भक्तपुर । पछिल्लो समय नेपालबाट बाहिरिनेको संख्या ह्वात्तै बढेको छ । केही वर्षयता नेपालीमा विदेश जाने मोह देखिएको छ । माध्यमिक शिक्षा उत्तीर्ण हुन नपाँउदै विद्यार्थीहरुले विदेश जाने सपना देख्छन् । नेपालमा रोजगारी, व्यापार व्यवसाय गर्ने विचार थोरैमा मात्र छ । उच्च शिक्षा र राम्रो आम्दानी हुने देखेपछि अमेरिका, अस्ट्रेलियालगायत युरोपका विभिन्न मुलुक जाने नेपालीको संख्या उल्लेखीय रुपमा बढेको छ ।
यसलाई मध्यनजर गर्दै कन्सल्टेन्सीहरु पनि धमाधम खुलेका छन् । पाइलैपिच्छे कन्सल्टेन्सीका बोर्ड झुण्डाइएको भेटिन्छ । तर, ती कन्सल्टेन्सी सरकारबाट दर्ता भएका हुन् कि होइनन् ? यसको नियमन हुने गरेको छैन । पछिल्लो समय कन्सल्टेन्सीको ठगीधन्दा मौलाएको विषय व्यापक रुपमा बाहिर आइरहेको छ । कन्सल्टेन्सीले विदेश पठाउँछु भनेर पैसा लिने तर यही अल्मलाएर राखिदिने ।
यहाँबाट राम्रो मुलुक जानका निम्ति मोटो रकम बुझाइसकेकाहरु यतिखेर तनावमा परेका छन् । कन्सल्टेन्सीले विदेश पनि नपठाउने, पैसा पनि फिर्ता नदिने । पढेलेखेकालाई नै कन्सल्टेन्सीले ठगेको छ भने अनपढ र सोझासिधालाई म्यानपावर कम्पनीले कति ठगेको होला ?
उच्च शिक्षा हासिल गर्न जानेहरुलाई नै कन्सल्टेन्सीका सञ्चालकले उल्लु बनाइरहेका छन् । आज र भोलि भन्दै तिनलाई झुल्याउने काम भइरहेको छ । ऋणधन गरेर, जायजेथो बेचेर २० देखि २५ लाख बुझाउनेहरु छन् । तर, अहिले कन्सल्टेन्सीकै सञ्चालक भागेर हिँडेका उदाहरण हाम्रैसामू छन् । ऋण लिएको ठाँउमा ब्याज तिर्दाको हैरानी छुट्टै छ । छोराछोरीले बाहिर गएर कमाउलान् भनेर बाबुआमाले ऋण त लिए । तर, अहिले त्यो पैसा धेरै पीडितका लागि ‘निल्नु न ओकल्नु’ भएको छ ।
सबै डकुमेण्ट र पैसा बुझाएको एक महिनामा उडाउँछु भनेर सञ्चालकले आश्वासन दिन्छन् । तर, तीन महिना बितिसक्दा पनि यही झुल्लिएर बस्नपरेकाहरु यत्तिकै भेटिन्छन् । एकातिर पढाइ बिग्रियो, अर्कोतिर भएको जागिर पनि छुट्यो । विदेश जाने त हो भनेर कलेज भर्ना नगर्ने, खाइरहेको जागिर पनि छोडेर अहिले बेराजगार भएर बस्नुपर्ने बाध्यता युवाहरुमा छ । विदेश जानका लागि पैसा दिइसकेका विद्यार्थीहरु मर्कामा परेका छन् ।
कन्सल्टेन्सीले विदेश पठाइदिन्छु भनेर अर्बौं रकम लिएको बताइन्छ । विद्यार्थीहरु पैसा बुझाएको एक वर्ष बितिसक्दा पनि नपठाएको विद्यार्थीहरुको गुनासो छ । दैनिक कन्सल्टेन्सीको चक्कर लगाउन बाध्य छन्, विद्यार्थीहरु । आज, भोलि गर्दागर्दै वर्षदिन बितिसक्दा पनि कन्सल्टेन्सीहरुले विदेश पठाउन चासो नदेखाउँदा विद्यार्थीहरु रन्थनिएका छन् ।
