Logo

अनलाइनपाना खोज

‘दश वर्षमा समरलभले गरेको यात्रा इजोरियाले तीन महिनामै पुरा गर्यो’ : सुबिन भट्टराई

इजाेरिया यात्रा



तीन महिना भयो सुविन भट्टराईको इजोरिया पाठकको हातमा आइपुगेको । सेप्टेम्बरमा बजारमा आएको इजोरियाले एक महिनामै माग धान्न सकेन । दोस्रो संस्करण अर्को महिना मै निस्कियो । अहिले पनि सुबिनको किताब बजारमा खुब चलिरहेको छ । उत्तिकै माया पायो इजोरियाले, जति माया समर लभ र सायाले पाएको थियो । सुबिन लेखक हुन्, दङ्ग छन् । 

अहिले सुबिनलाई प्राय काठमाडौँमा भेटिन्न । सधैँ उनको घर कपनमा भेटिने उनी, यति बेला पाठकसँग कहिले पश्चिम, कहिले पूर्व पुग्छन् । फोन गरेपछि हतार–हतार सुनाउँछन्, ‘भाइ आज पनि कार्यक्रममा यता आएँ, केही दिनमा भेटौँ ल !’ इजोरिया मात्र होइन फाइन प्रिन्टबाटै यो वर्ष धेरै किताब निस्किए । तर, इजोरियाले जुन माया पायो, अरूले बिरलै पाए । 

मुस्किलले भेटिएका सुबिनलाई सोधेँ, ‘इजोरियाको यात्रा कस्तो चल्दैछ ?’

‘म खुसी छु, साँच्चै भन्नु पर्दा यस पटक समर लभले मलाई लगाएको ट्याग पनि धेर–थोर हटाउन सकेँ । यस पटक प्रौढ उमेर समूहका वा अघिल्लो समय मलाई पढ्न नरुचाउने पाठकले पनि मलाई माया गरे । मेरो लागि यो धेरै खुसीको कुरा हो । 

अझ समर लभले १० वर्षमा नभेटेको पाठक चार महिनामै इजोरियाले भेट्यो । एउटा लेखकलाई आफ्नो सन्तानले यसरी उचाइ भेट्नु भन्दा ठूलो खुसी के हुन सक्छ र ?’

त्यसो त इजोरिया बजारमा यस्तो समयमा आयो, लेखक वा प्रकाशक पुस्तक नबिकेको शोकमा थिए । चरम निराशाको अवस्थामा इजोरियाको जन्म भयो । एकाएक पुस्तक हिट मात्र भएन, सबैको निरासा हटाइदियो । इजोरियाले पुस्तक पढ्ने माहौलमा पाठकलाई बिस्तारै फर्कायो । आखिरी पाठकले इजोरिया नभेटे पनि कसै न कसैको पुस्तक किनेर पढे । 

सुबिन हुन् नै, पाठकलाई पुस्तकसम्म जोड्न सक्ने लेखक ! 

युवा पुस्तालाई किताबको भोक जगाउने थोरै लेखक मध्येमा सुबिन मुख्य हुन् । उनको समर लभ आए पछि युवाहरूमा अचानक पुस्तक पढ्ने भोक जाग्यो । उनीहरूले समर लभ, साया र मनसुनलाई आफ्नै कथा जसरी माया गरे । धेर–थोर सुबिनको आलोचना गर्नेले पनि मनमनै उनी बिकेको लोभ गरिरहे । 

सोधेँ, ‘दाइ किताब पढाउनलाई के चाहिँदो रहेछ ?’

सुबिनले लामो स्वास फेरे । एक छिन् मौन बसे । बिस्तारै भने, ‘ठ्याक्कै उत्तर गणितको सूत्र जस्तो हुँदैन । तर, म सरल कुरा लेख्छु । स–साना विषय, अनुभूतिको तहमा लेख्ने कोसिस गर्छु । कथामा रस हुन्छ, कथालाई उसकै बनाउने कोसिस गर्छु जसलाई किताबमा उतारेँ । खासमा पाठकको आफ्ना कुरा, उनीहरूकै भाषामा लेख्न सकियो भने ठूल–ठूला कुरा केही नचाहिँदो रहेछ ।’ 

सुविनलाई एउटा पुस्ता वा एक तहका पाठकले सधैँ गाली गरिरहे । उनीहरूको आरोप थियो, ‘सुविनले किताब त बेच्यो तर उचाइ लिन सकेन ।’ यस पटक सुबिनले थोरै भए पनि त्यो समूहका पाठकलाई उत्तर दिए । 

‘कति खुसी हुनुहुन्छ दाइ ?’ मैले सोधेँ । 

‘बेजोड’ सुबिनले छोटो उत्तर दिए ।

यस कारण पनि बेजोड, उनलाई यत्तिको सङ्ख्यामा समर लभ बेच्न झण्डै १० वर्ष लागेको थियो । यस कारण पनि बेजोड, उनलाई लाग्ने गरेको आरोप अलिकति कम भयो । यस कारण पनि बेजोड, प्रकाशकको अनुहारमा फेरी ऊर्जा थप्न सके । यस कारण पनि बेजोड, हराउन लागेका उनी फेरी हिट लेखक भए । 

मैले थपेँ, ‘पाठकलाई केही भन्नु छ ?’

‘मैले इजोरियामा भनेँ, अब बोल्ने पालो तपाईँको’ सुबिनले कूटनैतिक जवाफ दिए । 

हुनैलाई चाहिँ मैले ओझ भएका व्यक्तिहरू धेरै बोलेको सुनेको छैन । उनीहरूको आदत नै थोरै बोल्ने, धेरै सुन्ने वा पढ्ने हो । सुबिन बिस्तारो उनलाई कच्चा वा युवाको मात्र लेखक हो भन्ने आरोपबाट उठ्दै छन् । र, उनी परिपक्व हुने अभ्यासमा छन् । 

इजोरिया यात्रामा सुबिन आफूलाई खरो उतार्दै छन् । फेरी एक पटक बजारमा सुबिन हिट छन् । 

प्रकाशित मिति : १८ मंसिर २०७९, आईतवार १६:३६   :  बजे

531
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।