सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले घोषणा गरेको मंसिर ४ गतेको प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनका लागि समानुपातिक तर्फको उमेदवारको बन्द सूचि निर्वाचन आयोगमा बुझाइ सकेर प्रत्यक्ष तर्फको उमेदवारी दर्ता गर्ने दुई दिन अघि सत्ता गठबन्धन फुटेको छ ।
शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बनेको गठबन्धन मध्येको एक प्रमुख दल जसपाले गठबन्धनबाट बाहिरिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहकार्यको हात अघि बढाएको छ ।
एमाले र जसपाकाबीचमा चुनावी तालमेलको सैद्धान्तीक सहमती भइसकेको छ । आजै सहमतीपत्रमा हस्ताक्षर गरिएको छ । एमालेको तर्फबाट एमाले अध्यक्ष ओली र जसपाको तर्फबाट अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।
एमालेको इच्छा पाँचदलीय सत्ता गठबन्धन टुटोस् भन्ने थियो । जसपा नेताहरु पनि कांग्रेस–माओवादीले अपमान गरेको भन्दै एमालेसँग मिल्न तयार देखिएका थिए ।
पाँचदलीय सत्ता गठबन्धनबाट जसपा बाहिरियो भने सबैभन्दा बढी खुशी नेकपा एमाले नै भएको छ । यही कारण एमाले नेताहरु उपेन्द्र यादवका लागि बालकोटमा रातो कार्पेट ओछ्याउन तयार भएका थिए ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड, उपेन्द्र यादवलाई फकाउन दसैं नभनी खटिरहेकै थिए। टीकाका दिनसमेत बालुवाटारमा जसपा नेतालाई बोलाएर फकाउने प्रयास गरिएको थियो । तर, जसपाले भने एमालेसँग समेत तालमेलका लागि सम्वाद अगाडि बढाइसकेको अवस्था छ ।
०७४ को चुनावपछि मधेस प्रदेशमा मधेस केन्द्रित दलहरुको सहकार्यमा सरकार बनेको थियो । अरु प्रदेशमा जस्तो त्यहाँ मुख्यमन्त्रीको फेरबदल भएन र सरकारले स्थायित्व पायो । तर, अहिले लोसपा र जसपा फुटेको अवस्था छ ।
अहिलेको स्थितिमा मधेस प्रदेशबाट कांग्रेस, एमाले र माओवादीले चुनावी फाइदा लिन खोजेका छन् भने उपेन्द्र यादवचाहिँ मधेसमा आफ्नो पार्टीको बर्चस्व कायमै राख्ने रणनीतिमा छन् । यसका लागि एमालेसँग मिल्दा बढी लाभ हुने विश्लेषण जसपा नेताहरुको छ ।
त्यसो त दसैंको टीकाको दिन नेपाली कांग्रेसका नेताहरुले बालुवाटारमा जसपा र एकीकृत समाजवादीका नेताहरुसँग बेग्लाबेग्लै बसेर सहमति जुटाउने प्रयास गरेका थिए । तर, त्यो प्रयास असफल नभएपछि उपेन्द्र यादव कार्यदलका सदस्यहरुलाई समेत लिएर बिहीबार साँझ बालकोट पुगेका थिए ।




















प्रतिक्रिया