काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौं आइपुगेका छन् ।
दक्षिण तथा मध्य एसियाली ममिलासम्बन्धी सहायक विदेशमन्त्री लू बिहीबार काठमाडौं आइपुगेका हुन् ।
नयाँ दिल्ली हुँदै काठमाडौं आइपुगेका लूले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई भेट्ने तय भएको छ । नेपालस्थित अमेरिकी दूतावासले लूको नेपाल भ्रमण नियमित भएको जनाएको छ ।
यस्तै, सहायकमन्त्री लुले व्यापार, नागरिक समाज र सरकारका नेतृत्वकर्तासँग पनि भेटघाट गर्ने दूतावासले जनाएको छ ।
नेपाल सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई अघि नबढाउने निर्णय गरेको एक महिनापछि लुले नेपालको भ्रमण गरेका हुन् । सरकारले असार ६ मा एसपीपीलाई अघि नबढाउने निर्णय गरेको थियो । तर सरकारले हालसम्म अमेरिकालाई औपचारिक रुपमा पत्राचार गरेर जानकारी समेत गराइसकेको छैन ।
लुले मंसिरमा नेपालमा भ्रमण गर्दा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन भएको थिएन । उनले उक्त भ्रमणका दौरान नेपालको राजनीतिक र कूटनीतिक तहमा एमसीसी सम्झौतालाई अघि बढाउने सम्बन्धमा संवाद गरेर फर्केका थिए । नेपालको संसदले फागुन १५ मा एमसीसीलाई १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित संसद्बाट पारित गरेको थियो ।




















प्रतिक्रिया