तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा रहँदा विपक्षीहरुले गरेको आलोचनामाथि आक्रमण गर्नका लागि साइबर सेना गठन गरेका थिए । उनले आफ्ना पार्टीका कार्यकर्तालाई प्रयोग गरेर महेश बस्नेतको नेतृत्वमा ७७ वटै जिल्लामा साइबर सेना गठन गरेका थिए ।
ती साइबर सेनाले ओली र ओली समूहको विरोध गर्नेहरुमाथि सामाजिक सञ्जाललगायतका प्लेटफर्ममार्फत आक्रमण गर्ने गरेका थिए । तर, साइबर सेनाले पनि ओलीको प्रधानमन्त्री पद जोगाउन सकेनन् र उनी ०७८ असार २९ गते सत्ताबाट बाहिरिए ।
प्रतिपक्षमा पुगेपछि नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले ‘आईटी आर्मी’ घोषणा गर्न लागेका हुन् । नेकपा एमालेका केन्द्रीय सदस्य प्रभु साहको ‘आईटी आर्मी’ नामको संगठन गठन गरिएको छ । १५१ सदस्यीय सो संगठनले आइटी क्षेत्रबाट पार्टीका गतिविधिहरु निगरानी गर्ने साहले बताए ।
मंगलबार दिउँसो भक्तपुरको लोकन्थलीस्थित एक पार्टी प्यालेसबाट उक्त संगठन घोषणा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् । ‘आईटी आर्मी’का प्रदेश कमिटीहरू १०१ सदस्यीय प्रस्ताव गरिएको छ । यस्तै जिल्ला कमिटी ५१ सदस्यीय तथा पालिका कमिटी ३३ सदस्यीय प्रस्ताव छ ।
एमाले पार्टीलाई थप गति प्रदान गर्न यो संगठन बनाइएको साहले बताएका छन् । यसअघि एमालेमा युथ फोर्स र साइबर सेनाहरु पनि सक्रिय छन् ।
प्रतिक्रिया