काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध भ्रम फैलाउनेहरुमाथि अरिङाल भएर खनिन नेता–कार्यर्तालाई निर्देशन दिएका छन् । उनले एमालेविरुद्ध भ्रम फिँजाउने र प्रचारबाजी गर्नेहरुलाई अरिङगाल भएर ध्वस्त पार्न आग्रह गरेका हुन् ।
‘हाम्रा विरुद्ध सञ्चारमाध्यमहरु झुसे बारुलो भएर खनिन हुने, हामी चाहिँ अरिङाल हुन नहुने ?’, शुक्रबार युवा संघको कार्यक्रममा ओलीले भने, ‘हाम्राविरुद्ध भ्रम फिजाउने, प्रचारबाजी गर्नेहरुलाई अरिङाल भएर ध्वस्त पार्नैपर्छ ।’ उनले पछिल्लो प्रविधिको प्रयोग गर्न र जिउँदो युवा बन्न युवा संघलाई निर्देशन दिएका छन् ।
यस्तै, ओलीले सत्तारुढ गठबन्धनमा भएका दलहरु बुढा भएको भन्दै बुढा दलले देश विकास नहुने बताए । उनले सत्ताको नेतृत्व गरेको कांग्रेस गन्तव्यविहीन यात्रामा हिँडेकालाई साथ लिएर अघि बढिरहेको बताए । ‘बुढो कांग्रेसको पनि धेरै ठ्याइँ ठ्याइँ भयो । जरो सरो पोहोरै गइसक्यो । सिंग पनि खुस्कीसकेको छ’, उनले भने, ‘गन्तव्य नभएकाहरुलाई लिएर अघि बढेको छ, अलि अघि बढेर पछाडि हेर्छ एउटा छैन, फेरि हेर्छ अर्को छैन ।’
ओलीले सरकारले अधिनायकवाद लाद्न खोजेको आरोप पनि लगाएका छन् । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई दिएको सुरक्षा र गाडी सरकारले खोसेको भन्दै उनले त्यो काम अधिनायकवादी भएको बताए ।




















प्रतिक्रिया