Logo

आईपीएलमा दिल्ली क्यापिटल्स मुम्बई इन्डियन्ससँग पराजित



युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्स मुम्बई इन्डियन्ससँग पराजित भएकाे छ । आइतबार राति भएको खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेकाे हाे ।

जितका लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । मुम्बईको यो सातौं खेलमा पाँचौं जित हो। दिल्लीले भने त्यति नै खेलमा दोस्रो हार ब्यहोरेको छ । याे जितसँगै साविक विजेता मुम्बई आईपीएलको अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ।

मुम्बईका क्विनटन डी कक र सूर्यकुमार यादबले समान ५३/५३ रन जोडे। यस्तै इसान किसनले २८, किरण पोलार्डले ११ बाहेक अन्यले स्मरणीय प्रदर्शन रहेन । दिल्लीका कागिसो राबडाले २, अक्षर पटेल, रविचन्द्र आश्विन र मार्कुस स्टोनिसले समान १-१ विकेट लिए।

त्यसअघि शेख जायद स्टेडियम अबुधाबीमा टस जितेर ब्याटिङ रोजेको दिल्लीले २० ओभरमा ४ विकेटको क्षति १६२ रन बनाएको थियो। दिल्लीका ओपनर शिखर धवन ५२ बलमा ६ चौका र १ छक्का सहित ६९ रनमा अविजित रहेका थिए। दिल्लीले अन्तिम २४ बलमा एक विकेट गुमाउँदा ३५ रन जोडेको थियो।

यो जितसँगै मुम्बई ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ। दिल्लीको पनि ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंक नै भए पनि नेट रन रेटको आधारमा दोस्रो स्थानमा छ। कोलकाता ६ खेलमा ४ मा जित र २ मा हारसहित तेस्रो स्थानमा छ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ८ : २८ बजे