Logo

टिप्पणी

आगामी चुनावमा तीन ठूला दलको आ-आफ्नै स्वार्थ र रणनीति



चुनाव अगावै गठबन्धन टुट्ने ओलीको अनुमान, गठबन्धनबाटै फेरि फाइदा लिने देउवाको दाउ, प्रधानमन्त्री बन्ने प्रचण्डको योजना

काठमाडौं । सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव मंसिर ४ गते गर्ने निर्णय गरेको छ । बिहीबार मन्त्रिपरिषद्को बैठकबाट सरकारले निर्वाचन आयाेगले सिफारिस गरेभन्दा दुई दिनपछि (मंसिर ४) दुवै चुनाव एकै चरणमा गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगले आगामी मंसिर २ गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन गर्न सकिने सुझाव सरकारलाई दिएको थियो ।

आगामी निर्वाचनमा दलहरुको आ—आफ्नै रणनीति र स्वार्थहरु देखिएका छन् । विशेषगरी पाँच दलीय सत्ता गठबन्धनलाई भागभण्डा मिलाउन निकै चुनौतीको विषय बनेको छ । नेपाली कांग्रेसका नेताहरुले पार्टीलाई फाइदा हुने गरी गठबन्धनमा सिटको भागभण्डा मिलाउन सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिन थालेका छन् भने गठबन्धनका अन्य घटकहरु स्थानीय तहको निर्वाचनमा कांग्रेसले धोका दिएको भन्दै आगामी निर्वाचनमा त्यसो हुन नदिन लागिपरेका छन् । स्थानीय तह निर्वाचनमा स्थानीय आवश्यक्ताको आधारमा गठबन्धन गरेर निर्वाचन लडेका दलहरुलाई आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा भने कुन आधारमा गठबन्धन गर्ने भन्ने उपाय निकाल्न निकै कठिन हुने देखिएको छ ।

सत्ता गठबन्धनमा सिट बाँडफाँडको विषय पेचिलो बन्ने देखिएका बेला प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने गठबन्धन टुटेको हेर्न चाहान्छ । समय—समयमा वाम एकताको पनि चर्चा हुने गरेको छ । गठबन्धनकै कारण स्थानीय निर्वाचनमा सिट संख्याको आधारमा दोस्रो हुन पुगेको एमाले आगामी निर्वाचनमा सत्ता गठबन्धन टुटेमा फेरि पहिलो पार्टी बन्ने दाउनमा छ । तर ओलीसहित एमालेको सबै क्षेत्रमा हार देख्न चाहेको सत्ता गठबन्धन सानातिना विवादकै कारण टुट्ने अवस्थामा छैन । एमाले नेताहरुले गठबन्धनलाई हराएर सत्तामा जाने दाबी गर्दै आएका छन् । तर गठबन्धन कायमै रहँदा एमालेको सत्तामा जाने सपना साकार नहुने देखिन्छ ।

एमालेले स्थानीय तहमा पनि केही स्थानमा साना दलहरुसँग तालमेल गरेको थियो । तर त्यसको परिणाम एमालेका लागि त्यति लाभदायक भएन ।

स्थानीय तह निर्वाचन सकिए लगतै प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सरगर्मी सुरु भएको थियो । चुनावकाे मिति घाेषणासँगै अब थप माहोल तात्दै जाने छ । त्यसकाे न्यानाेपन तपाईँ/हामी सबैले ताप्दै जाउँला ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन लामो समयसम्म जाने नेकपा माओदावी केन्द्रको महाधिवेशनमा बताएका थिए । धेरै नबोल्ने र बोलेका कुरा सकेसम्म पुरा गर्ने स्वभावका देउवाले एमसीसी परियोजना संसदबाट पास गर्ने समयमा र स्थानीय निर्वाचन अगाडि टुट्नै लागेको गठबन्धन बचाउन सफल हुँदै आएका छन् । पार्टीमा स्थानीय निर्वाचनमा गठबन्धन गर्न हुँदैन, भन्ने आवाज धेरैले उठाए पनि देउवाले गठबन्धनलाई कायमै राखेर स्थानीय तह निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन सफल भएका छन् । आगामी निर्वाचनमा पनि गठबन्धन गर्न नहुने कांग्रेसका केही शीर्ष नेताहरुले भन्दै आएका छन् । निर्वाचनमा गठबन्धन कायमै राख्न नसक्दा एमालेसँग पराजित हुन पर्ने देउवाको बुझाइ छ । यो अभिव्यक्ति उनले सार्वजनिक कार्यक्रमहरुमा नै दिँदै आएका छन् ।

आगामी निर्वाचनमा गठबन्धनलाई नटुटाई स्थानीय तहमा जसरी नै जित हासिल गरेर पहिलो पार्टी बन्ने र फेरि प्रधानमन्त्री चलाउने देउवाको रणनीति छ । तत्कालीन नेकपाकाे विभाजनपछि नेपाली कांग्रेसलाई अवसरैअवसर प्राप्त भएको छ । तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि कम्युनिस्ट दलहरुकै साहयोगमा नेपाली कांग्रेसले सत्ताकाे चाबी पाएकाे हाे । त्यसैकारण ओलीले सत्ता गठबन्धनका दलहरु कम्युनिस्ट नभएको टिपणी गर्दै आएका छन् । केही दिन अगाडि मात्रै वाम एकताको चर्चा हुँदा ओलीले कांग्रेसको पछि लाग्नेहरु कम्युनिस्ट नभएको भन्दै वाम एकता गर्न कांग्रेसको पुच्छर बन्न छाडेर आउन आह्वान पनि गरेका थिए ।

नेपालको तेस्रो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आगामी निर्वाचन पश्चात कांग्रेस र माओवादीले आलोपालो प्रधानमन्त्री चलाउने प्रस्ताव सार्वजनिक कार्यक्रममा नै राखेका छन् । उनले चुनावमा दाेस्राे ठूलाे शक्ति बन्न सघाउन समेत कांग्रेससँग आग्रह गरेका छन् । नभए पनि सत्ता गठबन्धनको दोस्रो ठूलो दलको हैसियतले आलाेपालाे सरकारकाे नेतृत्व गर्नु उपयुक्त हुने उनकाे धारणा छन् । गठबन्धनकै टेकाे मानेर सबै दल तथा दलका शीर्ष नेताहरुले ठूला आकांक्षा राखेका छन् । तर सत्ता गठबन्धनको आयु कहाँसम्म हो ? भन्ने यकिन गर्न भने सम्भव छैन ।

आगामी निर्वाचनबाट कुन पार्टीलाई कस्ताे नतिजा प्राप्त हुने हाे भन्ने विषयमा चर्चा परिचर्चा सुरु भएको छ । निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरु पनि प्रतिस्पर्धामा आउँदै छन् । कतिले उम्मेदवारी नै घाेषणा गरेर तयारीमा जुटेका छन् त कतिपय अघाेषित रुपमै तयारीमा व्यस्त छन् । तसर्थ आगामी निर्वाचन निकै रोचक बन्ने देखिएको छ । स्थानीय तह निर्वाचन सकिए लगतै प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सरगर्मी सुरु भएको थियो । चुनावकाे मिति घाेषणासँगै अब थप माहोल तात्दै जाने छ । त्यसकाे न्यानाेपन तपाईँ/हामी सबैले ताप्दै जाउँला ।

प्रकाशित मिति : श्रावण १९, २०७९ बिहीबार  ६ : ०१ बजे