Logo

प्रमुख समाचार

आफ्नै गुँडमा फर्केका ‘बिक्रम’



प्रतीक्षा गर मेरी मायालु
समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ’

बिक्रमको लागि यो गीत, गीतमात्र होइन । यही गीतमा उनको जीवनको लय भेटिएको छ । सायदै उनले विचार गरेका छन् वा छैनन् तर बिक्रमलाई भेटिरहँदा यो पङ्तिकारलाई भने यही लागेको हो ।

साहित्यमा बिक्रम आएका होइनन् किनकि उनी साहित्यभन्दा बाहिर थिएनन् । बिक्रमको साहित्यप्रतिको चेत भने मसिना अक्षरको चिनजानबाट नै सुरु भएको हो । घर र मामाघरको दूरी टाढा थिएन । दूरी टाढा नभएपछि उनलाई मामाघर पुग्न र फर्कन कुनै आइतबार पर्खनुपर्ने थिएन । हुन त मामाघर शब्द आफैँमा प्रिय हो । तर बिक्रमको लागि त्योभन्दा प्रिय बनिदियो ‘पुस्तकसँगको प्रेम’ । त्यही पुस्तकले उनलाई तानिरह्यो मामाघर । मामाघरमा भेटिने पुस्तकले बिक्रमलाई सुकुनको सास फेर्न सहज बनाउँथ्यो ।

इन्जिनियर भएर नक्सा कोरिरहँदा उनले साहित्यको डिजाइन गरेनन् । बैंकर भएर बैंकको व्यवस्थापन गरिरहँदा साहित्यको व्यवस्थापन गरेनन् ।

बिक्रमको लागि घरमा पनि पुस्तकको कुनै कमि थिएन । उनका आँखाले दिनहुँ रेडियो नेपालको छ बजेको बाल–कार्यक्रमपछि बाटोतिर एकटक भएर कसैलाई हेरिरहन्थे । त्यो बाटो भएर कोही मिठाइवाला आउँदैनन् थिए न त कोही खेलौनाको ढाकर नै बोकेर आउँथे । तर त्यही बाटो भएर दिनहुँ बिक्रमका बा आइपुग्थे । हुन् त बा घरबाहिरबाट घर आउनु कुनै नौलो कुरा थिएन । तर बाको हातमा छोराका लागि सँगसँगै आउने पुस्तक नौलो थियो । बिक्रमका आँखा बा र पुस्तकलाई प्राय दिनहुँ पर्खिरहन्थे ।
बाल्यकालमा उनले कति पुस्तक पढे उनलाई थाहा छैन । किनकि त्यो अनगिन्ती थियो । बालबालिकाको स्वभाव यसै पनि मैदानमा साथीभाइसँग खेल्नु हुन्छ तर बाल्यकालका बिक्रम खेलको अपवाद हुन् । उनी आफ्नो रहरले मैदान कहिल्यै छिरेनन् । यदि मैदान छिरे भने विद्यालयको करकापमा एक दुई खेलमात्र । नभए बिक्रमलाई मैदानमा भेटिएन । उनलाई भेटियो त केवल पुस्तकालयमा पुस्तकसँग ।

बिक्रमसँग अनौठो बानी थियो । कुनै पुस्तक पढेपछि यति म पनि लेख्न सक्छु भन्ने नयाँ पाठकको हुटहुटी सामान्य हो । तर यो हुटहुटी बिक्रममा लागु भएन । उनले जति नै पुस्तक लेखे पनि उनले म पनि सक्छु भनेनन् । सायदै उनले कुनै क्षण पर्खिएका थिए । सायदै उनले कुनै पललाई खोजेका थिए तर पाएका थिएनन् जब पाए तब जन्म भयो ‘चोभार ब्लुज’ ।

जीवनको खुड्किलो उक्लिँदै गयो । बिक्रम पनि त्यही सिँडीसँगै जिन्दगीको उचाईमा पुग्दै गए । जागिरको सुरुवाती दिनमा उनले आफ्नो पढाईकै जागिर खाए– इन्जिनियर । उनी जीवनको एक कालखण्डमा इन्जिनियर बने । त्यसपछि एमबिए सके र बैंकर बने । भारतबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर गरे र साहित्य लेखे । बिक्रमको स्वभाव हेर्दा लाग्छ, पहिला उनी आफू जाने गन्तव्य तय गर्छन् र त्यो ठाउँमा पुग्ने बाटो खन्छन् । आफूले खनेको बाटो हिँडेर पनि होला, उनी आफ्नो जीवनको यात्रामा कहिल्यै विचलित हुनु परेन । त्यसो त बिक्रम आइटीका पनि विज्ञ हुन् । भनिन्छ नि ‘एक शरीर अनेक प्रतिभा’ बिक्रम प्रतिभाका मूल हुन् ।

