Logo

टिप्पणी

‘…फलस्वरुप, ल्होत्से सहकारी दिनप्रतिदिन मालामाल, सरकार कंगाल’



भक्तपुर । वि.स. २०५४ सालमा काठमाडौंको नगरपिता केशव स्थापित हुँदा गोगंबुको एकसय ६१ रोपनी जनताको जग्गा नेपाल सरकारले नयाँ बसपार्क बनाउने भनेर अधिकरण गर्‍यो । जग्गाधनीलाई थोरै रकम दिएर सरकारले जग्गा आफ्नो नाममा ल्यायो । त्यहाँबाट विस्थापित भएका उनीहरु मरे कि बाँचे कसैलाई अत्तोपत्तो छैन । देशैभरका गाडी छुट्ने बसपार्कको खाँचो ओल्याउँदै जापान सरकारले त्यत्तिकै नयाँ बसपार्कको निर्माण गरिदियो । त्यतिखेर स्थापितले आफू नगरपिता भएको फाइदा उठाउँदै ४५ वर्ष ल्होत्से सहकारीलाई उक्त बसपार्क सञ्चालन गर्न दिने भनेर सम्झौता गरे ।

यहाँ अर्बौं रुपैयाँको चलखेल भयो । हरेक पाँच वर्षमा नवीकरण वा टेण्डर आह्वान गरेर अर्को व्यक्तिलाई सञ्चालन गर्न दिनुपर्ने कानूनी व्यवस्था भए पनि स्थापितले एउटै व्यक्तिलाई यत्रो वर्ष भाडा वा लिजमा बसपार्क सञ्चालन गर्ने अनुमति दिए । एक सय ६१ रोपनीमध्ये जम्मा ६५ रोपनी जग्गामा बसपार्क सञ्चालनमा छ । अन्य सबै जग्गामा भवन निर्माण गरेर भाडामा लगाइएको छ । त्यहाँभित्रको २५ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा नामसारी भइसकेको छ । महानगरपालिका र वडाले व्यक्तिको नाममा गएको जग्गा फिर्ता ल्याउन चासो देखाएको छैन । अर्कोतिर, यत्रो वर्षदेखि जग्गाको नापजाँच गरिएको छैन ।

ल्होत्से सहकारीले पूरा बसपार्क र बाँकी जग्गा गरेर महानगरलाई वार्षिक ९० लाख रुपैंया भाडा तिर्छ । बसपार्क बनाइदिने जापान सरकार, ल्होत्सेको त शुको पनि लगानी छैन । विनालगानी ल्होत्सेले करौंडौं आम्दानी गरिरहेको छ । वार्षिक ९० लाख भाडा तिर्ने ल्होत्सेको आम्दानी नै पाँच करोड छ । बसपार्कभित्र छिर्नेबित्तिकै एउटा गाडीबाट हजार रुपैयाँ असुल्छ । अनि लोकल गाडीको तीन सय रुपैंया लिन्छ । एउटा गाडी पार्किङ गरेबापत दैनिक छ सय रुपैयाँ लिने गरेको छ । यात्रुले टिकट काटेको रकमबाट २० प्रतिशत कमिशन लिन्छ । दुई हजार रुपैयाँको टिकट काट्यो भने चार सय त ल्होत्सेले उठाउँछ ।

बसपार्कभित्र २० हजारदेखि तीन लाखसम्म मासिक भाडा सटरको निर्धारण गरेको छ, ल्होत्सेले । खाली सटर २५ लाखदेखि ६० लाखसम्म खरिदबिक्री गर्छ । त्यहाँ व्यापार गर्न खोज्नेसँग तीन महिनाको भाडा पहिल्यै असुल्छ । सरकारको सम्पत्तिमा ल्होत्सेको रजाइँ छ अहिले । फलस्वरुप ल्होत्से सहकारी दिनप्रतिदिन मालामाल, सरकार कंगाल ।

नगरपिता हुँदाखेरि सरकारी जग्गा हिनामिना गर्ने, भ्रष्ट्राचार गर्नेलगायतका काम गरेको हुनाले हालै मात्र सम्पन्न स्थानीय चुनावमा जनताले स्थापितलाई विस्थापत गराइदिए ।

