Logo

प्रमुख समाचार

निर्वाचन आयोगले प्रचण्डलाई सोध्यो स्पष्टिकरण



काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई स्पष्टीकरण सोधेको छ ।

अध्यक्ष प्रचण्डले एक सार्वजनिक कार्यक्रममा सांसद बन्न करोडौं रुपैयाँ खर्च हुने अभिव्यक्ति दिएपछि आयोगले उनलाई पत्र काटेको हो । आयोगले काटेको पत्र हुलाकमार्फत पठाइएको आयोग स्रोतले जनाएको छ ।

गत सोमबार एक कार्यक्रममा प्रचण्डले अहिलेको निर्वाचन प्रणालीका कारण भ्रष्टाचार नियन्त्रण हुन नसकेको तर्क गरेका थिए । सांसद बन्न नै करोडौं खर्च हुने भन्दै उनले मन्त्री भएर त्यसको लगानी उठाउने प्रवृत्ति बढेको बताएका थिए ।

‘करोडौं खर्च गरेर किन सांसद हुन्छन् भने सांसद नभई मन्त्री हुन पाउँदैनन्। सांसद नभई प्रधानमन्त्री हुन पाइँदैन । मन्त्री र प्रधानमन्त्री हुन करोडौं खर्च गर्नुपर्यो । सांसद भइसकेपछि मन्त्री हुन अनेक खेल खेल्नुपर्यो । मन्त्री भइसकेपछि लगानी उठाउनुपर्यो । भ्रष्टाचार यही प्रणालीभित्र छ,’ उनले भनेका थिए।

गाउँपालिकाकै निर्वाचनमा १० करोड खर्च गरेर जितेको रिपोर्ट आफूले पाएको उनले बताएका थिए । प्रदेश र केन्द्रको निर्वाचनमा अर्ब खर्च हुने संकेत देखिएको प्रचण्डको भनाइ थियो । ‘यो निर्वाचन प्रणालीबाट क्रान्तिकारीले जित्ने त सपना भयो । दलाल पुँजीपति र भ्रष्टाचारी जितेर आउने भए,’ उनले भने ।

आन्दोलनको रापताप रहेको २०६२–०६३ ताका माओवादी भनेपछि जसले पनि जित्ने अवस्था रहेको बताउँदै उनले अब भने धेरै पैसा खर्च गर्न नसकेन नजितिने निष्कर्ष आफूले निकालेको बताएका थिए ।

गत चैतमा निर्वाचन आयोगले नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशांक कोइरालालाई पनि चुनावी खर्चसम्बन्धी अभिव्यक्तिबारे स्पष्टीकरण सोधेको थियो । कोइरालाले एक कार्यक्रममा ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा आफूले ६ करोड खर्च गरेर निर्वाचन जितेको अभिव्यक्ति दिएका थिए ।

‘मैले तीनचोटि नवलपरासी–१ बाट चुनाव जितें। पहिलो चुनावमा मेरो खर्च ८० हजार थियो । दोस्रोमा तीन करोड र पछिल्लो ०७४ को चुनावमा ६ करोड पुग्यो । ल भन्नुस्– तपाईंहरू कोही मेरो क्षेत्रबाट चुनाव लड्न चाहनुहुन्छ ? म छोडिदिन तयार छु । तपाईंले कम्तीमा ६–७ करोड खर्च गर्नुपर्छ ।’

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार २१:२७   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।