काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफ्नो पार्टी दोस्रो बन्ने र देशको बागडोर सम्हाल्ने गरी अगाडी बढेको बताएका छन् । शनिबार माओवादी केन्द्रको सम्पर्क समन्वय विशेष प्रदेश समितिको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने र कम्युनिस्ट शक्तिहरूमा माओवादी केन्द्र पहिलो बनाउने गरी आफूहरू लागेको बताए ।
‘कम्तीमा पनि लेफ्ट मोमेन्टको पहिलो हुने हो, मैले कांग्रेसका नेताहरूलाई पनि भनेको छु । अहिले सायद पहिलो तपाईँहरू नै हुनुहुन्छ । त्यो देखिन्छ पनि । दोस्रो चाहिँ माओवादी केन्द्र हुनुपर्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘त्यसमा सहयोग गर्ने हो, भने सबै सहज जान्छ, होइन भने जाँदैन ।’
यस विषयमा गठबन्धन दलका नेतृत्वमा समझदारी रहेको पनि उनले बताए । ‘यसमा कम्तीमा नेतृत्व तहमा राम्रो समझदारी छ । तपाईँहरू ढुक्क हुनुस गडबड हुन दिइँदैन यो पटक स्थानीय तहको जस्तो,’ उनले भने । यसो हुँदा देशको बागडोर आफ्नो हातमा आउने उनले बताए । उनले भने, ‘त्यसपछि देशलाई यसरी विकास, सुशासन र यसरी समृद्धि हासिल गर्न सकिन्छ भनेर देशलाई देखाउनु छ ।’
व्यक्तिगत रूपमा आफ्नो यो निर्वाचन ‘लास्ट इनिङ’ रहेको अध्यक्ष प्रचण्डले बताए । ‘मेरो भन्ने हो भने लास्ट इनिङ होस् र लास्ट इनिङ पछि सम्मको सन्ततिलाई सम्झने गरी होस् भन्ने गरी देशलाई केही दिने गरी मेरो सपना छ’, उनले भने । स्थानीय चुनावमा नै माओवादी केन्द्र दोस्रो पार्टी हुने अवस्थामा आफ्नै पार्टीभित्रका घात अन्तर्घातले असर गरेको उनले बताए ।




















प्रतिक्रिया