नेपालमा पछिल्लो समय देखिएको बेतिथि हो यो । जो कोही पनि विदेश जाने सपनाको पछि दौडिदिएका छैन् । जति पैसा विदेश जान खर्च लाग्छ, त्यति नेपालमा लगानी गर्ने हो भने एउटा व्यवसाय सञ्चालन गर्न सकिन्छ । तर, त्यो सोच हाम्रा देशका विद्यार्थीमा छैन । अरु गएको देखेपछि आफूलाई पनि जानुपर्ने चलन छ नेपालमा । देखासिकी गर्ने बानी व्यवहार अझै पनि हट्न सकेको छैन् । आफ्नो मातृभूमिलाई घृणित बनाउँदै विदेशतिर दौडनु कति लज्जास्पद विषय हो, हामी युवा सोच्दैनौं । नेपालमा रोजगारीको अवसर छैन, व्यापार व्यवसाय गर्न सकिँदैन, राजनीतिक ठिक छैन् भन्ने, तर गरे त यहाँ पनि सबै कुरा सम्भव छ । कतिपयले विदेश छोडेर नेपाल आएर मासिक लाखौं कमाएका पनि त छन् । तर, हामी पढेलेखेका भनाउँदाहरु यी काम गर्न लाजाउँछौं ।
बरु, विदेशमा गएर भाँडा धुन, पसलमा काम गर्न र खेती गर्न नलजाउने हामी युवा आफ्नै मुलुकमा त्यति लगानी गरेर एउटा सानो उद्योग खोल्ने हो भने स्वरोजगार हुने मात्र होइन, अरु धेरैलाई पनि रोजगारी दिलाउन सकिन्छ । उद्योग खोल्नलाई राजनीतिले रोकेको छ ? जतिखेर पनि विदेश जाने लिँडेढिपीबाहे अरु केही गर्न जान्दैनन्, नेपाली । भनिन्छ नि, ‘नानीदेखि लागेको बानी छुटउन साह्रो गाह्रो हुन्छ ।’ यो पनि त्यस्तै हो । बाबुआमाबीच नै आफ्नो छोराछोरीलाई बाहिर पठाउन होडबाजी चल्ने गरेको छ । सानैदेखि विदेश जाने सपना देखाउने पनि अभिभावक नै हुन् । अक्षर चिन्दादेखि सोही कुरा सिकाएपछि उसले ठूलो भएर पनि त्यही नै गर्छ । पछिल्लो समय बाबुआमाहरु नै आफ्नो छोराछोरी विदेश छन् भनेर धाक लगाउने गर्दछन् । विदेशमा छोराछोरीले कति हन्डरठक्कर खाइरहेका छन्, त्यो चाँहि थाहा छैन ।
नेपालमा पनि ठूल्ठूला विश्वविद्यालय, कलेज, स्कुल खुलेका छन् । तर, पढ्नकै लागि भनेर वार्षिक ९० अर्ब बढी रकम बाहिरिने गर्दछ । त्योसँगै शिक्षित जनशक्ति पनि सबै बाहिन्छन् । त्यहाँ पढ्छन्, अनि उहीको पीआर पाएपछि त्यतै सेटल हुन्छन् । पीआर पाएपछि कतिपयले बाबुआमासहित यहाँ भएको सम्पत्ति पनि बेचेर लान्छन् । कमाएर नेपाल ल्याउनुको साटो उल्टो यँहाबाट लैजाँदैछन् । यसरी त वर्षेनी खर्बौं रकम यहाँबाट बाहिरिदैं छ । यता, जन्मथलो छोडेर बाहिर जान नचाहने बाबुआमालाई साह्रो पीडा छ । छोराछोरी छ भनेर के गर्नु, मर्ने बेलामा एक घुट्की पानी खुवाउने कोही पनि हुदैंनन् । पहिले हाँसीखुसी पठाउँछन् पछि आफैंलाई बोझ बन्छ । बुढेसकालको साहारा नै आफूसँग नभएपछि बुढाबुढीको बिचल्ली हुन्छ । स्याहार सुसार गर्नका लागि अन्तिममा अर्कैको साहारा माग्नुपर्छ ।