दुईवटा डुङ्गामा दुईवटै खुट्टा हालेर हिँड्न मन नपराउने बिक्रम पहिले पुग्नुपर्ने ठाउँ पुग्छन् र अर्को यात्रा तय गर्छन् । त्यसैले पनि होला सायद इन्जिनियर भएर नक्सा कोरिरहँदा उनले साहित्यको डिजाइन गरेनन् । बैंकर भएर बैंकको व्यवस्थापन गरिरहँदा साहित्यको व्यवस्थापन गरेनन् । दत्तचित्त भएर आफूले पाएको जिम्मेवारीमा सधैँ इमान्दार बने । हिँडेको बाटो मेट्दै गए नयाँ बाटो बनाउँदै गए ।

बिक्रम अब आफ्नो पुरानो पेशामा फर्कने सम्भावना न्यून रहेको छ । उनलाई त्यो चाह पनि छैन् । उनी जति अडि बढ्छन्, बिल्कुल फरक बाटोमा हिँड्छन् ।

कथा लेख्नु भनेको उनलाई उडेको चरा आफ्नो गुँडमा फर्केको झैँ लाग्छ ।

लागिरह्यो उनलाई जीवनमा केही छुटिरहेको छ । तर के छुट्यो उनलाई थाहा थिएन । तर खोज भने उनलाई थियो ।
प्रकृति उनको असल साथी हो । प्रकृतिसँग रमाउनु उनको लागि आनन्दको चुचुरो हो । बिक्रमलाई घरमा भेटिएन भने प्रकृतिलाई सोध्नुपर्छ कि उनी कहाँ छन् भन्ने कुरा ।

प्रकृतिसँगको हिँडाइ र साहित्यको प्रतिको लगावले उनी कथाकार बने । हरेक ठाउँ घुमेका तस्बिर सामाजिक सञ्जालमा राख्दा उनलाई लाग्यो ठाउँको परिचय पनि खुलाउनुपर्छ । उनले आफ्ना अक्षर मोबाइलमा कुदाउन थाले । अक्षरले उनलाई बाटो देखाउँदै लग्यो । उनी त्यही बाटो भएर साहित्यको फाँटमा आइपुगे ।

जीवनमा केही कुराले मजैसँग हिर्काउँछ । त्यही हिर्काइले पनि उनलाई साहित्यमा फक्रन सहज भयो । एकदिन उनी घुम्न भनेर आफ्नी श्रीमतीसँग कतै यात्रामा थिए । गाउँ व्यस्त थियो । सहरको व्यस्ततालाई गाउँको व्यस्तताले व्याख्या गर्न सक्दैन । कोलाहलभित्रको व्यस्त र शान्तभित्रको व्यस्त नै गाउँ र सहरको दुई पाटा हुन् । बाटोमा एक घर र बज्यै भेटिए । बिक्रम आफ्नै तालमा हिँडिरहेका थिए । ती बज्यैले आफ्नो सन्तानलाई झैँ खुबै हकारिन् । बिक्रम अलमल्ल परे किनकि त्यहाँ नजिकै अरु कोही थिएन उनीहरू बाहेक । तर बज्यैले गाली गरिरहिन् कसैलाई । उनले एकछिनमा थाहा पाए कि ती बज्यैले पाठोलाई गाली गरिरहेकी छिन् । तब उनलाई लाग्यो कि ‘यो त लेख्ने कुरा हो’ ।

‘चोभार ब्लुज’ बिक्रमको पहिलो पुस्तक हो । पचासवटा वसन्तलाई सजिलै पचाएका उनले आगामीका सबै वसन्त साहित्यमा नै बिताउने लक्ष्य लिएका छन् । कथा लेख्नु भनेको उनलाई उडेको चरा आफ्नो गुँडमा फर्केको झैँ लाग्छ ।

जीवनमा केही हराइरहेको थियो । उनलाई थाहा थिएन कि के हरायो भन्ने जब ‘चोभार ब्लुज’ तयार भयो तब उनलाई लाग्यो, मैले हराएको कुरा पाएँ ।

बजारमा साहित्यका अनेकौँ विधा छन् । साहित्यका अनेकौँ व्याख्या छन् । बिक्रमलाई थाहा थिएन कि म के लेखिरहेको छु भन्ने । जब प्रकाशकको हातमा उनको पाण्डुलिपी पुग्यो तब विधाको न्वारान भयो ‘निकथा’ । न कहिल्यै सुनिएको न कहिल्यै पढिएको । बिक्रम आफ्नो यो नयाँ विधाको श्रेय प्रधानसम्पादक अश्विनी कोइरालालाई दिन्छन् ।

बिक्रमले आफ्नो पहिलो पुस्तकबाट नै लोकप्रियता कमाएका छन् । पाठकको मन जितिरहेका छन् । उनी आफ्नो नयाँ विधा नेपाली साहित्यमा स्थापित गराउन कत्तिको सफल हुन्छन् त्यो त समयले बताइहाल्छ ।

‘प्रतीक्षा गर मेरी मायालु
समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार १५:३२   :  बजे

240
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।