Logo

प्रमुख समाचार

‘डेढ दशकको राजनीतिक अभ्यासले ‘कोर्स करेक्सन’को अपरिहार्यता सिद्ध गर्‍यो’



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले डेढ दशकको राजनीतिक अभ्यासले ‘कोर्स करेक्सन’को अपरिहार्यता सिद्ध गरेको दाबी गरेका छन् । शुक्रबार भिडियो सन्देशमार्फत् बडादशैंको शुभकामना दिँदै उनले देशको राष्ट्रियता र इतिहास सर्वाधिक संकटापन्न स्थितिमा रहेको समेत बताएका छन् ।

उनले देशकाप्रति वफादारी र जनताप्रति उत्तरदायी भएर काम गर्ने विधि व्यवस्था संगठन एवं प्रतिनिधित्वको सही पात्र देशले खोजिरहेको उल्लेख गरेका छन् । ‘डेढ दशकको राजनीतिक अभ्यासले कोर्स करेक्सनको अपरिहार्यता सिद्ध गरेको छ। हाम्रो राष्ट्रियता र इतिहास सर्वाधिक संकटापन्न स्थितिमा छ। हाम्रा मौलिक धार्मिक, सांस्कृतिक मान्यताहरू विस्थापित गर्ने क्रमलाई तीव्रता दिएको छ,’ पूर्वराजा शाहले भनेका छन्, ‘परराष्ट्र नीति असन्तुलित भइदिँदा राष्ट्रहित र सुरक्षा संकटग्रस्त बन्दै गएको छ। व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई अझ भ्रष्ट तुल्याएको छ। सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको छ।’

नेपाल निरन्तर विदेशीहरूको क्रिडाभूमि भयो भन्ने जनगुनासो रहेको उल्लेख गर्दै शाहले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका सबै अंगभित्र विवाद, विग्रह र विकृतिप्रति सर्वत्र प्रश्न उठेको टिप्पणी गरेका छन् । उनले पदलोभ, सत्तास्वार्थ र भागबण्डा गरेर आफ्नै सुविधाभोगीका लागि राजनीति केन्द्रित हुँदै गएपछि देशको स्थिति र जनताको हालत के हुन्छ ? भन्दै प्रश्न गरेका छन् ।

‘यो अवस्थाले जनतामा उत्साह छैन,’ शाहले भिडियो सन्देशमा भनेका छन्, ‘मुलुकमा भविष्यप्रति र भविष्य निर्माणको कुनै भरोसा छैन, दायित्व के, गर्ने के ? गर्न नहुने के, न्यायिक मूल्य के हो के होइन यी सबै कुराको निराकरण कसले गर्नेरु कोबाट हुने, देश र जनतासामु खड्किएको ज्वलन्त प्रश्न यही हो।’

वर्तमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लाउने अवस्था भनेको शाहको भनाइ छ । उनले कुनै पनि कार्यले देश कहिल्यै हार्न नहुने बताए । उनले स्वतन्त्र, सार्वभौम नेपाललाई आफ्नै अस्तित्वमा अड्याएर समुन्नत, सक्षम र समृद्धिको पुनर्निर्माणमा ध्यान दिनुपर्ने उल्लेख गर्दै नेपाललाई फेरि महान बनाउनु परेको बताए ।

पूर्वराजा शाहकाे भिडियाे सन्देश

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार १२:२२   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।