Logo

अनलाइनपाना खोज

दुई वर्षमै दुई गुणा हुने ‘मुद्दती योजना’का नाममा ग्लोबल आइएमई बैंकले भ्रम छरेको आरोप



काठमाडौं । ‘ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना’को नाममा ग्लोबल आइएमई बैंकले भ्रममा पार्न खोजेको भन्दै आलोचना भएको छ । बैंकले २ वर्षमै २ गुणा हुने मुद्दती योजना ‘ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना’ केही दिन अघि सार्वजनिक गरेको थियो ।

यस योजनाअन्तर्गत मुद्दती निक्षेप खाता खोल्नको लागि निक्षेपकर्ताले कुनै निश्चित रकम छनोट गर्नुपर्ने र २ वर्षको समयावधिमा दोब्बर रकम प्राप्त गर्न निक्षेपकर्ताले हरेक त्रैमासमा छनोट गरेको रकमको १० प्रतिशत रकम जम्मा गर्दै जानुपर्ने भनिएको छ ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी यस्ता योजनाहरु ल्याएको बैंकले दाबी गरे पनि यी योजनाका नाममा ग्राहकहरुलाई भ्रममा पार्न खाजेखिएको टिप्पण भइरहेको छ ।

एक जना फेसबुक प्रयोगकर्ताले लेखेका छन्, ‘ठग्नुको पनि सीमा हुन्छ नि !’ उनले मुद्दती खातामा दुई वर्षमा डबल हुने बैंकहरुको फण्डा के हो (?) भन्दै उदाहरणसहित सविस्तार व्यख्या गरेका छन् । एक लाख रुपैयाँ जम्मा गर्ने ग्राहकको उदाहरण दिँदै उनले अन्तसम्म ग्राहकले एक लाख ७० हजार रुपैयाँ जम्मा गर्नुपर्ने तर फिर्ता पाउँदा आफूले जम्मा गरेका कुल रकमको व्याजसमेत नआउने भन्दै उनले बैंकले ग्राहकहरुलाई भ्रममा राखेको आशय व्यक्त गरेका छन् ।

यस्तै अर्का फेसबुक प्रयोगकर्ताले पनि बैंङ्किङ ठगी योजना भन्दै उही खाले टिप्पणी गरेका छन् । ‘सुरुमा एक लाख जम्म गर्ने अनि पुनः सात पटक गरी ७० हजार जम्मा गरी दुई वर्षमा ३० हजार थपेर दुई लाख फिर्ता दिँदा डबल योजना अरे ?’, उनले लेखेका छन् ।

तर बैंकले भने आफूले ल्याएको योजनाको बचाउ गरेको छ । धनवृष्टि मुद्दती योजना त ग्राहकलाई भ्रममा पार्ने र दिमाग घुमाउनलाई मात्र जस्तो देखियो नि (?) भन्ने अनलाइनपानाको प्रश्नमा ग्लोबल आइएमई बैंकका म्यानेजर मञ्जिल बिष्टले भने, ‘भ्रममा पार्न र दिमाग घुमाउनलाई होइन । हाम्रो नारा नै छ नियमित बचत गरौं भन्ने । त्यसैले हामीले ग्राहकहरुलाई नियमित बचत गराउन र व्याजदर पनि आकर्षक नै भएर यो योजना ल्याएका हाैं ।’

प्रकाशित मिति : आश्विन ९, २०७९ आईतबार  २ : ११ बजे

291
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।