माध्यमिक शिक्षा भनेको ठूलो पढाइ हो । क्षमता भएकाले त्योभन्दा कम पढाइमा देश हाँकिरहेका छन् । देश र नेतालाई दोष लगाउनुको साटो तिनलाई चुनौती दिएर हिँड्न सक्नुपर्यो । पहिले आफूबाट शुरु गर्नुपर्यो । तर, आफू केही गर्न नसक्ने अनि देशलाई मात्र आरोप लगाएर हुदैन । मासिक तीन–चार लाख कमाउने देखेपछि बाबुआमा पनि मख्ख पर्छन् । यत्रो आम्दानी हुने भएपछि बाबुआमाले नै ऋण खोजेर छोराछोरी पठाउनतिर लाग्छन् । तर, पछि छोराछोरीले पैसा नपठाउँदा मात्र तिनले सबक सिक्छन् । छोराछोरी बाबुआमा बिर्सिएर उही सेटल हुन्छन् । घर किन्छन्, गाडी किन्छन्, आरामको जिन्दगी बिताउँछन् । अभिभावकलाई यहाँको ऋणले सताउनु सताउँछ । भएको जायजेथा बेचेर ऋण तिर्नुपर्ने अवस्थासमेत बन्छ ।
पहिलेपहिलेका बुढापाखाले भन्थे, ‘चोक्टा खान गएको बुढी झोलमै डुबेर मरि ।’ यहाँ पनि त्यस्तै भएको छ । विदेशमै सेटल हुनेले नेपालको सम्पत्ति बेचेर लैजान नपाउने भनेर सरकारले नियम बनाउनुपर्छ । कसैले नेपाली नागरिकता त्याग्छ भने उसले नेपालमा भएको सम्पत्ति पनि त्याग्न सक्नुपर्छ । यो नियम लागु गर्यो भने कसैले पीआर नै लिँदैनन् । जसरी भएपनि नेपाल फर्किन्छन् । पढ्ने नाममा विदेश जाने चल्तीले गर्दा नेपालको अर्थतन्त्रमा ठूलो क्षति पुगेको छ । पढ्न जाने क्रम सरकारले बन्द गरिदिएपनि हुन्छ । के नेपालको पढाइ राम्रो छैन् ? नेपालमा पढाउन सक्ने शिक्षक छैनन् ? यसले त नेपालको शैक्षिक गुणस्तरमाथि औँला उठाएको छ । माध्यमिक शिक्षासँग यहाँको पढाइ राम्रो हुने त्यसपछि चाहिँ नराम्रो हुने । यही भूमिमा जन्मिने अनि यही मुलुकको बेइज्जत गर्ने ?
अर्काको देशमा पुगेर नेपालमाथि दाग लगाउन यिनलाई लाज लाग्दैन सायद । सरकारले जथाभावी कन्सल्टेन्सी खोल्ने काममा प्रतिबन्ध लगाउनुपर्छ । राजनीतिक दलको झोला बोकेर, गुण्डा पालेर, प्रहरी प्रशासनलाई हाता लिएर ठग्ने काम भइरहेको छ । विज्ञापनको माध्यमबाट सिधासाधी जनता फसिरहेका छन् । नेपालको पढाइ गुणस्तरीय छ । यहाँ पनि रोजगारीको अवसर छन् । जुन रोजगारी गरेर खान्छु भनेपनि सरकारले रोकतोक लगाएको छैन । काम सानो ठुलो हुँदैन बस् इमानका साथ गर्यो भोलि अवश्य पनि ठूलो ठाँउमा पुगिन्छ । सानोबाट नगरी सिधैं ठूलो खोज्नेहरु कहिल्यै सफल हुँदैनन् ।
अब पनि सरकारले यसतर्फ ध्यान नदिने भने नेपालको सक्षम जनशक्ति सबै बाहि जान्छन् । मुलुकको विकास कहिल्यै सम्भव हुँदैन् । नेपाली पैसा सबै विदेशिन्छ । काम गर्न जानेलाई रोक लगाउनु हुँदैन् । किन कि उनीहरुले कमाउँछन्, नेपाल पठाउँछन् । आफ्नो भीसाको म्याद सकिएपछि पुनः नेपाल फर्किहाल्छन् । पढ्न भनेर गएकामध्ये पाँच प्रतिशत पनि फर्किँदैनन् । त्यहाँ कमाएको पैसा नेपाल पनि पठाउँदैनन् । यता, खाडी मुलुक तथा मलेसिया जान फ्रि भीसा, फ्रि टिकट भनेपनि साढे तीन देखि चार लाख असुलिरहेका छन् । श्रममन्त्री शेरबहादुर कुँवर म्यापावरको ठगीधन्दामा रमिते बनेर बसेका छन् ।
















प्रतिक्रिया