काठमाडौं । सभामुख र उपसभामुखको पद खाली गराउन माग गर्दै परेको रिटमा पनि सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसाल गौतमलाई कारण देखाउ आदेश दिएको हो । सर्वोच्चले रिट निवेदकको माग बमोजिम किन आदेश दिनु नपर्ने भनेर कारण मागेको छ ।
प्रतिनिधि सभाका सदस्यको समावधि असोज १ गते सकिएकाले सभामुख सापकोटा र उपसभामुख गौतमको पनि पदावधि सकिएको जिकिर गर्दै अधिवक्ताहरू किशोर पौडेल, अनुपम भट्टराई र जगन्नाथ दुलाल तथा कानून संकायकी विद्यार्थी रेजीना पौड्यालले असोज ६ गते सर्वोच्चमा रिट दायर गरेका थिए । संविधानले नै प्रतिनिधि सभाको चुनावका लागि उम्मेदवार दर्ता भएको अघिल्लो दिनसम्म मात्रै पदावधि हुने व्यवस्था गरेको उनीहरूको जिकिर थियो ।
उनीहरूले सभामुख र उपसभामुखको पद खाली गराउनका लागि परमादेशको माग गरेका छन् । यससँगै उनीहरूले सभामुख र उपसभामुखको सेवा सुविधा पनि रोक्न अन्तरिम आदेशको माग गरेका छन् । यसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र संसद् सचिवालयलाई विपक्षी बनाइएको छ ।
आजै नागरिकता प्रमाणीकरण माग राष्ट्रपतिको कार्यालय विरुद्ध परेको रिटमा पनि न्यायाधीश फुयालको इजसासले कारण देखाउ आदेश दिएको थियो ।




















प्रतिक्रिया