Logo

कर्णाली प्रदेश

कर्णालीका स्थानीय तहमा अस्पताल निर्माण कार्य ‘कछुवा गति’



सुर्खेत । कर्णाली प्रदेशका स्थानीय तहमा संघीय सरकारले आर्थिक वर्ष ०७७/ ७८मा  ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ निर्माण गर्ने काम अझै गति लिन सकेको छैन । दुइ वर्ष वित्तिसक्दा पनि  निर्माणले गति लिन नसकेको हो । 

आर्थिक वर्ष २०७७/ ७८ मा पाँचदेखि १५ शय्यासम्मका आधारभूत अस्पताल निर्माणका लागि कर्णालीका ४२ वटा पालिका छनोट गरि बजेट पठाएको थियो । त्यस्तै दोस्रो चरणमा गएको आर्थिक वर्ष २०७८/ ७९ मा सोही क्षमताका थप २४ स्थानीय तहमा अस्पताल निर्माणको योजनाका साथ बजेट पठाएको थियो । प्रदेशका ७९ तहमध्ये दुई चरणमा गरी ६६ पालिकामा बजेट र कार्यक्रम पठाइए पनि हालसम्म २७ पालिकामा मात्रै अस्पताल निर्माणको काम भइरहेको छ ।

कर्णालीमा आधारभूत अस्पताल निर्माण तथा स्तरोन्नतिका लागि पहिलो चरणमै संघीय सरकारले ५२ करोड ७६ लाख २० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसअन्तर्गत पाँच शश्याका लागि ७० लाख, १० शशयका लागि ८५ लाख र १५ शश्यका अस्पताल भवन निर्माण गर्न सम्बन्धित् पालिकामा एक करोड बजेट पठाइएको थियो। दोस्रो चरणमा छनोट भएका स्थानीय तहमा पनि सोही आधारमा रकम पठाइएको छ ।

स्थानीय तहहरूमा १५ शश्यासम्मका आधारभूत अस्पताल निर्माण गर्ने योजना अपेक्षाकृत रूपमा अघि बढ्न नसकेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक डा रविन खड्काले बताए । निर्माण थालिएका पालिकामा पनि काममा ढिलासुस्ती भइरहेको उनको भनाइ छ । 

भवन निर्माण स्थलको टुङ्गो लागेका कतिपय ठाउँमा अहिलेसम्म विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत निर्माण भएको छैन। कैयौँ निर्माणाधीन भवनको जग हालेर त्यतिकै छोडिएको अवस्था छ । २७ वटाभन्दा कम पालिकामा मात्रै भवन निर्माणको काम चलिरहेको बताइएको छ ।

पालिकाले समयमै अस्पताल निर्माणको प्रक्रिया अघि बढाउन नसक्दा उपलब्ध बजेटसमेत फ्रिज भएको छ। दैलेखका ११ मध्ये सातवटा स्थानीय तह आधारभूत अस्पताल निर्माणका लागि छनोट गरिएका थिए । भैरवी, नौमुले, ठाँटीकाध, महाबु, गुराँस गाउँपालिका र चामुन्डा बिन्द्रासैनी तथा आठबीस नगरपालिकामा अस्पताल निर्माणको योजना थियो। त्यसमध्ये भगवतीमाई गाउँपालिका र गुराँस गाउँपालिकाले भवन निर्माणको काम अघि बढाएका छन् ।

केही पालिकाले आफ्नो र संघीय सरकारको संयुक्त लगानीमा पनि काम सुरु गरिरहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थीरप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार कतिपय पालिकामा भने मापदण्डले तोकेअनुसार जग्गा नपाउँदा समस्या भइरहेको छ ।

सुर्खेतको पञ्चपुरी नगरपालिका–२, सालकोटमा प्राथमिक स्वाथ्य केन्द्रलाई स्तरोन्नति गरेर आधारभूत अस्पताल बनाइँदै छ । निर्देशनालयका अनुसार कालीकोटको सान्नीत्रिवेणी नगरपालिकामा पनि आधारभूत अस्पताल भवन निर्माणको काम सुरु भएको छ । त्यहाँ संघीय सरकारको सात करोड ११ लाख र पालिकाको चार करोड ५० लाख रुपैयाँ गरी कुल १५ करोड ५० लाख रुपैयाँको संयुक्त लगानीमा निर्माण कार्य थालिएको बताइएको छ । 

जाजरकोटको नलगाडमा भर्खरै मात्र भवन निर्माणको काम सुरु भएको छ । बारेकोटमा जग मात्र राखिएको छ । छेडागाडमा कामको सुरुवात नै गरिएको छैन । शिवालयमा भवनको काम सामान्य अवस्थामा पनि नभएको बताएको छ । जुनिचाँदे गाउँपालिकामा समेत कामको गति निकै धिमा रहेको छ । कुशे गाउँपालिकामा कामै नै सुरु भएको छैन । 

डोल्पामा सबै पालिकामा काम अझै गति लिन सकेको छैन । मुड्केचुला, जगदुल्लामा कामको सुरुवात गरिएको पालिकाले जनाएका छन् ।

प्रकाशित मिति : आश्विन २, २०७९ आईतबार  ४ : ५९ बजे