Logo

कर्पोरेट फोकस

नेपाली बजार सिमेन्ट उत्पादनमा आत्मनिर्भर बन्दै, विभागले तोकेको ग्रेडमा उत्पादन गर्न ६ वटा कम्पनीले लिए अनुमति



पछिल्लो समय नेपाली बजार सिमेन्ट उत्पादनमा आत्मनिर्भर हुँदै गएको छ । बजारको माग अनुसार उत्पादन मात्र नभएर सिमेन्टको गुणस्तरमा पनि उल्लेख्य प्रगति भएको छ । केही वर्ष यता नेपाली सिमेन्ट उद्योगहरूको प्रविधि, क्षमता, र गुणस्तरमा उल्लेखनीय परिवर्तन भएको छ । उद्योगहरूले विश्वासिलो र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उत्पादन गर्न सक्ने प्रविधि भित्र्याएका छन् । 

आधुनिक प्रविधिको प्रयोग र गुणस्तरमा प्रतिश्पर्धा गर्नेगरी उद्योगहरूले ४३ र ५३ ग्रेडका उत्पादनहरू बजारमा वितरण गर्न सुरु पनि गरिसकेका छन् । गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर मापदण्डमा संशोधन गर्दै ४३ र ५३ ग्रेडमा सिमेन्टको गुणस्तर कायम गर्ने व्यवस्था ल्याएसँगै ग्रेडको आधारमा सिमेन्ट उत्पादन सुरु भएको हो ।

विभागका अनुसार हालसम्म ६ वटा सिमेन्ट उद्योगले गुणस्तर तथा नापतौल विभागबाट सरकारले तोकेको ग्रेडमा सिमेन्ट उत्पादन गर्न अनुमति लिइसकेका छन् । अन्य ३८ वटा उद्योगहरु पनि ४३ र ५३ ग्रेडको उत्पादनको अनुमति लिनेक्रममा रहेको गुणस्तर तथा नापतौल विभागका निर्देशक सञ्जीव कुमार ठाकुरले जानकारी दिए । उनले भने, ‘पछिल्लो समय सिमेन्ट क्षेत्रले गुणस्तरमा ठुलो फड्को मारेका छन् । हालसम्म ६ वटा सिमेन्ट उद्योगले ग्रेडिङ पाइसकेका छन् । अन्य ३८ वटा उद्योगहरू ग्रेडिङको अनुमति लिनेक्रममा रहेका छन् ।’     

हाल ग्रेडिङ अनुमति पाउने उद्योगहरूमा मारुती सिमेन्ट, शिवम् सिमेन्ट, अग्नि सिमेन्ट, सर्वोत्तम सिमेन्ट, युनाइटेड सिमेन्ट र रिद्धिसिद्धी सिमेन्ट रहेका छन् । यसरी ग्रेडका आधारमा उत्पादन गरिएका सिमेन्टहरू उपभोक्ताले ढुक्कसँग प्रयोग गर्न सक्ने विभागले जनाएको छ ।  

जसमा मारुती सिमेन्ट, शिवम् सिमेन्ट र सर्वोत्तम सिमेन्टले ४३ र ५३ ग्रेडका लागि उत्पादन अनुमति पाएका छन् । त्यस्तै, अग्नि सिमेन्ट र रिद्धिसिद्धी सिमेन्टले ४३ ग्रेडका लागि उत्पादन अनुमति पाएका छन् भने युनाइटेड सिमेन्टले ५३ ग्रेडका लागि उत्पादन अनुमति पाएको विभागले जनाएको छ ।     

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार १३:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।