नगरपिता हुँदाखेरि सरकारी जग्गा हिनामिना गर्ने, भ्रष्ट्राचार गर्नेलगायतका काम गरेको हुनाले हालै मात्र सम्पन्न स्थानीय चुनावमा जनताले स्थापितलाई विस्थापत गराइदिए । स्थापितभन्दा अघिका मेयर पेल सिंह, नानीमाया दाहालले पनि थुप्रै सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरिदिएका छन् । यता, सिर्जना सिंहलाई महानगरवासीले आफ्नो अभिभावक बनाउन चाहेनन् । बरु, स्वतन्त्रबाट उठेका बालेन्द्र (बालेन) साहलाई अत्याधिक मत दिएर जिताइदिए । बालेनप्रति जनताको धेरै अपेक्षा छ । सरकारी जग्गा फिर्ता ल्याउलान् र महानगरवासीको हितमा काम गर्लान् भन्ने आशा बोकेर उनीहरु बसेका छन् ।

ल्होत्सेले ठूल्ठूला राजनीतिक पार्टीलाई चन्दा दिएको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई ल्होत्से सहकारीले पोसेको छ । उता, यातायात व्यवसायी र मजदुर संगठनहरुले पनि यहाँबाट पैसा खाएका छन् । राजनीतिक पार्टीलाई चुनौती दिएर नगरिपिता मेयर साहले ल्होत्सेको सम्झौता तोड्न सक्लान् ? अहिले यस विषयमा जानकार सर्वसाधारणको मन उब्जिएको प्रश्न हो यो । महानगर र ल्होत्सेको सम्झौता खारेज गरेर नयाँ टेण्डर आह्वान गर्ने हो भने मासिक तीन करोडसम्म भाडा तिर्ने आउँँछन् । यसो हुँदा व्यक्तिको खल्तीमा एक शुको पनि जान पाउँदैन । राजनीतिक दल र विभिन्न व्यक्तिलाई पोस्ने काम बन्द हुन्छ । यो निर्णय गर्न सक्ने आँट नगरपिता बालेनसँग छ ? नयाँ बसपार्क त एउटा उदाहरण मात्र हो ।

हरेक वडामा गुठी र सरकारी जग्गा व्यक्तिको नाममा गएको छ । नवनिर्वाचित जनप्रतिनिधिहरुले व्यक्तिको नाममा गएको मठमन्दिर, गुठी र सरकारी जग्गा फिर्ता ल्याउन सक्छन् ? रिबन काट्न तिर होइन, बरु आफ्नो वडा र नगरमा भएको सम्पत्ति खोजतलास गर्नतिर लाग्दा सबैको भलो होला । हेर्दाहेर्दै मासिएको ढुंगेधारा, कुवा, पार्टीपौवा जनप्रतिनिधिहरुले फिर्ता ल्याउन सक्छन् । तालपोखरी पनि व्यक्तिको नाममा गएको छ भन्दा पनि अचम्म लाग्छ । पार्टीपौवा मासेर बस्ने घर ठड्याइएको छ । हाम्रो पुर्खाहरुले साँजेको सम्पत्ति फिर्ता ल्याउने जिम्मा अबका जनप्रतिनिधिहरुको हो ।

कति जनताको हितमा काम गर्ने जनप्रतिनिधिहरु पनि आएका छन् । उता, जग्गा दलाली र ठेकेदार पेशाबाट आएकापनि जनप्रतिनिधि बनेका छन् । अब यिनीहरुले आफ्नो पृष्ठभूमि बिर्सिनुपर्छ । अझैपनि ठेक्कापट्टा र जग्गा दलाल गर्ने हो भने अस्तित्व नै मेटिन सक्छ भनेर विचार पु¥याउन जरुरी छ । यता, सञ्चारकर्मीहरु पनि पार्टीगत हिसाबमा चल्दा सरकारी सम्पत्ति दुरुपयोग हुन पुगेको छ । सञ्चारकर्मीहरु अटल हुन नसक्दा जनप्रतिनिधिहरु मोटाएका छन् । नेपालका सबैजसो मिडिया हाउसले कुनै न कुनै राजनीतिक पार्टीप्रति आस्था राख्ने गरेका छन् । जसको कारण मुलुकमा विकृति झन् मौलाउँदै गएको छ ।

