Logo

प्रमुख समाचार

राष्ट्रपतिको अपमान गर्न पाइदैन भन्दै जब वामदेव गौतम कड्किन थालेपछि…



नेकपा एकता अभियान पार्टीका अध्यक्ष तर नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह हसिया हथौडा लिएर प्रतिनिधीसभाको निर्वाचनमा प्रतिष्पर्धा गर्ने तरखर गरिरहेका नेता वामदेव गौतम बेलामौकामा अनेक कारण चर्चामा आउछन् ।

केहि दिनअघि मात्रै गौतमको तीज डान्सले चर्चा पाएको थियो भने अहिले उनले नागरिकता विद्ययेकको बारेमा राष्ट्रिय सभाको बैठकमा बालेको कुराले चर्चा पाएको छ । अघिल्लो पटक राष्ट्रिय सभाबाट नागरिकता विद्ययेक पारित हुने बेलामा जस्ताको तस्तै पारित हुनपर्छ भनेर बोलेका गौतमले अहिले भने बोली फेरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण नगरी फिर्ता पठाएको विद्ययेकलाई प्रतिनिधीसभा र राष्ट्रिय सभा दुवै ठाउँबाट कुनै पनि संशोधन नगरी हुबहु पारित गराएपछि गौतम कड्किएका छन् । बिना संशोधन विद्ययेक पास गर्नु राष्ट्रपतिको अपमान भएको भन्दै उनले आपत्ती जनाएका हुन् ।

गौतमले नागरिकता विधेयक हुबहु पास गर्नु राष्ट्रपतिप्रति अपमान हुने बताएका हुन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा गौतमले नागरिकता विधेयक फिर्ता गर्दा राष्ट्रपतिले दिएको सन्देश ग्रहण गर्न योग्य रहेको बताए ।

तर प्रतिनिधीसभामा भएको छलफलमा भनिएको विषय सुन्न पनि नसकिने खालका रहेको भन्दै उनले भने, ‘राष्ट्रपतिको सन्देश कलेजका विद्यार्थीहरुले लेखेको निबन्ध हो भन्ने जस्ता टिप्पणी धेरै भए । राष्ट्रपति कुन समूहसित, कुन पार्टीसित सम्बन्धित हुनुहुन्छ भन्ने महत्वपूर्ण होइन । राष्ट्रपतिको सम्मान गर्न जान्नुपर्छ, होइन भने राष्ट्रपति प्रणाली हटाइदिए हुन्छ ।’

केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्दा पनि आफूले दुई घण्टाको निम्ति भएपनि फिर्ता पठाइदिनुस् भनेर सुझाव दिन चाहेको, तर राष्ट्रपतिलाई भेट्न नपाएको गौतमले सुनाए । त्यसपछि आफूले सूचना पठाएको र त्यसको केही घण्टामा संसद विघटन भएकाले पदको दुरुपयोग भयो भनेर बोलेको उनले बताए ।

अहिले नागरिकता विधेयक फिर्ता गर्दा प्रतिनिधिसभामा भएको छलफल पनि राम्रो नलागेको बताए । राष्ट्रपतिको सन्देशमा उल्लेख हरेक बुँदाबुँदामा प्रतिनिधिसभाको विचार के हो भनेर छलफल गर्नुपर्नेमा त्यसो नभएको भन्दै उनले बौद्धिकतामाथि हमला भएको बताए ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी संसद्मा फिर्ता पठाएको नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट पुन बहूमतले जस्ताको त्यस्तै पारित भएको छ । शुक्रबार बसेको राष्ट्रियसभाको बैठकले उक्त विधेयक बहुमतले पारित भएको हो ।

उक्त विधेयक यसअघि प्रतिनिधि सभाबाट पनि बहूमतले पारित भएको थियो । प्रतिनिधिसभाबाट पारित भएलगत्तै राष्ट्रिय सभामा पेस भएको थियो ।राष्ट्रियसभाले उक्त विधेयकलाई छलफल गर्नका लागि राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा पेस भएको थियो । समितिमा दुई दिन छलफल गरेर उक्त विधेयक जस्ताको त्यस्तै पारित भएर बैठकमा पेस भएको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार १३:३३   :  बजे

231
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।