै साना कामबाट पन्छिन खोज्नुको अर्को सम्भावित कारण कडा समय सीमाको अभाव पनि हो । जस्तै कि हामीले यसलाई अरु कामकाबीच एकै छिनमा निप्टाउछौँ भनेर साँच्ने गर्दछौँ र लगातार त्यसलाई बेवास्ता गरिरहँदा अन्त्यमा हतारिएर गर्नु पर्दा त्यही काम ठूलो बन्न जान्छ र धेरै समय लाग्छ ।

समाधान के ?
तत्काल गर्न अल्छि लाग्ने साना कामहरु सिध्याउन आफूलाई कसरी प्रेरित गर्ने ? कार्लेटन युनिभर्सिटीका साइकोलोजी प्रोफेसर टिमोथी पाइसिलका अनुसार सबैभन्दा प्रभावकारी तरिका भनेको काम गर्नु अगाडि नसोचि तुरुन्तै थालिहाल्नु हो । गर्न मन छैन भनेर सोच्नु अगाडि नै काम गर्नतर्फ लाग्नुले सबै ठीक हुने उनी बताउँछन् ।

उनले अगाडि भने, “अर्कोपटक, यदि तपाईँको पूरै शरीर, मन मस्तिष्कले कुनै काम ‘गर्न मन छैन’ भनेर दबाब दिइरहेको छ भने त्यो समय आफूले आफूलाई प्रश्न गर्ने गर्नु, यदि मैले यो काम गरेँ भने सबैभन्दा पहिले कहाँबाट सुरु गर्नुपर्छ होला ? यसरी आगामी कदमबारे पहिले सोच्नुले नकारात्मक भावनाबाट हाम्रो ध्यान हटेर काम गर्नतर्फ केन्द्रित गराउनेछ ।”

‘अमेरिकन प्रडक्टिभिटी कन्सल्टेन्ट’डेभिड एलेनले यसलाई ‘दुई मिनेट रुल’को नाम पनि दिएका छन् । उनका अनुसार कुनै पनि काम दुई मिनेट वा यो भन्दा कम समयमा सकिने किसिमको छ भने त्यसलाई पछिका लागि राख्नुले बेकार बढी समय खर्च गराउँछ । त्यसैले यस्ता काम तत्कालै गरिहाल्नुपर्छ ।

पाइसिलले आफ्नो युनिभर्सिटीका विद्यार्थीमा गरेको एक खोजले सुरुमा गाह्रो र जटिल लागेपनि काम सुरु गरेपछि त्यो कठिन लाग्ने छैन भन्ने देखाएको थियो । र, पछि गर्नुको तुलनामा पहिल्यै सम्पन्न गर्दा तनाव निकै कम हुन्छ । त्यसैले यसबाट के प्रमाणित हुन्छ भने वास्तवमा हामीलाई अल्छि लाग्नु वा गाह्रो लाग्नु पछाडिको कारणः काम भन्दा पनि हाम्रो आन्तरिक भावनाले त्यसलाई कठिन बनाइदिएको हुन्छ ।

पाइसिलका अनुसार भावनात्मक प्रतिक्रिया कम गर्नतर्फ जोड दिनुले हामीलाई स–साना कामहरु व्यवस्थित गर्न मद्दत गर्नेछ । सानो कुरा साँचेर राख्दा पछि त्यही हाम्रो दिमागमा ठूलो बन्न पुग्छ । र, हामीले त्यसमा आवश्यक भन्दा बढी ऊर्जा खर्च गरेर प्रतिक्रिया दिने गर्दछौँ । जसले हामीमा नकारात्मक भाव पलाउँछ र आफैँमा तनावग्रस्त बन्न पुगिन्छ ।

त्यस्तै अर्को उपाय सानो कामलाई हाम्रो साधारण दैनिकीमा अटाउने प्रयास गर्ने । पाइसिलले उदाहरण दिँदै भने, ‘‘मलाई बिहान खाने ओट्स पकाउन सधैँ १५ मिनेट लाग्ने गर्दछ र त्यही समयमा मैले मेरो घर भ्याकुम गरि सफा गर्न सक्छु । यसो गर्नाले समय बर्बाद भएको महसुस हुँदैन र नकारात्मक भावबाट पनि टाढा रहन सकिन्छ ।’’

पाइसिल र साइरोइस दुवैका अनुसार यसमा सबैभन्दा महत्वपूर्ण भनेको आफूमाथि धेरै हावी नहुनु, आफूलाई सबै कुराका लागि दोषी ठान्ल्ने र स्ट्रेस नलिनु पनि हो ।

प्रकाशित मिति : श्रावण १०, २०७९ मंगलबार  ४ : १८ बजे