बालेनले न पैसाले भोट किनेका हुन्, न काठमाडौंबासी बिकेका हुन् । उनीहरु त चेतनशील छन् । आफ्नो क्षेत्रको हित हेरेर, धेरै सोचविचार गरेर मात्र उनलाई भोट दिएका हुन् ।

मेयर बालेनले जनताको घरदैलोमा पुगेर म भ्रष्ट्राचार गर्दिन । तलबभत्ता, सेवासुविधा केही पनि लिन्न । मेरो पुख्यौली सम्पत्ति नै टन्न छ । म जनता र राष्ट्रको हितमा काम गर्छु लगायतका बाचा गरेका थिए । अब ती बाचाहरु साबित गर्ने बेला भइसकेको छ । आफूले गरेको बाचा पूरा गर्न सक्छन् कि सक्दैनन् (?) त्यो भने हेर्न बाँकी छ ।

मठमन्दिरको छेउछाउमा भएको जग्गा भाडामा लगाएर व्यक्तिहरुले कमाइरहेका छन् । व्यक्ति पैसा कमाउने तर राज्य हेरेको हेर्‍यै । राज्य हिजो पनि रित्तो थियो, आज पनि रित्तै छ । तिर्खा लाग्दा पानी पिउनुप¥यो भने ३० रुपैंया तिर्नुपर्ने बाध्यता छ । पैसा नहुनेले प्यास मेट्न पानी पनि पाउँदैनन् । भएका छ सय ३४ वटा ढुंगेधारा मासेर घर बनाइयो । उता, थकाइ लाग्यो भने एकछिन बस्छु भन्दा पनि पाइदैन । पार्टीपौवा सबै मासिसकेका छन् । कहाँ गएर थकाइ मार्नु ? नगरपिता बालेनबाट आशा धेरै छ, निराश पार्ने काम नहोस् ।

बालेनले न पैसाले भोट किनेका हुन्, न काठमाडौंबासी बिकेका हुन् । उनीहरु त चेतनशील छन् । आफ्नो क्षेत्रको हित हेरेर, धेरै सोचविचार गरेर मात्र उनलाई भोट दिएका हुन् । मधेशी मूलको एउटा नागरिकलाई जनताले विश्वास गर्नु भनेको निकै ठूलो विषय हो । यसलाई नगरपिता बालेनले ख्यालख्याल ठान्नुहुन्न । काठमाडौंवासीको हित सोचेर अघि बढे भने अर्कोपटक पनि जनताले उनलाई नै आफ्नो अभिभावक चुन्नेछन् । कर उठाउनेदेखि लिएर सरकारी सम्पत्ति संरक्षणमा उनी जुट्नुपर्छ । उनले कतिको काम गर्न सक्छन् भन्ने पर्खाइमा सबै जना छन् । उनलाई काम गर्न पनि निकै नै चुनौती छ । तर, चुनौतीलाई पन्छाउँदै उनी अघि बढ्नुपर्छ ।

यतिखेर वडाध्यक्षहरु बालेनसँग आगो भएका छन् । भन्छन्– हाम्रो वडामा आउनुअघि हामीलाई पहिल्यै जानकारी गराउनु । वडाध्यक्ष ठूलो कि मेयर ? वडाध्यक्षहरु ऋाफूलाई मेयरभन्दा ठूलो ठान्छन् । मेयरलाई निर्देशन दिने अधिकार वडाध्यक्षलाई कसले दियो ? एउटा वडाको जनताले भोट दिएर उनी मेयर भएका हुन् र ? समग्र वडाको जनताले भोट दिएर उनी मेयर भएका हुन् । वडाअध्यक्षहरुले आफैलाई महान ठान्दै दादागिरी देखाउने काम तत्काल बन्द गर्नुपर्छ ।

निवर्तमान मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्काको सिको नगरुन्, मेयर बालेन र उपमेयर सुनिता डंगोलले । मेयर बालेनको काम गर्ने क्षमतातिर अहिले सबैको चासो छ । अब उनले काठमाडौंको रुप फेर्न सक्छन् कि सक्दैनन्, हेर्न बाँकी नै छ । समयले बताउला ।

प्रकाशित मिति : श्रावण २८, २०७९ शनिबार  ३ : ४४ बजे