Logo

अनलाइनपाना खोज

मतदाताले त रोजे, तर गगन बन्लान् त देशको प्रधानमन्त्री ?



प्रतिनिधि सभा २०७९को चुनावी परिणाम आइसकेको छैन । तर, अहिलेसम्मको चुनावी परिणाम हेर्दा मतदाताले युवा उम्मेदवारलाई धेरै विश्वास गरेको देखिन्छ । झापा १ बाट नेपाली काँग्रेसका विश्वप्रकाश शर्मा, काठमाडौँ ४ बाट काँग्रेसका अर्का महामन्त्री गगन थापा र काठमाडौँ ५ बाटै काँग्रेसका प्रदीप पौडेल निर्वाचित भए । उनीहरूको लहर देश भरी नै फैलिएको देखियो । 

काठमाडौँको मात्रै निर्वाचन परिणाम हेर्दा पुराना जलुवा देखाएका नेता छाडेर मतदाताले नयाँ पुस्ता वा नयाँ पार्टी कै उम्मेदवार छाने । काठमाडौँमा चुनावी मैदानमा काँग्रेस, माओवादी केन्द्र सहित गठबन्धनका बहालवाला मन्त्री, पूर्व सभामुख, पूर्व मन्त्री चुनावी मैदानमा थिए । तर, उनीहरू नयाँ पुस्ताका उम्मेदवारसँग फराकिलो मतान्तरले पराजित भए । 

नेपालमा पछिल्लो समय माहौल बनाउन सामाजिक सञ्जाल अझ फेसबुक, वा सडक नै काफी देखियो । यसको पुष्टि पूर्व सञ्चारकर्मी रबी छामिछानेको पार्टी हो । सामाजिक सञ्जालमा पाएको लोकप्रियताकै उपज मान्न सकिन्छ काँग्रेस सभापति शेरबहादुर देउवा विरुद्ध लड्ने सागर ढकालले पाएको मत पनि । गाउँ गाउँमा पुगेको सामाजिक सञ्जालको गुन्जन मतदाताले घण्टी बजाए । पुरानै शैलीमा चलेका दलका प्रतिनिधिहरू असफल भए । नयाँ दल वा नयाँ पार्टीले उनीहरूको होस नै उडायो । 

अलि फरक कथा छ, गगन थापाको । थापा भावी प्रधानमन्त्री भन्ने चुनावी नारा नै बनाएर निर्वाचित भएर आए । उनलाई प्रधानमन्त्री भएको हेर्न इच्छा छ भन्ने विश्वप्रकाश पनि छुटेनन् । विश्वप्रकाशले धेरै ठाउँमा भने पनि, ‘ म आफै गगनलाई प्रधानमन्त्री बनाउन  प्रस्तावक बस्छु ।’ झट्ट सुन्दा निकै मजा आउँछ, तर सम्भावना कति होला त !

फेरी पनि हाम्रो देशमा माहौल बनाउन सडक नै काफी छ । यसलाई अर्को भाषामा भन्दा सामाजिक सञ्जालले बनाएको क्रेज सबैभन्दा बढी बिकेको छ । पछिल्लो समय मानिसको दिमागमा गगन थापा प्रधानमन्त्रीको कुर्सीमा बसेको सिरियल चलिरहेको छ । यसलाई हिट बनाउन सामाजिक सञ्जालले भूमिका खेल्यो । सँगसँगै विश्वप्रकाशले सार्वजनिक रूपमै अबको प्रधानमन्त्री गगन भनेर झकझक्याइरहे । गगन प्रधानमन्त्री नै नभई हिट भए । 

प्रक्रियाका कुरा गर्ने बेला अलि भएको छैन । जनताले चुनेको व्यक्ति सोझै प्रधानमन्त्री हुँदैन । त्यसबिच थुप्रै चरण पार गर्नु पर्ने हुन्छ । सम्भावनै नभएको होइन तर अहिलेलाई जटिल देखिन्छ । 

मुख्य कुरा प्रक्रिया के हो र के होला होइन । प्रमुख कुरा आफू स्वास्थ्य मन्त्री हुँदा पुष्टि गरेका गगनको आँट हो । युवा जोस भन्दा अलि फरक कुरा हो यस पटकको गगनको आँट । गगनले फकाई फकाई भोट हाल्न लगाए र जीते । अब संसदीय दलमा काँग्रेसका अन्य प्रतिस्पर्धीसँग उनको गतिलो टक्कर हुनेछ । यसभन्दा अगाडी यस्तो आँट काँग्रेसमा देखिएको थिएन । एमाले त डरले पनि ओली भावी प्रधानमन्त्री हुन् भन्छन् । एमाले भित्र जसले ओली प्रधानमन्त्री हुन् भनेनन्, उनीहरू कहाँ छन् लेख्नै पर्दैन । 

मर्यादाक्रममा गगनको पालो आएको छैन । भन्नेहरू त भन्छन् पनि, विनोद चौधरी किन प्रधानमन्त्री होइन ? सभापति देउवाले आफू नउठेर आर्जुलाई प्रधानमन्त्री प्रस्ताव गर्न सक्दैनन् ? प्रकाशमान के कमजोर छन् ? वा भन्ने ले त यसो पनि भन्लान्, संस्कार देखाएका विश्व आफैँ चाहिँ किन प्रधानमन्त्री भन्दैनन् ?

यी कुनै पनि प्रश्नको उत्तर छैन । सामाजिक सञ्जालले सृजना गरेको माहौलको उत्तर हुँदैन । न यो वाक्यको नै उत्तर छ, ‘यस पटक गगन प्रधानमन्त्रीका दाबेदार हुन् ।’ तर, गगन आफैले नभनी माहौल सृजना भएको भने होइन । समानान्तर हैसियत भएका विश्वप्रकाशले गगनको रहरमा मलजल गरे । सडक तात्यो । एक प्रकार गगनलाई माहौलले त प्रधानमन्त्री बनाई नै सक्यो पनि । 

भोलि के होला दोस्रो कुरा रह्यो । काँग्रेस भित्र प्रधानमन्त्री रोज्न योग्य कति निस्केला यो पनि दोस्रो पाटो रह्यो । तर, माहौल र आँटमा भने गगन प्रथम भए । गगनको यो आँटको काँग्रेसले सम्मान गर्नु पर्छ । जति मिठो सुनियो भोलि परिस्थिति उस्तै होला नहोला बुझ्न भने पर्खिनुको विकल्प छैन ।

प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार  १२ : २१ बजे